एमाले लुम्बिनी प्रदेश कमिटीको बैठक, सामाजिक अराजकताबिरुद्ध दृढता पूर्वक उभिन आह्वान – Kanika Khabar
Sunday, March 15Nepali News Portal

एमाले लुम्बिनी प्रदेश कमिटीको बैठक, सामाजिक अराजकताबिरुद्ध दृढता पूर्वक उभिन आह्वान

    मा प्रकाशित

दाङ,२८ साउन ।

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पू्ण बैठक बुधबार दाङको लमहीमा सम्पन्न भएको छ । बैठकले केन्द्रीय कमिटीको नवौं बैठकबाट पारित प्रस्तावलाई आत्मसात गर्दै थप प्रस्तावहरू पारित गरेको छ ।

बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले एक वर्षमा उल्लेखनीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ । पार्टीका अनुसार सरकारले राजनीतिक स्थायित्व कायम गर्दै राजतन्त्रको पुनस्र्थापनाको प्रयासलाई विफल बनाएको, अघिल्ला कार्यकालका उच्च प्राथमिकताका आयोजनाको निरन्तरता दिएको, सहकारी क्षेत्रका बेथितिलाई सम्बोधन गरेको, श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको, शिक्षा र भूमिसम्बन्धी विधेयकलाई निष्कर्षमा पु¥याउने प्रयास गरेको र भ्रष्टाचारविरुद्ध दृढ अडान लिएको छ ।

बैठकमा लुम्बिनी प्रदेश सरकारले सुरु गरेका राजधानीका लागि प्रशासकीय भवन, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर–कपुरकोट पहाडी लोकमार्ग र लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई पूर्णता दिनेगरी काम अघि बढाएको उल्लेख गरिएको छ । साथै रुपन्देही–बुटवल क्षेत्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न योजनाबद्ध कार्यक्रम बनाउन जोड दिएको छ ।बैठकले लुम्बिनीलाई अर्गानिक प्रदेशको रूपमा रूपान्तरण गर्ने, कृषि, उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य पूर्वाधार विस्तार गर्ने, औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकास गर्ने, मोतिपुर, नौवस्ता र नेपालगञ्जका औद्योगिक क्षेत्र निर्माण गर्ने तथा साना र घरेलु उद्योग प्रवद्र्धन गर्ने आवश्यकता औंल्याएको छ ।

बैठकले किसानका लागि समयमै मल, बिउ र आधुनिक उपकरण आपूर्ति सुनिश्चित गर्न, दुग्ध तथा उखु किसानका बक्यौता भुक्तानी गर्न र खाद्य सुरक्षा प्रत्याभूत गर्न सबै तहका सरकारलाई आह्वान गरेको छ । अविरल वर्षाबाट भएको जनधन र भौतिक पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले पीडितलाई राहत, भत्केका संरचना पुनर्निर्माण, बाढी–पहिरोबाट सुरक्षित बसोबास र अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ । बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा यातायात सहज बनाउन पनि आग्रह गरिएको छ ।

बैठकले बाँझो जमिनलाई उत्पादनमा ल्याउने कार्यक्रम बनाउन, बन्यजन्तुबाट हुने कृषी क्षति रोकथाम गर्न र बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जनावरको आक्रमणबाट हुने धनजनको क्षतिपूर्ति दिलाउन माग गरेको छ । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायत विश्वव्यापी द्वन्द्वले निम्त्याएको असरबारे चिन्ता व्यक्त गर्दै बैठकले शान्ति र न्यायका लागि पहल गर्न तथा भाद्रमा हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको सार्वभौमिकता, अखण्डता र आर्थिक विकासमा सकारात्मक योगदान पु¥याउने अपेक्षा व्यक्त गरेको छ । पार्टी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता तथा केन्द्रिय सदस्य तथा लुम्बिनी ईञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

उपनिर्वाचन हार्ने छुट छैनः अर्याल

बैठकलाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले रुपन्देही–३ को उपनिर्वाचनको नतिजाले ०८४ सालको निर्वाचनको सन्देश दिने भएकाले कार्यकर्तालाई जितका लागि दृढतापूर्वक लाग्न निर्देशन दिएकी छिन ।

उनले आक्रामक रूपमा काम गर्न र सामाजिक अराजकताविरुद्ध डटेर उभिन आह्वान गरेकी छिन । ‘मेहनतपूर्वक लागेर जसरी पनि नेकपा एमालेलाई जिताउनु पर्छ । हार्ने छुट छैन । सकारात्मक सन्देश प्रवाहका लागि यो चुनाव जित्नै पर्छ’,अर्यालले भनिन । उनले बैठकलाई सम्बोधन गर्दै रक्षात्मक नभई आक्रामक रूपमा जुट्न तथा सामाजिक अराजकता विरुद्ध डटेर सामना गर्न आह्वान गरेकी थिइन । ‘सामाजिक सञ्जालका टिकाटिप्पणीले एमाले हल्लिँदैन । यसबाट पार्टी अझ सुदृढ हुन्छ’,उनको भनाइ थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्