
वीरेन्द्र रावल
रामायणमा उल्लेख भए अनुसार मिथिलाका राजा जनककी छोरी सीताको बिहे अयोध्याका राजा दशरथका छोरा श्रीरामसँग भएको थियो । धनुषवाण जसले उचाल्न सक्छ उसैसँग छोरी सीताको बिहे गरिदिने भन्ने जनकको आह्वानमा उक्त धनुषवाणालाई रामले मात्र उचाल्न सकेको किम्बदन्ती रहेको छ । त्यसपछि मात्र राजा जनकले छोरी सीतालाई रामका अन्माई दिएको भनाई छ ।
यतिबेला अयोध्या भौगोलिक र प्रशासनिक रुपले भारतमा पर्दछ । जनकको भूमि मिथिला क्षेत्र धनुषा जिल्लामा अवस्थित छ । नेपाली धर्म, संस्कृति अनुसार पनि हरेक वर्ष अयोध्याबाट विवाहको जन्ती ल्याउने र जनकपुरस्थित रामजानकी मन्दिर परिसरमा रहेको विवाह मण्डपमा विवाह गर्ने परम्परा रहेको छ ।
कुनै पनि देशको आफ्नै सम्प्रभुता हुन्छ । धर्म अनि संस्कृति पनि हुने गर्दछ । त्यस्तै भारत र नेपालको पनि आआफ्नै धर्म संस्कृति रहेको छ । कतिपय धर्म संस्कृतिभित्र रहेका परम्परागत तर अव्यवहारिक रुपमा प्रयोग भइहेका हस्तक्षेपकारी परम्पराका कारण पनि यसले मानिसका दैनिक जीवन यापनमा समेत ठुलो असर प¥याएको हुन्छ ।
भारत र नेपाल आआफ्नै धर्म, संस्कृति भएका देश हुन् । कतिपय कुराहरु धर्मिक र सांस्कृतिक रुपले एक अर्कामा मिल्न जाने पनि हुन सक्छन् । निश्चित भुगोल, क्षेत्र र समुदायमा कतिपय धार्मिक एवम् सांस्कृतिक सम्बन्धहरु मिल्ने भएकाले पनि त्यहाँको समाज अन्तरदेशीय होस् या दुई देशीय नै किन नहोस् आपसी सद्भाव पनि कायम भएको देख्न सकिन्छ ।
यसैक्रममा नेपालको दुई नम्बर प्रदेशका कतिपय जिल्लाहरु भरतीय सीमानासँग जोडिएका छन् । सीमाना जोडिएका क्षेत्रका जनताहरुको धार्मिक एवम् सांस्कृतिक रुपमा भए पनि केही हदसम्म आपसी समन्वय र सम्पर्क भने अवश्य पनि रहेको छ ।
दुई नम्बर प्रदेशका दक्षिवर्ती भारतीय सीमानासँग सीमा जोडिएका कतिपय जिल्लाहरुका मानिसहरुको पारिवारिक सम्बन्ध बिहोर र उत्तरप्रदेशका बासिन्दासँग रहँदै आएको छ ।
मिथिलाका राजा जनक र अयोध्याका राजा दशरथबाट सुरू भएको नेपाली चेलीहरुलाई भारतसँग सीमाना जोडिएका दुई नम्बर प्रदेशका जनताको बसिसकेको देखिन्छ । परम्परादखि नै छोरी भारतीयलाई दिने परम्परा अहिलेसम्म जारी नै रहेको छ ।
एक हातले नेपाली चेलीलाई कन्यादान गरिदिनुपर्ने अवस्था आएको छ भने अर्कोतिर अर्को हातमा मनग्य दाइजो पनि दिएर चेलीलाई भारतमा पठाउनुपर्ने बाध्यता रहेको छ ।
दुई नम्बर प्रदेशका खासगरी धनुषा, मोहत्तरी, सर्लाही,सिराहा, बारा,पर्सा, रौतहट लगायतका जिल्लाका भारतसँग सीमाना जोडिएका क्षेत्रका नेपालीहरुले चेलीलाई भारतमा विवाह गरिदिने र भारतबाट पनि कतिपयले भारतीय महिलासँग विवाह गरेर ल्याउने परम्परा कायमै रहेको देखिन्छ ।
खासगरी भारतीय क्षेत्रसँग सीमाना जोडिएका दुई नम्बरमा चल्दै आएको रोटी बेटीको सम्बन्धलाई भारतीय उच्च नेताहरुले सारा नेपाल र नेपालीलाई सम्बोधन गर्ने बेलामा भारत र नेपालको सम्बन्ध रोटी बेटीको हो भनेर उद्धघोष गर्ने गरेको पाईन्छ । यति सम्मकी भारतीय सरकार प्रमुखले समेत यस्ता शब्दहरु प्रयोग गर्ने गरेको पाइन्छ ।
यसबाट के बुझिन्छ भने भारतले नेपालसँग रोटी बेटीको सम्बन्ध छ भन्ने अनि व्यवहारमा राजनीतिक, आर्थिक र सांस्कृतिक रुपले समेत हस्तक्षेप गर्दै नेपालाई विस्तारबादका बाणहरु प्रहार गर्दै गर्ने परम्परा वर्षौंदेखि नेपाल र नेपालीले भोग्दै आएका पनि छन् ।
