अमरराज आचार्य
दाङ, २४ मङ्सिर ।
लुम्बिनी प्रदेशमा कृषि भूभागको क्षेत्रफल निरन्तर घट्दै गएको छ । बढ्दो सहरीकरणसँगै कृषियोग्य जमिन प्लटिङ गर्ने कार्य बढ्दा प्रदेशमा कृषि योग्य जमिन घट्दै गएको हो ।
नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन अनुसार प्रदेशमा कृषियोग्य जमिन घट्दै गएको छ । लुम्बिनी प्रदेशमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिव शून्य दशमलव ५४ प्रतिशतले घटेर आठ लाख ५७ हजार सात सय आठ हेक्टर क्षेत्रफलमा समेटिएको छ । अघिल्लो वर्ष पनि कृषियोग्य जमिन शून्य दशमलव ७४ प्रतिशतले घटेको थियो ।
प्रदेशको कृषि उपजले ढाकेको कुल क्षेत्रफलको ८९ दशमलव ६५ प्रतिशत प्रमुख खाद्य तथा अन्य बाली, पाँच दशमलव ८२ प्रतिशत तरकारी, तीन दशमलव शून्य सात प्रतिशत फलफूल तथा एक दशमलव ४१ प्रतिशत मसला र शून्य दशमलव शून्य चार प्रतिशत भूभागमा चिया तथा कफी लगाउने गरिन्छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल गत वर्षकोे तुलनामा एक दशमलव ४२ प्रतिशतले ह्रास भई सात लाख ६८ हजार नौ सय ६८ हेक्टर क्षेत्रफल कायम भएको छ । गत वर्ष यो क्षेत्रफल एक दशमलव शून्य चार प्रतिशतले घटेको थियो ।
खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफलमध्ये भटमास र आलु बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ भने धान, जौँ, कोदो, आलु, गहँु, फापर, मकै, उखु, दलहन र तेलहन बालीले ढाकेको क्षेत्रफलमा ह्रास आएको छ । जिल्लागत विश्लेषण गर्दा समीक्षा वर्षमा लुम्बिनी प्रदेशमा खाद्य तथा अन्नबालीले ढाकेको क्षेत्रफलमा सबैभन्दा धेरै हिस्सा कपिलवस्तुको १५ दशमलव २० प्रतिशत र सबैभन्दा कम रुकुम पूर्वको एक दशमलव ६१ प्रतिशत रहेको छ ।
तरकारी बाली
तरकारी बालीले ढाकेको क्षेत्रफल गत वर्षकोे तुलनामा १४ दशमलव ७९ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०८१÷०८२ मा ४९ हजार नौ सय १५ हेक्टर क्षेत्रफल पुगेको छ । गत वर्ष यसको क्षेत्रफल तीन दशमलव २४ प्रतिशतले बढेको थियो । व्यावसायिक रूपमा तरकारी खेती गर्नेको सङ्ख्या वृद्धि हुँदैसँगै उत्पादनसमेत वृद्धि भएको छ ।
फलपूmलले ढाकेको क्षेत्रफल गत वर्षकोे तुलनामा एक दशमलव ४४ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष ०८१÷०८२ मा २६ हजार एक सय ९५ हेक्टर कायम भएको छ । जिल्लागत विश्लेषण गर्दा यस प्रदेशमा फलपूmलले ढाकेको क्षेत्रफलमा सबैभन्दा धेरै हिस्सा रोल्पाको १५ दशमलव ७३ प्रतिशत र सबैभन्दा कम रुकुम पूर्वको दुई दशमलव ३९ प्रतिशत रहेको छ ।
यसैगरी मसलाले ढाकेको क्षेत्रफल गत वर्षकोे तुलनामा तीन दशमलव ५८ प्रतिशतले ह्रास भई आर्थिक वर्ष ०८१÷०८२ मा १२ हजार एक सय १० हेक्टरमा सीमित भएको छ । मसलाले ढाकेको क्षेत्रफलमध्ये लसुनले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ ।
अदुवा, अन्य मसला, प्याज, अलैची र बेसारले ढाकेको क्षेत्रफलमा ह्रास आएको छ । रोल्पा जिल्लामा विस्तार गरिएको लसुन खेतीका कारण लसुनको क्षेत्रफलमा वृद्धि देखिएको हो । चियाले ढाकेको क्षेत्रफलमा ६६ दशमलव १३ प्रतिशतमध्ये ६ दशमलव ३६ प्रतिशतले ह्रास भएको छ ।
कफीले ढाकेको क्षेत्रफलमा तीन दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । कृषि कार्यमा उपयोग भएका भूभागको जिल्लागत विश्लेषण गर्दा लुम्बिनी प्रदेशको कुल खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमध्ये सबैभन्दा बढी १५ दशमलव २० प्रतिशत कपिलवस्तु जिल्लामा रहेको छ ।
सबैभन्दा कम रुकुम पूर्वमा एक दशमलव ६१ प्रतिशत रहेको छ । यसैगरी तरकारी, फलफूल र मसला खेतीले ढाकेको क्षेत्रफलमध्ये सबैभन्दा बढी क्रमशः १९ दशमलव १९ प्रतिशत, १५ दशमलव ७३ प्रतिशत र २० दशमलव ५३ प्रतिशत रोल्पा जिल्लामा मात्रै रहेको छ भने तरकारी, फलफूल तथा मसला खेती भएको कुल क्षेत्रफलमध्ये सबैभन्दा कम रुकुम पूर्वमा रहेको छ ।
खाद्य तथा अन्य बाली
खाद्य तथा अन्य बालीको उत्पादनमा तीन दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ०८१÷०८२ मा धान, मकै, गहँु, जौँ, आलु र दलहनको उत्पादनमा क्रमशः तीन दशमलव ९५ प्रतिशत, तीन दशमलव ३४ प्रतिशत, चार दशमलव ६३ प्रतिशत, सात दशमलव ३२ प्रतिशत र सात दशमलव ३० प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी कोदो, फापर, भटमास र तेलहनको उत्पादनमा क्रमशः १४ दशमलव ६२ प्रतिशत, ४० दशमलव शून्य सात प्रतिशत, आठ दशमलव ६१ प्रतिशत र सात दशमलव ६८ प्रतिशतले ह्रास भएको छ । यस प्रदेशमा खाद्य तथा अन्य बालीको जिल्लागत उत्पादन विश्लेषण गर्दा सबैभन्दा धेरै योगदान कपिलवस्तु जिल्लाको २१ दशमलव २४ प्रतिशत र सबैभन्दा कम रुकुम पूर्व जिल्लाको एक दशमलव ५५ प्रतिशत योगदान रहेको छ ।


