अभियान केवल अभियानका लागि मात्र नभएर शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि हो : गौतम – Kanika Khabar
Monday, November 17Nepali News Portal

अभियान केवल अभियानका लागि मात्र नभएर शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि हो : गौतम

    मा प्रकाशित

दाङको घोराही उपमहागरपालिका वडा नम्बर २ रामपुरमा अवस्थित गङ्गा मावि विद्यालय सहरदेखि केही पर ग्रामीण भेगमा रहेको छ । कक्षा १२ सम्म सञ्चालन हुँदै आएको विद्यालयले सहरले छोएको तर ग्रामीण भेगमा रहेको छ । सहरका यातायात त्याँ पुग्छन् तर सहरका विद्यार्थी त्यहाँ पुग्दैनन् । जसका कारण पनि विद्यालयमा विद्यार्थी सङ्ख्या बृद्धि आफैमा चुनौती बनेको छ । चुनौतीलाई अवसरमा परिणत गर्न विद्यालयले यसपालिकोृ पर्व बिदामा अभिभावकको घरसम्म पुगेर विद्यार्थीको शिक्षण सिकाइका विषयमा छलफल गर्ने काम गरेको छ । सामुदायिक विद्यालयमा पर्व बिदामा यो अभ्यास आफैमा कठिन मात्र थिएन नौलो पनि हो । घरदैलो कार्यक्रमो उद्देश्य र यसै बिषयमा केन्द्रित रहेर कनिका खबरले विद्यालयका प्रधानाध्यापकसँग संवाद गरेको छ । प्रस्तुत छ कनिका खबरले प्रधानाध्यापक गङ्गा गौतमसँग गरेको कुराकानीको सारसङ्क्षेप । (सम्पादक)

दसैंतिहारको बिदामा विद्यालयका शिक्षकहरू अभिभावकको घरसम्म पुग्ने अभियान सुरु गर्नुको मुख्य उद्देश्य के हो ?

हामीले यो बिदाको अवसरमा घरदैलो कार्यक्रमको आयोजना गरेका छौँ । बिदाको समयमा अभिभावकका घरघरसम्म पुगेर विद्यार्थीका पढाइलेखाइका बारेमा बुझ्ने कोसिस गरेका छौँ । यसको मुख्य उद्देश्य अभिभावक, विद्यालय र विद्यार्थीबिचको त्रिकोणत्मक सम्बन्धलाई सुदृढ बनाउने नै हो । विद्यार्थीको सिकाइ प्रक्रियामा अभिभावकको सक्रिय सहभागिता गराउने प्रयास पनि हो घरदैलो कार्यक्रम । सामुदायिक विद्यालयमा अभिभावहरु विद्यालयसम्म आएर बालबालिकाको पढाइलेखाइको बारेमा अन्तरक्रिया गर्ने संस्कृति निकै कम छ । यसका लागि हामी नै अभिभावकका घरसम्म किन नपुग्ने त ? भन्ने सोंचका साथ पनि यो अभियान थालेका हौँ । हाम्रो विद्यालय घोराही उपमहानगरपालिकाभित्रको ग्रामीण भेगको विद्यालय हो । हाम्रा प्रायः अभिभावक कृषि पेसामा आवद्ध हुनुहुन्छ । सायद यही कारण पनि हुन सक्छ उहाँहरु विद्यालयसम्म आउन सक्नु हुँदैन । विद्यार्थीका सिकाइका विषयमा छलफल गर्न बुझ्न अभिभावक विद्यालयमा आउँदा पनि हुन्छ नै उहाँहरु आउन नभ्याउँदा शिक्षक अभिभावकको घरसम्म पुग्ने दायित्व पनि हुन्छ भन्ने बोध गरेर हामीले यो अभियान थालेका हौँ ।

May be an image of 5 people and people smiling

अभिभावकको घरमा गएर विद्यार्थीको पढाइको बारेमा छलफल गर्दा केकस्ता प्रतिक्रिया वा सुझावहरू प्राप्त गर्नुभयो ?

