बालुवाटारमा शीर्ष नेताबिच छलफल : मन्त्री फेर्दै ओली, कोको छन् टार्गेटमा ? – Kanika Khabar
Thursday, June 25Nepali News Portal

बालुवाटारमा शीर्ष नेताबिच छलफल : मन्त्री फेर्दै ओली, कोको छन् टार्गेटमा ?

    मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेरको तयारी गरेको चर्चाका बीच बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सरकारको कार्यक्षमता कमजोर भइरहेको भन्ने जनगुनासोका बीच केही कार्यसम्पादन कमजोर भएका र विवादमा परेका मन्त्रीहरू पदमुक्त हुनेछन्।

सरकारको एक वर्ष पुरा भएलगत्तै मन्त्री हेरफैर गर्न चाहेका ओली कांग्रेस सभापति शेबहादुर देउवाको रेड सिग्नलपछि ब्याक भएका थिए। अहिले भने देउवा पनि मन्त्री हेरफेरका लागि सकारात्मक रहेको बुझिएको छ।

‌ओलीले एमालेमा विद्या भण्डारीको पक्षमा देखिएका मन्त्रीहरूलाई टार्गेटमा राखेका बुझिएको छ। यद्यपि विद्याको पक्षमा खुलेका मन्त्रीहरू को-को हुन् खुलेको छैन। त्यस्तै कांग्रेसमा केही मन्त्री यथावत रहनेछन् भने केही मात्र फेरिनेछन्। यता लोसपाले पनि मन्त्री हेरफेरमा सहमति जनाइसकेको बालुवाटार स्रोतको दाबी छ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार एमालेबाट मन्त्री बनेका अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा कांग्रेसका गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वास्थ्यमन्त्री प्रदीप पौडेल दोहोरिने निश्चित झैं छ।

त्यस्तै घुसकाण्डमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ठाउँमा एमालेकै भगवती न्यौपाने मन्त्री बनेकी छन्। उनीसँगै विद्या भट्टराईलाई राजीनामा गराएर शिक्षामन्त्री बनाइएका रघुजी पन्त सुरक्षित छन्।

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह भने ‘एल्लो जोन’मा परेका छन्। उनको टुंगो लागिसकेको छैन। कार्यसम्पादन कमजोर भएका सिंहलाई नदोहोर्याउने मुडमा ओली देखिन्छन्। देउवा भने आन्तरिक गुट व्यवस्थापनमा पर्न सक्ने असर हेरिरहेका छन्।

स्रोतका अनुसार एमालेबाट रक्षामन्त्री मानवीर राई र उद्योगमन्त्री दामोदर भण्डारी ‘रेड जोन’मा छन्।

यता घुस प्रकरणमा मुछिएका सहकारीमन्त्री बलराम अधिकारी पनि फिर्ता बोलाइन सक्छन्। उनको राजीनामाको दवाब बढिरहेका बेला ओलीले मन्त्री हेरेफेरकै क्रममा हेरौंला भन्दै पन्छाएको स्रोत बताउँछ।

कांग्रेसबाट उर्जामन्त्री दीपक खड्का ओलीको टार्गेटमा छन्। अन्य मन्त्रीहरूको जिम्मेवारी हेरफेर हुने सम्भावना रहेको बालुवाटार स्रोतले बतायो।

लोसपा अध्यक्ष महन्थ ठाकुरले श्रममन्त्री शरतसिंह भण्डारीको ठाउँमा सर्वेन्द्रनाथ शुक्लालाई पठाउने लगभग फाइनल भइसकेको बुझिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्