
वीरेन्द्र बहादुर रावल
आज संसारका कतिपय देशहरु आर्थिक,सामाजिक, राजनीतिक रुपले धेरै अगाडि बढिरहेका छन् । नेपाली समाजले परिकल्पना नगरेकै विकासको चरमचुलीमा तीं देशहरुले विकासलाई पुगाई सकेका छन् ।
महिलाहरुको हकमा त उनीहरुले आर्थिक,सामाजिक र राजनीतिक अधिकारलाई व्यवहारिक बनाई सकेका छन् । महिलाहरु आत्मनिर्भर भएर समाज विकासको बाटोमा पुरुष सरह अगाडि बढिरहेका पनि छन् । तर त्यसको तुलनामा भने नेपाली महिलाले अझै पनि अन्धविश्वास र कुरीतिको सिकार बन्नु परिरहेको छ ।
नेपाली समाज जातीय विभेद र छुवाछुत जस्ता कुरीतिको सिकार बनिरहेको छ । कुरीति भित्रको पनि एक जटिल समस्या छाउपडी प्रथा( रजश्वला) छाउपडी जस्तो कुप्रथाका कारण नेपालका सुदूर र मध्यपश्चिमका कैयौं महिलाहरुले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् ।
आजको विज्ञान र प्रविधिको युगमा आएर पनि सुदूर र मध्यपश्चिमका कतिपय जिल्लाहरुमा छाउपडी जस्तो कुप्रथाका कारण चेलीहरुले नारकीय जीवन बिताउनु परिरहेको छ ।
रजस्वला भएका बेलामा छाउपडी ( पर सर्ने ) घरमा बस्न हुन्न । कथंकदाचित घरमा प्रवेश गरिहालेको खण्डमा देउता रिसाउँछन् । परिवारमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण महिलाहरुकोे ज्यान जोखिममा हुँदाहुँदै बाध्य भएर घरदेखि टाढा बनाइएका जोखिमयुक्त छाउपडी गोठमा बस्नु पर्ने बाध्यता कुप्रथाले सिर्जना गरेको छ ।
छाउपडी जस्तो अन्ध विश्वास र कुप्रथाका कारण पछिल्लो तथ्याङ्क अनुसार सन २०१० मा ११ वर्षिया, सन २०१६ दुईजना युवतीको अकालमै ज्यान जान पुगेको छ । सन २०१७ मा १४ वर्षिया लालसरा बिक,सन २०१७ मै तुलशी साही ,सन २०१८ मा ९ र १२ वर्षिया दुईजना,सन २०१९ मा पार्वती बोगटी ,सन २०२३ मा १५ वर्षिया अनिता चन्दले अकालमै ज्यान गुमाउनु परेको थियो भने बिस. २०८१ माघ १० गते कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको वडानम्बर ७ कुईने गाउँस्थित ४५ वर्षिया सरस्वती बिटालुलाई छाउ गोठमा सुतिरहेको अवस्थामा बाघले आक्रमण गर्यो । आक्रमणबाट उनी घाइते भइन् । छाउपडी जस्तो कुप्रथाको सिकार हुनु परेको थियो । यसैबिच फेरि अछाममा बिहीबार मात्रै कहाली लाग्दो घटनाको पुनरावृति हुन पुगेको छ ।
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडानम्बर ८ सेलगाउँ स्थित बिहीबार राती एक बालिका र एक महिलाको अकालमै ज्यान जान पुगेको छ भने एक जना महिला घाइते भएकी छिन् ।
महिनाबारी भएकी आमा ३६ वर्षिया रत्ना भण्डारी र छिमेकी ३५ वर्षिया निम खनालसँगै घरभन्दा अलि पर त्रिपालमुनि सुतिरहेको अवस्थामा घरमा पहिरो खस्दा ७ वर्षिया बालिका कविता भण्डारी र निम खनालको अकालमै ज्यान गएको छ । यस्तै कविताकी आमा ३६ वर्षिया रत्ना भण्डारी समेत गम्भीर घाइते भएकी छिन् ।
रजस्वला भएका बेलामा घरमा बस्नु महापाप र अपराध नै हो भने मानसिकता बालबालिकामा समेत परेको छ । सुत्केरी हुँदा घरमा बस्ने अनि रजस्वला हुँदा घरदेखि अलि टाढा बनाइएका मानव घाती गोठमा बस्ने परम्परा रहेको छ ।
अन्धविश्वास