हामी मूलतः पहिलो चरणमा मावि तह (कक्षा ११ र १२ ) का विद्यार्थीका अभिभावकसँग शैक्षिक तथा बालबालिकाको सिकाइका विषयमा अन्तरक्रिया गरिरहेका छौँ । एक्कासि अभिभावकका घरमा शिक्षकको समूह पुग्दा उहाँहरु अचम्मित पनि हुनुभएको छ भने त्यतिकै मात्रामा हर्षित पनि देखिनु भएको छ । विद्यालयको यो अभियानलाई निकै सकारात्मकरुपमा लिनुभएको हामीले पाएका छौँ । कतिपयले विद्यालय आएर भन्नै पर्ने कुरा आफ्नै आँगन, खेतबारीमा भन्न पाउनुभएको छ । बालबालिकाका कमिकमजोरी र स्वभाव तथा राम्रा पक्षका विषयमा छलफलमा सक्रिय सहभागिता जनाउनुभएको छ । यसको निरन्तरता उहाँहरुको अनुरोध र अपेक्षा रहेबाटै यसलाई सकारात्मक रुपमा लिएको पाएका छौँ ।

यस कार्यले विद्यार्थीको सिकाइमा कस्तो प्रभाव पार्ने अपेक्षा गर्नुभएको छ ?

शैक्षिक सुधारका लागि यो अभियानले महत्वपूर्ण भूमिका खेलेको छ । शिक्षण सिकाइ क्रियाकलापका लागि यस्ता अभियानले सकारात्मक भूमिका खेल्छ नै । शिक्षको टोली अभिभावकको घरसम्म पुगेर विद्यार्थीको शिक्षण सिकाइका विषयमा छलफल गर्दा अभिभावकबाट आएका गुनासा सम्बोधन गर्ने मौका पाएका छौँ । शिक्षक सहकर्मी मित्रहरुले विषयगत छलफल र जानकारी गराउनुभएको छ । विद्यालय र विद्यार्थीका विषयमा कुनै गुनासो भए सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ । विषयगत शिक्षकले सम्पर्क नम्बर उपलब्ध गराएर विद्यार्थीको पढाइमा दुबै पक्ष सचेत हुन अनुरोध गर्नुभएको छ । यसले अभिभाकप्रति सचेतताको अभिवृद्धि गरेको पाएका छौँ । यसलाई हामीले निरन्तरता दिने छौँ । यो अभियान केवल अभियानका लागि मात्र नभएर शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि हो ।

अभिभावक र विद्यालयबिचको सम्बन्ध सुदृढ बनाउनका लागि यस कार्यक्रमले कति सफल परिणाम देखाउला ?

यो हाम्रो पहिलो चरणको कार्यक्रम हो । सम्भवतः भर्ना अभियानलाई छाडेर हेर्ने हो भने बिदाका समयमा गरिएको यस्ता घरदैलौ कार्यक्रम बिरलै हुने गर्छन सामुदायिक विद्यालयमा । यो कार्यक्रमले अभिभावकप्रति विश्वास जगाएको छ । सामुदायिक विद्यालयका शिक्षकहरु पनि शैक्षिक सुधारको अभियानमा रहेको विश्वास हामीले लिन सकेको आभाष भएको छ । विद्यार्थीको पढाइ तथा शिक्षण सिकाइका विषयमा जानकारी लिन र दिन अभिभावककै घरसम्म पुगेर गरिएको अन्तरक्रिया अभिभावक, विद्यालय र समुदायबिचको सम्बन्ध सुदृढ बनाउने विश्वास लिएका छौँ । त्यति मात्रै होइन कक्षा १० पास गरेर कक्षा ११ मा के पढ्ने/पढाउने भनेर अलमलमा परेका विद्यार्थी र अभिभावकका लागि काउन्सलरको काम पनि गरेका छौँ । जसका कारण अभिभावक । विद्यार्थीमा रहेको अन्यौल निवारण गरेका छौँ । यसले पनि अभिभावकमा विश्वास दिलाउन सकिएको छ ।

यस्तो अभियान सञ्चालन गर्दा शिक्षकहरूका लागि केकस्ता चुनौती र अनुभवहरू देखिन आए ?

