दाङ, ६ माघ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज (मङ्गलवार) देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता हुने भएको हो ।
उम्मेदवारी दर्ताका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उम्मेदवारी दर्ताका लागि क्षेत्र नम्बर १ को लमहीमा, क्षेत्र नं. २ को घोराहीमा र क्षेत्र नं. ३ को तुलसीपुरमा गरेर छुट्टाछुट्टै व्यवस्था गरिएको छ । उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरूसमेत उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि अधिकांश राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाएका छन् । जस अनुसार नेपाली कांग्रेसबाट क्षेत्र नं. १ मा सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधि किरणकिशोर घिमिरे र क्षेत्र नं. ३ मा पूर्वमन्त्री दीपक गिरीलाई उम्मेदवार बनाउने भएको छ । यसैगरी नेकपा एमाले दाङ क्षेत्र नं. १ बाट रेवतीरमण शर्मा, क्षेत्र नं. २ बाट महासचिव शंकर पोख्रेल, क्षेत्र नं. ३ बाट घनश्याम पाण्डेयलाई उम्मेदवार बनाउने निर्णय गरे पनि क्षेत्र नं. १ मा चयन गर्न सकेको छैन ।
नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मेटमणि चौधरी, केन्द्रीय सदस्य क्षेत्र नं. २ बाट निर्मल आचार्य, क्षेत्र नं. ३ मा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य धनबहादुर मास्की, राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नं. १ बाट पार्टीका लुमिबनी प्रदेश सभापति देवराज पाठक, क्षेत्र नं. २ बाट पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य र क्षेत्र नं. ३ बाट कमल सुवेदीलार्ई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाले क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष गणेश आचार्य, क्षेत्र नं. २ बाट मनिराम खनाल र क्षेत्र नं. ३ बाट कमल जिसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