रजस्वला भएका बेलामा नाबालकहरुले बाध्य भएर आमासँगै गोठमा बस्न बाध्य छन् । रजस्वला भएका महिलाले नाबालकहरुलाई कालकोठरी जस्ता गोठहरुमा लिएर ५ दिनसम्म राख्ने कुप्रथाका कारण पनि उनीहरुमा कुप्रथाको चेतनाले घेरिएको देखिन्छ ।
ज्यान जोखिममा
रजस्वला भएका महिला घरदेखि टाढा बनाइएका असुरक्षित गोठमा बस्दा उनीहरुले सर्पको टोकाइबाट समेत अकालमै ज्यान गुमाउनु परेका कैयौं घटनाहरु छन् ।
मन्दिरको बाटोसमेत नहिड्ने चलन
धार्मिक स्थल, मठ मन्दिरतर्फ जाने बाटोलाई पवित्र मानिने भएकाले रजस्वला भएका महिलाले मठ मन्दिर जाने बाटो हिँड्दा समेत अर्को जुनीमा श्राप लाग्छ ,घर परिवार सन्तानमा अनिष्ट हुने भन्ने मान्यतादेखि लिएर कोणी भइने ( कुष्ट रोगी) भन्ने अन्धविश्वासका कारणसमेत यसले समाज आक्रान्त छ । त्यसैको उपज महिलाले मन्दिरको बाटो नभएर असहज बाटो हिँड्ने गरेका कारण पनि दुर्घटनाका जोखिमहरु मेल्नु परेको देखिन्छ ।
महिलामा पर्ने असरहरु
बलात्कार : रजस्वला हुने समय भनेको १४ वर्ष देखिनै भएका कारण साना उमेर समूहका महिलाले बलात्कार हत्याका अप्रिय घटना समेत भएका देखिन्छन् । जसले गर्दा आम नारी र महिलामा त्रास, भयको अवस्था सिर्जना गर्ने गरेको छ ।
कुपोषण : रजस्वला ( छाउभएको ) महिलाले दुध, दही,मही खाएको खण्डमा गाई भैसीले दुध नदिने, बाझा हुने भन्ने गलत मान्यताका कारण त्यो अवधिमा महिलाले नुन, खुर्सानी र सामान्य खानेकुरा खान बाध्य भएका कारण महिलामा पोषणको समस्या देखा पर्ने गरेको छ ।
मानसिक समस्या : रजस्वला भएका बेला महिलाहरु घरदेखि टाढा बनाइएका मानव भक्षी गोठमा बस्नु पर्दा मानसिक समस्या( डिप्रेसन) सिर्जना हुनुका साथ साथै महिलामा मानसिक सन्तुलन गडबडी हुने गरेको पाइन्छ ।
बालबालिकाको स्वास्थ्यमा असर : रजस्वला भएका महिलाले पाँच दिनसम्म नाबालकलाई छाउगोठमै आफूसँगै राख्ने गरेका कारण चिसोको समयमा निमोनिया, रुघाखोकीको समस्यासँगै गर्मीको समयमा ज्वरो,टाइफाइड, लु, इन्सेफलाइटिस, मलेरिया र झाडापखाला जस्ता रोगको संक्रमण हुने खतरा रहेको देखिन्छ ।
रोगको दीर्घकालीन असर : छाउगोठमा ५ वर्षसम्मका बालबालिकाहरु बस्ने गरका कारण पनि उनीहरुमा निमोनिया बल्झिने गरेका कारण पनि उनीहरुमा निमोनिया बल्झिने खतरा रहेको र दीर्घकालीन रुपमा स्वासप्रस्वास सम्बन्धी रोगको जोखिम मोल्नु पर्ने खतरा रहेको छ ।
जनप्रतिनिधि नै छाउगोठमा बस्छन् : सुदूर र मध्यपश्चिमका कतिपय जनप्रतिनिधि महिलाहरु समेत ५ दिनसम्म छाउगोठमा बस्ने गरेका छन् । स्थानीय निकाय नेपाल सरकारको एक निकाय हो । जनताका प्रत्यक्ष सरोकार राख्ने निकाय स्थानीय तह भएका कारण पनि जनताका हरेक समस्यालाई स्थानीय तहमै समाधान खोज्ने निकायबाट नै कुरीतिलाई मलजल हुनुे कार्यले पनि कुप्रथाले जरो गाडेको देखिन्छ ।
ती जनप्रतिनिधिबाट समाजले सकरात्मक रुपान्त्रण नभएर अन्ध विश्वासको जरो झन दरिलो बनाउँदै लगेको पाइन्छ । हिंजोका दिनमा विभिन्न पार्टीका महिलाहरुले समाजमा जसरी कुरीतिका बारेमा सन्दैश फैलाउँदै गरेका थिए त्यसरी नै व्यवहारमा परिणत गर्न नसकेकर त्यहि कुप्रथालाई अँगाल्न थालेका कारण पनि महिलाको चेतनास्तरमा फरक ल्याइदिएको छ ।
छाउपडी प्रथाका कारण समाजमा उत्पन्न हुने विकराल समस्यालाई लिएर सर्वोच्च अदालतले २०६२ बैशाख १९ गतेका दिन छाउपडी प्रथा एक हिंसा निम्त्याउने कुप्रथा भएको भन्दै यसलाई प्रश्रय नदिन समेत भनेको छ ।