भारतसँग नेपालका सीमाना जोडिएका तराईका जिल्लामा छोरी दिने सामथ्र्य सामान्य नेपालीले गर्न सक्ने अवस्था नै देखिदैन । सामान्य मानिसहरुले भन्दा पनि प्रायजसो मध्ययम वर्गीय मानिसहरुले छोरीलाई भारतीय नागरिकसँग बिहे गरिदिने चलन रहेको छ भने भारतबाट नेपालमा बिहेगरेर आउने भारतीय महिलाको आमा बाबुले समेत प्रशस्त मात्रामा दाइजो दिएर छोरी नेपाल पठाउने गरेको पाइन्छ ।
यही परम्पराले गर्दा दुई नम्बर प्रदेशका भारतीय सीमानासँग जोडिएका नेपालीहरुमा दाइजो प्रथाले झनै बिकराल रुप लिंदै जान थालेको पाईन्छ । स्वदेशभित्रै पनि कसैले बिहे गर्न खोज्यो भने दुलाहा पक्षले बेहुली पक्षसँग दाइजोको मोलमोलाइ गर्ने गर्दछन् । सबै क्षेत्रमा दाइजो प्रथा लागु नभए पनि दुई नम्बर प्रदेशका भारतसँग सीमाना जोडिएका अधिकांश जिल्लाहरुमा दाइजोको मोलमोलाइ हुने गर्दछ । दुलाहा पक्षले मागेको सम्पति दुलही पक्षले दिन सक्ने भनेपछि मात्र विवाहको तिथि मिति तय हुने परम्परा रहेबमोजिम विवाह हुने गर्दछ ।
कथंकदाचित् माइती पक्षले बाचा गरे बमोजिम धनमाल वा अन्य सरसमानहरु दिन नसकेको खण्डमा त्यसको प्रत्यक्ष सिकार दुलही हुने गरेको सयौं उदाहरणहरु भेटिन्छन् । कैयौं निर्दोष महिलाले शारीरिक यातना त कतिपयले ज्यान समेत गुमाउनु परिरहेको छ । त्यसैका कारण तराईमा हत्या र आत्महत्याका घटनाहरु एकपछि अर्को गरी सिर्जना हुँदै जान थालेका छन् ।
कतिपय महिलाले सासू ससुराको त कतै पतिको यातनाको सिकार बन्नु परिरहेको छ । तराईका जिल्लाभित्र बिहे गर्ने नेपाली चेलीहरुका घटनाहरु एक पछि अर्कोगरी बाहिर आउने गरेको भए तापनि भारतीय क्षेत्रमा बिहे गर्न बाध्य नेपाली चेलीहरुको भौतिक र शारीरिक लगाएर, शारीरिक यातना दिएर हत्या गरिने गरेका छन् ।
यीं यावत् समस्याहरुको एक मात्र जड दाइजो प्रथा हो भन्नेमा कसैको पनि दुई मत नहोला । सामाजमा बढ्दै गइरहेको सामाजिक एवम् सांस्कृतिक विकृतिको रुपमा रहेको दाइजो प्रथाको जरैबाट उखेल्ने कार्यमा नेपाल सरकारले ठोस कार्यक्रम विस्तार गर्न नसकेका कारण पनि तराईमा दाइजोले बिकराल रुप लिंदै जान थालेको छ । दाइजो नल्याँदा मृत्युको सजाय भोग्नुपर्ने निर्दोष चेलीहरुले सदियौंदेखि व्यहोर्दै आउनु परिरहेको दाइजो प्रथाको अन्त्यका लागि नेपाल सरकारले तीं जिल्लारहरुमा व्यापक रुपले जनचेतनाका कार्यक्रमहरु विस्तार गर्न ढिला गर्नु हुँदैन ।
दाइजो प्रथाको अन्त्यका लागि तराईमा सर्वप्रथम बाल विवाह र दाइजो प्रथालाई पूर्ण रुपले निस्तेज गर्नुपर्ने देखिन्छ । दाइजो प्रथाको अन्त्यका लागि अग्रसर रहने दुलाहा र दुलही पक्षलाई सरकारले पुरस्कार र सान्त्वना दिने कार्यलाई अगाडि बढाउनु पर्ने देखिन्छ भने दाइजो र बाल विवाहलाई कानुनी रुपले अपराधको रुपमा घोषणा गरेर मात्र नभएर त्यसको पूर्ण कार्यान्वयनका लागि सरकारले विशेष अनुगमनका कार्यहरुलाई तीब्रता दिनुपर्ने देखिन्छ । तराईका जिल्लाहरुबाट निर्वाचित प्रतिनिधिसभा, राष्टियसभा, सरकारमा सहभागी मन्त्री, स्थानीय निकायका जनप्रतिनिधिहरुलाई समेत विशेष निर्देशन दिएर उनीहरुबाटै दाइजो र बाल विवाहको प्रथाको अन्त्यका लागि सामूहिक अभियानलाई निरन्तरता दिने कार्यलाई सरकारले सूची बनाएर लागु गर्ने दिशामा पहल गर्न जरुरी देखिन्छ । अनि मात्रै तराईका जिल्लामा वषौंदेखि विद्यमान दाइजो प्रथाबाट उत्पन्न सामाजिक अपराधको अन्त्य गर्न सम्भव रहन्छ ।


