गुरुयोजना निर्माण गरेर गुरुकुलको विकास गर्नुपर्नेमा जोड – Kanika Khabar
Wednesday, August 12Nepali News Portal

गुरुयोजना निर्माण गरेर गुरुकुलको विकास गर्नुपर्नेमा जोड

    मा प्रकाशित

दाङ, १४ साउन । गुरुयोजना निर्माण गरेर गुरुकुलको विकासमा लाग्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
घोराही उपमहानगरपालिका–७ शुक्रवारमा रहेको माता पवित्रादेवी साङ्वेद विद्यालय (गुरुकुल)ले आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले जति सक्यो चाँडै गुरुयोजना निर्माण गरेर गुरुकुलको बृहत्तर विकासमा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

दक्षिणबाट उत्तरतिर पानी बग्ने बिरलै नदीहरूमध्ये सरयु नदी (बबई) शुक्रवारमा बग्ने भएकाले यो ठाउँ धार्मिक एवम् सांस्कृतिक महत्वका हिसाबले महत्वपूर्ण भएको भन्दै यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर व्यवस्थित रूपमा विकासमा जुट्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका–७ का वडाध्यक्ष खोपीराम चौधरीले उत्तरबाहिनी क्षेत्रको विकासका लागि घोराही उपमहानगरबाट गुरुयोजना निर्माणको प्रक्रिया सुरु गर्ने गरी निर्णय भएको बताए । उत्तरबाहिनी क्षेत्रसँगै घोराही उपमहानगरालिका–१ सिमलतारास्थित श्री सरयु राममन्दिर परिसरको पनि गुरुयोजना निर्माण गर्ने नगर कार्यपालिकाबाट निर्णय भएको बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्वजिल्ला सभापति विरकेशरी गौतमले धार्मिक महत्व बोकेको ठाउँलाई व्यवस्थित रूपमा विकास गर्नुपर्ने र त्यसका लागि आपूmले सक्ने सहयोग गर्न तयार रहेको बताएका थिए । गुरुकुललाई व्यवस्थित गर्दै उत्तरबाहिनी क्षेत्रलाई पितृको श्राद्ध गर्ने ठाउँसँगै नयाँ पुस्ताको घुमफिर गर्ने आकर्षक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य किरणकिशोर घिमिरेले उत्तरबाहिनी क्षेत्रको विकासका सबै क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले व्यक्तिगत रूपमा मन्दिरको छाना फेर्नका लागि लाग्ने सहयोगसँगै बुबाआमाको सम्झनामा गुरुकुलमा ५१ हजार रुपैयाँको अक्षयकोष राख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

छलफलमा सहभागीले गुरुकुललाई व्यवस्थित रूपमा विकास गर्दै विद्यार्थीको आकर्षण बढाउन दिगो आर्थिक स्रोतको व्यवस्था गर्नुपर्ने, भौतिक संरचना निर्माण, गुणस्तरीय शिक्षासँगै धार्मिक एवम् सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सकिने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका नेता भुपबहादुर डाँगी, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्त, भानु प्रतिष्ठान लुम्बिनी प्रदेशका संयोजक बमबहादुर डिसी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीलगायतले सुझाव सहितको मन्तव्य व्यक्त गरेका थिए ।

गुरुकुलको बारेमा व्यवस्थापन समितिका सदस्य सुन्दर गौतमले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण गुरुकुलका व्यवस्थापक प्रकाश भट्टराईले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्