स्वास्थ्यका हिसावले रजस्वला भएका महिला र बालबालिका दुवैको स्वास्थ्यमा निकै ठुलो असर पुग्ने देखिन्छ ।
स्थानीय सरकारको दायित्व ः छाउपडी प्रथाको अन्त्यका लागि विगतका केही वर्षहरुमा जनचेतना र हिंसा विरुद्धका १६ दिने अभियानहरु सञ्चालन गर्दै आएको भए तापनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन ।
महिला स्वास्थ्य र पोषणको समस्या आम रुपमा देखा पर्दै जानुले पनि उनीहरुबाट जन्मिने बालबालिकामा समेत यसको नराम्रो असर पुग्ने देखिन्छ ।
समाधान : छाउपडी प्रथा अर्को जुनीको पाप र श्राप नभएर यो महिलाको प्राकृतिक रुपको निरन्तरता हो भन्ने कुरालाई समाजमा स्थापित गर्न जरुरी छ ।
शिव भगवान पत्नी पार्वती पनि थिइन । उनले कहिल्यै छाउगोठ बनार बसेनन् । पार्वती, देवी र पनि महिलाका रुप हुन भन्ने कुरालाई समाजमा बुझाउन जरुरी छ । देवीहरु पनि रजस्वला हुन्थे । ती देवीका मन्दिरहरुमा सफासुघर भएर, सिनेटरी प्याडको प्रयोग गरेर मन्दिरको बाटो हिँड्न नहुने भन्ने होईन । घर परिवारमा सँगै बसेर खाने वा खाना पकाउने नभए पनि सरसफाई गरेर घरको एउटा कोठा प्रयोग गरेर बस्न सकिने कुरालाई समाजमा स्थापित गर्न जरुरी छ ।
सरकारले नेपालका महिलाहरुका लागि दीर्घकालीन योजना बनाएर अघि बढाउनु पर्ने आजको आवश्यकता देखन्छ ।
आथिर्क रुपमा बलियो ः जबसम्म महिलालाई पुरुषको तुलनामा आर्थिक रुपले सक्षम बनाउन सकिदैन तबसम्म उनीहरु समाजको मूल प्रवाहमा आउन सक्ने अवस्था देखिदैन । त्यसका लागि महिलालाई स्वरोजगार, आत्मनिर्भर र सीप योग्य बनाउन जरुरी छ । सीप भएको खण्डमा सीप अनुसारको रोजगारीका अवसरहरु प्रदान गर्न सकिने छ ।
राजनीतिक अधिकार
नेपालको संविधानले हरेक राजनीतिक तहमा ३३ प्रतिशत अनिवार्य महिला हुनुपर्ने उल्लेख गरेको छ । सोही अनुसार महिलालाई जनप्रतिनिधिको रुपमा उपस्थिति पनि गराइने गरिएको छ । तर महिलालाई निर्णायक पदमा पुगाउने कार्यमा समेत नेपालका राजनीतिक दल र सरकारले व्यवहारतः कन्जुस्याइँ गरिरहेको छ । त्यो मान्यतालाई व्यवाहारिक बनाउन जरुरी छ । राजनीतिक दलको पहिलो पदमा महिलालाई नराखेर उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पदमा मात्रै प्रतिनिधित्व गराउने परम्पराको अन्त्य हुन जरुरी छ ।
आर्थिक अधिकार
नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिदै आएको पाईन्छ । महिलाहरु चुलोचौका अनि घाँस दाउरामै सीमित रहेका छन् । शिक्षामा विभेद हेर्ने हो भने छोरालाई बोर्डिङ स्कुलमा र छोरीलाई सरकारी बिद्यालयमा पढाउने प्रचलन कायमै रहेको छ ।
घरको प्रयोगका लागि आवश्यक पर्ने सोडा, सावुन, चुरापोते किन्नका लागि समेत पुरुषको भर पर्नुपर्ने बाध्यता रहेको छ । आर्थिक रुपमा महिला परनिर्भरताको जाँतोमै पिल्सिदै आइरहेका छन् । महिलालाई समाज विकासका लागि आर्थिक अधिकारसहित समाजको मूल प्रवाहमा ल्याउन सकेको खण्डमा समाज रुपान्तरणमा ठुलो टेवा पुग्ने छ । यसले गर्दा समाजमा व्याप्त सबै खाले विसङ्गति, विकृति, अन्याय, कुरीति र विश्वासलाई अन्त्य गर्न सम्भव छ ।


