काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजी अभियन्ताहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शीतल निवासमा अन्तरिम सरकारसहित जेनजी अभियन्ताहरूसँगको छलफलमा यस्तो आग्रह गरेका हुन् ।
छलफल साँझ साढे ६ बजेबाट सुरू भएको थियो।
छलफलमा राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेअनुरूप भ्रष्टाचार, नातावाद, कृपावाद, पक्षपातपूर्ण व्यवहारबाट देश मुक्त होस् र सही मानिसले देश चलाओस् भनेरै नयाँ चुनाव घोषणा गरिएको बताए।
त्यसैले यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा लिन उनले आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले युवाहरू अघि सरेर ’राम्रो प्रतिनिधिसभा बनाउन, भ्रष्ट र बदमास जित्न नपाऊन्, असल र इमानदारहरू जितेर आऊन्’ भन्दै त्यसपछि देश न्याय र सुशासनको बाटोमा जानुपर्ने र युवाहरू बाध्यताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति पौडेलको यो आग्रहलाई राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताइन् । उनले राष्ट्रपति कलिलो उमेरदेखि नै देशका लागि निरन्तर सङ्घर्ष गरेको परिपक्व नेता भएकोले उनको भनाइलाई अन्तस्करणको आवाजका रूपमा लिन आग्रह गरिन् ।
बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए ।