रोटीबेटी प्रथाको सिकार बन्दै मधेशी महिला – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

रोटीबेटी प्रथाको सिकार बन्दै मधेशी महिला

    मा प्रकाशित


वीरेन्द्र रावल
रामायणमा उल्लेख भए अनुसार मिथिलाका राजा जनककी छोरी सीताको बिहे अयोध्याका राजा दशरथका छोरा श्रीरामसँग भएको थियो । धनुषवाण जसले उचाल्न सक्छ उसैसँग छोरी सीताको बिहे गरिदिने भन्ने जनकको आह्वानमा उक्त धनुषवाणालाई रामले मात्र उचाल्न सकेको किम्बदन्ती रहेको छ । त्यसपछि मात्र राजा जनकले छोरी सीतालाई रामका अन्माई दिएको भनाई छ ।

यतिबेला अयोध्या भौगोलिक र प्रशासनिक रुपले भारतमा पर्दछ । जनकको भूमि मिथिला क्षेत्र धनुषा जिल्लामा अवस्थित छ । नेपाली धर्म, संस्कृति अनुसार पनि हरेक वर्ष अयोध्याबाट विवाहको जन्ती ल्याउने र जनकपुरस्थित रामजानकी मन्दिर परिसरमा रहेको विवाह मण्डपमा विवाह गर्ने परम्परा रहेको छ ।

कुनै पनि देशको आफ्नै सम्प्रभुता हुन्छ । धर्म अनि संस्कृति पनि हुने गर्दछ । त्यस्तै भारत र नेपालको पनि आआफ्नै धर्म संस्कृति रहेको छ । कतिपय धर्म संस्कृतिभित्र रहेका परम्परागत तर अव्यवहारिक रुपमा प्रयोग भइहेका हस्तक्षेपकारी परम्पराका कारण पनि यसले मानिसका दैनिक जीवन यापनमा समेत ठुलो असर प¥याएको हुन्छ ।

भारत र नेपाल आआफ्नै धर्म, संस्कृति भएका देश हुन् । कतिपय कुराहरु धर्मिक र सांस्कृतिक रुपले एक अर्कामा मिल्न जाने पनि हुन सक्छन् । निश्चित भुगोल, क्षेत्र र समुदायमा कतिपय धार्मिक एवम् सांस्कृतिक सम्बन्धहरु मिल्ने भएकाले पनि त्यहाँको समाज अन्तरदेशीय होस् या दुई देशीय नै किन नहोस् आपसी सद्भाव पनि कायम भएको देख्न सकिन्छ ।
यसैक्रममा नेपालको दुई नम्बर प्रदेशका कतिपय जिल्लाहरु भरतीय सीमानासँग जोडिएका छन् । सीमाना जोडिएका क्षेत्रका जनताहरुको धार्मिक एवम् सांस्कृतिक रुपमा भए पनि केही हदसम्म आपसी समन्वय र सम्पर्क भने अवश्य पनि रहेको छ ।

दुई नम्बर प्रदेशका दक्षिवर्ती भारतीय सीमानासँग सीमा जोडिएका कतिपय जिल्लाहरुका मानिसहरुको पारिवारिक सम्बन्ध बिहोर र उत्तरप्रदेशका बासिन्दासँग रहँदै आएको छ ।

मिथिलाका राजा जनक र अयोध्याका राजा दशरथबाट सुरू भएको नेपाली चेलीहरुलाई भारतसँग सीमाना जोडिएका दुई नम्बर प्रदेशका जनताको बसिसकेको देखिन्छ । परम्परादखि नै छोरी भारतीयलाई दिने परम्परा अहिलेसम्म जारी नै रहेको छ ।

एक हातले नेपाली चेलीलाई कन्यादान गरिदिनुपर्ने अवस्था आएको छ भने अर्कोतिर अर्को हातमा मनग्य दाइजो पनि दिएर चेलीलाई भारतमा पठाउनुपर्ने बाध्यता रहेको छ ।
दुई नम्बर प्रदेशका खासगरी धनुषा, मोहत्तरी, सर्लाही,सिराहा, बारा,पर्सा, रौतहट लगायतका जिल्लाका भारतसँग सीमाना जोडिएका क्षेत्रका नेपालीहरुले चेलीलाई भारतमा विवाह गरिदिने र भारतबाट पनि कतिपयले भारतीय महिलासँग विवाह गरेर ल्याउने परम्परा कायमै रहेको देखिन्छ ।

खासगरी भारतीय क्षेत्रसँग सीमाना जोडिएका दुई नम्बरमा चल्दै आएको रोटी बेटीको सम्बन्धलाई भारतीय उच्च नेताहरुले सारा नेपाल र नेपालीलाई सम्बोधन गर्ने बेलामा भारत र नेपालको सम्बन्ध रोटी बेटीको हो भनेर उद्धघोष गर्ने गरेको पाईन्छ । यति सम्मकी भारतीय सरकार प्रमुखले समेत यस्ता शब्दहरु प्रयोग गर्ने गरेको पाइन्छ ।
यसबाट के बुझिन्छ भने भारतले नेपालसँग रोटी बेटीको सम्बन्ध छ भन्ने अनि व्यवहारमा राजनीतिक, आर्थिक र सांस्कृतिक रुपले समेत हस्तक्षेप गर्दै नेपालाई विस्तारबादका बाणहरु प्रहार गर्दै गर्ने परम्परा वर्षौंदेखि नेपाल र नेपालीले भोग्दै आएका पनि छन् ।

