हवाई उडानका लागि मापदण्ड तयार भयो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

हवाई उडानका लागि मापदण्ड तयार भयो

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
लामो समयसम्मको बन्दाबन्दीका कारण उडान नभरेका हवाईले भदौ १ गतेदेखि उडान भर्ने भएका छन् । कोरोना भाइरसको महामारीकाबीच भदौ १ गतेदेखि नियमितरूपमा हवाई सेवा सञ्चालन हुन लागेको हो । उडानका लागि सरकारले आवश्यक मापदण्ड तयार पारेको छ ।

चैत ११ देखि ठप्प रहेको नियमित हवाई उडान भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने यस अघि नै सरकारले निर्णय गरिसकेको थियो । हवाई सञ्चालनको दिन नजिकिदै गर्दा पर्यटन मन्त्रालयले यात्रु र जहाज सञ्चालकले पालाना गर्नुपर्ने सर्तसहितको मापदण्ड तयार पारेको हो ।

‘सीमित नियमित हवाई सम्बन्धि मापदण्ड –२०७७’ तयार पारेको पर्यटन मन्त्रालयले त्यसबारे परराष्ट्र, गृह र स्वास्थ्य मन्त्रालयका मन्त्री, सचिव तथा विभागीय प्रमुखहरुसँग छलफलसमेत गरेको छ ।

यस्तो छ उडान मापदण्ड

मापदण्डमा यात्रु विमानस्थलमा प्रवेश गर्नुपूर्व र विमानमा यात्रु चढाउनुअघि अनिवार्य तापक्रम मापन गर्नुपर्नेछ ।

सबै यात्रुले हवाई यात्राभर मास्क र फेस सिल्ड अनिवार्य लगाउनु पर्ने, विमान चढ्नुअघि र चढिसकेपछि पनि समय समयमा सबै यात्रुलाई हेन्ड सेनिटाइजर प्रयोग गराउने, सामाजिक दूरी कायम गरी यात्रु चेक इन र यात्रु चढाउने र उतार्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।

तोकिए बमोजिम सम्पूर्ण प्रक्रिया पुगेको निश्चित गरेर मात्रै वायुसेवाले बोर्डिङ पास जारी गर्नुपर्ने उल्लेख छ ।

कुनै एयरलाइन्सले कारणवश नै शर्त पूरा नगरे पनि कारबारही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा सहभागी हुने कुनै पनि यात्रुको तापक्रम जाँच गर्दा असामान्य देखिएमा निजलाई तत्कालै आइसोलेसनमा पठाइ निर्धारित प्रक्रिया अवलम्बन गरिने उल्लेख छ ।

अन्तर्राष्ट्रिय र आन्तरिक उडान कम्पनी र विमानस्थलको मापदण्ड भने नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरे बमोजिम हुने जनाइएको छ ।

तर, देशमा कोभिड १९ को संक्रमणको अवस्था बढ्दै गएमा सीसीएमसीको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पूर्वसूचना दिएर वा नदिएरै पनि जुनसुकै बेला सीमित व्यवसायिक उडान स्थगित हुन सक्ने जनाइएको छ ।

विदेशबाट आउनेहरूका लागि यस्तो रहेको छ मापदण्ड

पर्यटन मन्त्रालयले तयार पारेको मापदण्डमा नेपाल आउन चाहने नेपालीले पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।

आफू रहेको मुलुकको मान्यताप्राप्त ल्यावोरेटरीरस्वास्थ्य संस्थाबाट स्वास्थ्य चेक जाँचको नेपाली र अंग्रेजी भाषामा भएको वा अनुवाद गरेको प्रतिवेदन साथमा लिइ आउनु पर्ने मापदण्डमा उल्लेख छ ।

जसमा सम्बन्धित यात्रुको नाम, लिंग, उमेर र सम्भव भएसम्म पासपोर्ट नम्बर, यात्रा गर्ने समयसम्म भन्दा बढीमा ७२ घण्टाभित्र आरटी पीसीआर परीक्षणको नतिजा नेगेटिभ रहेको र परीक्षण भएको ल्यावोरेटोरीरहेल्थ इन्स्टिच्युसनको नाम, ठेगाना र स्वास्थ्य परीक्षण गर्ने प्राविधिक कर्मचारीको स्पष्ट विवरण खुलेको हुनुपर्ने उल्लेख गरिएको छ ।

नेपाल आएसकेपछि शुरुको ७ दिन होटल क्वारअन्टिनमा र १४ दिन होम क्वारअन्टिनमा बस्नुपर्नेछ र होटल क्वारअन्टिनमा बस्दा पीसीआरमा नतिजा नेगेटिभ आएपछि मात्रै होम क्वारअन्टिनमा जान पाइने पनि मापदण्डमा उल्लेख छ । होटलमा बस्ने खर्च यात्रु आफूले बेहोर्नु पर्नेछ ।

त्यसैगरी होम क्वारअन्टिनमा बस्नुपूर्व र क्वारअन्टिन अवधि सकिएपछि विवरण अनिवार्यरुपमा स्थानीय तह र एसीसीएमसीलाई जानकारी गराउनु पर्नेछ ।

त्यसैगरी यात्रा शुरु हुने मुलुकमा आरटी पीसीआर टेस्ट उपलब्ध नभएको खण्डमा उक्त मुलुकसँग प्रमाणीकरण र सहप्रमाणिकरण भएको नेपाली नियोगको सिफारिस आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । यात्रुहरुले कम्तीमा ७ दिनका लागि होटल बुक गरेको प्रमाण यकिन गरेर मात्र सम्बन्धित वायुसेवाले बोर्डिङ पास जारी गर्नुपर्नेछ ।

प्रक्रिया पूरा गरी नेपाल प्रवेश गरेका यात्रुहरुको राहदानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्कले संकलन गरी अध्यागमन विभागमा बुझाउनु पर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्