यो पर्व बिदाको समय हो । यस्तो समयमा शिक्षक व्यवस्थापन गर्न केही चुनौती त हुन्छन् नै । कतिपय शिक्षक स्थानीय तहको दरबन्दीमा छौँ । यस्ता दरबन्दीलाई सुनिश्चित राख्नका लागि एक मात्र विकल्प भनेको विद्यार्थीको सङ्ख्यामा बृद्धि गर्ने नै हो । मैलै एउटा प्रशासकको दृष्टिले शिक्षकहरुलाई कन्भिन्स गर्न सकेको जस्तो लाग्छ किनकि विद्यालयले बनाएको रणनीतिमा शिक्षकहरुको उपस्थितिले यसको पुष्टि गर्दछ । शिक्षकहरुले स्थानीय समुदायमा पुगेर अभिभावक तथा समुदायसँग साक्षात्कार, अन्तरक्रिया गर्न पाउँदा एउटा नौलो अनुभवको रुपमा लिएका छौँ । हाम्रा लागि चुनौती भनेको समय व्यवस्थापन नै थियो । त्यसलाई हामीले जसरी पनि व्यवजस्थापन गर्नुपर्छ भन्ने सोंच पहिले नै बनाएका थियौँ । यसमा चुनौती त अवश्य नै रहन्छ नै । तर हामीले नगरे कसले गर्छ भन्ने विचारमा हामी दृढ छौँ । यतिबेला शिक्षक सहकर्मीबाट पाएको साथ, समय र सहकार्यप्रति म कृतज्ञ छु ।

आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विद्यालयले केकस्ता योजना बनाइरहेको छ ?

मैले भरखरै मात्र विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको छु । कुनै पनि संघसंस्था सञ्चालन गर्नका लागि टिम वर्क राम्रो चाहिन्छ । संस्थाको सफलता टिम वर्कले निर्धारण गर्दछ । यसक लागि टिम वर्कमा हामी गरौँ भन्ने भावना हुनुपर्छ । मैले हाम्रो विद्यालयमा टिम वर्कैमा समस्या देखेको छैन । विद्यालयलाई कसरी नमुना बनाउने, शैक्षिक गुणस्तर बृद्धि कसरी गर्ने, विद्यालयलाई अब्बल कसरी बनाउने भन्ने चिन्तन यस विद्यालयका शिक्षक कर्मचारीमा पाएको छु । विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल, समुदाय, अभिभावकसँग छलफल गरेर योजना तर्जुमा गर्ने सोंचमा छौँ । विद्यार्थीको प्रोगेस रिपोर्ट तयार गर्ने, छलफल गर्ने अनि अभिभावकसँग साझेदारी गर्दै लैजाने योजना छ । आगामी शैक्षिक सत्रमा यस अभियानलाई वार्षिक कार्ययोजनामा समावेश गरेर लैजाने छौँ । साथै अभिभावक तथा सरोकारवाला निकायसँगको छलफललाई अझ सशक्त बनाउँदै लैजाने योजना छ ।

May be an image of 3 people

सम्भवतः सामुदायिक विद्यालयमा यो नौलो अभ्यास हो, कति सहज छ पर्व विदाको अवसरमा घरदैलो कार्यक्रम ?

निकै गम्भीर प्रश्न सोध्नुभयो । सामुदायिक विद्यालयमा नौलो अभ्यास भन्नुभएको छ । सम्भवतः यो हो पनि । सामुदायिक विद्यालयमा पर्व बिदामा घरदैलो कार्यक्रमगर्ने आफैमा चुनौती थियो तर हाम्रो टिम वर्कले यो गरेरै देखाएको छ । शैक्षिक सुधारका लागि परिवर्तन आश्यक छ । परिवर्तनका लागि ठुलाठुला काम गर्नुपर्छ भन्ने छैन सानासाना कामलाई अलि फरक ढङ्गले गर्नुपर्छ । यसका लागि हाम्रो टिम वर्क र टिम स्प्रिटको लय मिलेको छ । यसका लागि म सम्पूर्ण शिक्षकहरुप्रति आभारी पनि छु । कार्यलाई सहज बनाउने भनेको टिम वर्क नै हो । यतिबेला हामीले सामुदायिक विद्यालयमा समुदायप्रतिको अपनत्वबोध गराउनु यो कार्यक्रमको पहिलो उद्देश्य हो । त्यस्तै कक्षा ११ मा विद्यार्थी भर्ना दर बृद्धि गर्नु अर्को उद्देश्य हो भने शैक्षिक गुणस्तरमा सुधार ल्याउन थालिएको अभियान पनि हो । यसका लागि हामीले पर्व बिदाकै समयलाई उत्तम मानेर योजना बनायौँ, काम थाल्यौँ, पहिलो चरणको अभियान सक्यौँ । योजनालाई कार्यान्वयन गर्नका लागि उपयुक्त समय छनौट गर्नुपर्छ । पहिलो चरणका लागि हामीले यही समय छनौट गरेकाले सहज नै भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्