भारतसँग नेपालका सीमाना जोडिएका तराईका जिल्लामा छोरी दिने सामथ्र्य सामान्य नेपालीले गर्न सक्ने अवस्था नै देखिदैन । सामान्य मानिसहरुले भन्दा पनि प्रायजसो मध्ययम वर्गीय मानिसहरुले छोरीलाई भारतीय नागरिकसँग बिहे गरिदिने चलन रहेको छ भने भारतबाट नेपालमा बिहेगरेर आउने भारतीय महिलाको आमा बाबुले समेत प्रशस्त मात्रामा दाइजो दिएर छोरी नेपाल पठाउने गरेको पाइन्छ ।

यही परम्पराले गर्दा दुई नम्बर प्रदेशका भारतीय सीमानासँग जोडिएका नेपालीहरुमा दाइजो प्रथाले झनै बिकराल रुप लिंदै जान थालेको पाईन्छ । स्वदेशभित्रै पनि कसैले बिहे गर्न खोज्यो भने दुलाहा पक्षले बेहुली पक्षसँग दाइजोको मोलमोलाइ गर्ने गर्दछन् । सबै क्षेत्रमा दाइजो प्रथा लागु नभए पनि दुई नम्बर प्रदेशका भारतसँग सीमाना जोडिएका अधिकांश जिल्लाहरुमा दाइजोको मोलमोलाइ हुने गर्दछ । दुलाहा पक्षले मागेको सम्पति दुलही पक्षले दिन सक्ने भनेपछि मात्र विवाहको तिथि मिति तय हुने परम्परा रहेबमोजिम विवाह हुने गर्दछ ।

कथंकदाचित् माइती पक्षले बाचा गरे बमोजिम धनमाल वा अन्य सरसमानहरु दिन नसकेको खण्डमा त्यसको प्रत्यक्ष सिकार दुलही हुने गरेको सयौं उदाहरणहरु भेटिन्छन् । कैयौं निर्दोष महिलाले शारीरिक यातना त कतिपयले ज्यान समेत गुमाउनु परिरहेको छ । त्यसैका कारण तराईमा हत्या र आत्महत्याका घटनाहरु एकपछि अर्को गरी सिर्जना हुँदै जान थालेका छन् ।

कतिपय महिलाले सासू ससुराको त कतै पतिको यातनाको सिकार बन्नु परिरहेको छ । तराईका जिल्लाभित्र बिहे गर्ने नेपाली चेलीहरुका घटनाहरु एक पछि अर्कोगरी बाहिर आउने गरेको भए तापनि भारतीय क्षेत्रमा बिहे गर्न बाध्य नेपाली चेलीहरुको भौतिक र शारीरिक लगाएर, शारीरिक यातना दिएर हत्या गरिने गरेका छन् ।
यीं यावत् समस्याहरुको एक मात्र जड दाइजो प्रथा हो भन्नेमा कसैको पनि दुई मत नहोला । सामाजमा बढ्दै गइरहेको सामाजिक एवम् सांस्कृतिक विकृतिको रुपमा रहेको दाइजो प्रथाको जरैबाट उखेल्ने कार्यमा नेपाल सरकारले ठोस कार्यक्रम विस्तार गर्न नसकेका कारण पनि तराईमा दाइजोले बिकराल रुप लिंदै जान थालेको छ । दाइजो नल्याँदा मृत्युको सजाय भोग्नुपर्ने निर्दोष चेलीहरुले सदियौंदेखि व्यहोर्दै आउनु परिरहेको दाइजो प्रथाको अन्त्यका लागि नेपाल सरकारले तीं जिल्लारहरुमा व्यापक रुपले जनचेतनाका कार्यक्रमहरु विस्तार गर्न ढिला गर्नु हुँदैन ।

दाइजो प्रथाको अन्त्यका लागि तराईमा सर्वप्रथम बाल विवाह र दाइजो प्रथालाई पूर्ण रुपले निस्तेज गर्नुपर्ने देखिन्छ । दाइजो प्रथाको अन्त्यका लागि अग्रसर रहने दुलाहा र दुलही पक्षलाई सरकारले पुरस्कार र सान्त्वना दिने कार्यलाई अगाडि बढाउनु पर्ने देखिन्छ भने दाइजो र बाल विवाहलाई कानुनी रुपले अपराधको रुपमा घोषणा गरेर मात्र नभएर त्यसको पूर्ण कार्यान्वयनका लागि सरकारले विशेष अनुगमनका कार्यहरुलाई तीब्रता दिनुपर्ने देखिन्छ । तराईका जिल्लाहरुबाट निर्वाचित प्रतिनिधिसभा, राष्टियसभा, सरकारमा सहभागी मन्त्री, स्थानीय निकायका जनप्रतिनिधिहरुलाई समेत विशेष निर्देशन दिएर उनीहरुबाटै दाइजो र बाल विवाहको प्रथाको अन्त्यका लागि सामूहिक अभियानलाई निरन्तरता दिने कार्यलाई सरकारले सूची बनाएर लागु गर्ने दिशामा पहल गर्न जरुरी देखिन्छ । अनि मात्रै तराईका जिल्लामा वषौंदेखि विद्यमान दाइजो प्रथाबाट उत्पन्न सामाजिक अपराधको अन्त्य गर्न सम्भव रहन्छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्