प्रधानमन्त्री मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

प्रधानमन्त्री मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा

    मा प्रकाशित

काठमाडौँ, २९ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलबाट सरकारमा सहभागी भएका मन्त्री परिवर्तन गर्ने तयारीमा जुटेका छन्। सरकार गठन भएको एक वर्ष पुगेको आधार बनाउँदै प्रधानमन्त्री ओलीले मन्त्री फेरबदल गर्न थालेका हुन् ।

सरकारमा प्रतिनिधित्व गरेका मन्त्री परिवर्तनका लागि सत्ता साझेदार नेपाली काङ्ग्रेसलाई समेत प्रधानमन्त्री ओलीले अनुरोध गरेका थिए । तर, नेपाली काङ्ग्रेस मन्त्री परिवर्तन गर्ने ‘मुड’ मा नभएपछि प्रधानमन्त्री ओलीले नेकपा एमालेबाट सरकारमा सहभागी भएका केही मन्त्री परिवर्तन गर्न थालेको स्रोतले जनाएको छ ।
‘सरकार गठन भएको एक वर्षपछि मन्त्री फेर्ने बताउँदै आएका प्रधानमन्त्री ओलीले सकेसम्म काङ्ग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरु पनि एकै पटक परिवर्तन गर्दै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका थिए। उस विषयमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरे पनि देउाले आफूले मन्त्री नबदल्ने बताएका थिए । काङ्ग्रेसले मन्त्री परिवर्तन नगर्ने भएपछि प्रधानमन्त्रीले मन्त्री परिवर्तनको तयारी गर्नुभएको हो ।’ स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण अगाडि नै मन्त्री परिवर्तन गर्ने गरी तयारी थालेको स्रोतले बताएको छ । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार एमालेबाट मन्त्री बनेकामध्ये अर्थमन्त्री विष्णु पौडेल, सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ, सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र शिक्षा मन्त्री रघुजी पन्तबाहेक अन्य मन्त्री परिवर्तन गर्ने तयारी गरेका छन्।

पौडेल र गुरुङले आफूलाई साथ दिएको र न्यौपाने र पन्त भर्खर मन्त्री बनेका कारण उनीहरुलाई निरन्तरता दिने पक्षमा ओली छन्। त्यस बाहेक उद्योगमन्त्री दामोदर भण्डारी, रक्षामन्त्री मानवीर राई, सहकारी मन्त्री बलराम अधिकारी ओलीले परिवर्तन गर्ने मन्त्रीको सूचीमा छन्।

यसैगरी लोसपाबाट श्रम मन्त्री बनेका शरदसिंह भण्डारीलाई परिवर्तन गरी उनको ठाउँमा लोसपाकै सवेन्द्रनाथ शुक्लालाई मन्त्री बनाउने तयारी छ।
यसैगरी अशोक राई नेतृत्वको जसपाबाट मन्त्री बनेका प्रदीप यादव र महिला मन्त्री नवलकिशोर साह सुडीलाई परिवर्तन गरी उनीहरुको ठाउँमा डा. वीरेन्द्र महतो र मञ्जु झालाई मन्त्री बनाउने तयारी रहेको स्रोतले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्