सर्वोच्च नेता बनेपछि मोजतबाको पहिलो सन्देश: मध्यपूर्वका सबै अमेरिकी सैन्य अड्डा बन्द गर्न चेतावनी – Kanika Khabar
Sunday, April 19Nepali News Portal

सर्वोच्च नेता बनेपछि मोजतबाको पहिलो सन्देश: मध्यपूर्वका सबै अमेरिकी सैन्य अड्डा बन्द गर्न चेतावनी

    मा प्रकाशित

काठमाडौँ । इरानका नयाँ सर्वोच्च नेता आयातुल्ला मोजतबा खामेनीले पद सम्हालेपछि पहिलो पटक सार्वजनिक सन्देश जारी गरेका छन्। उनको सन्देश सरकारी टेलिभिजनमार्फत प्रसारण गरिएको हो ।

पहिलो सन्देशमा खामेनीले मध्यपूर्व क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य अड्डा तत्काल बन्द गर्न चेतावनी दिएका छन् । उनले ती अड्डा बन्द नगरिएमा आक्रमण जारी रहने बताएका छन् । साथै इरानी जनतालाई एकताबद्ध हुन आह्वान गर्दै दबाब सिर्जना गर्न होर्मुज जलडमरु पनि केही समयका लागि बन्द राखिने बताएका छन् ।

खामेनीले इरान आफ्ना छिमेकी देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध चाहने उल्लेख गर्दै लक्ष्य केवल ती देशमा रहेका अमेरिकी सैन्य अड्डा मात्र रहेको बताएका छन् । उनले आक्रमणका कारण भएको क्षतिको भरपाई मागिने र त्यस्तो नभए इरानले पनि समान क्षति पुर्‍याउने चेतावनी दिएका छन् ।

उनले यमनका लडाकु समूह र इराकका केही सशस्त्र समूहहरूले पनि यस संघर्षमा भूमिका खेल्ने संकेत गरेका छन् । साथै युद्धबाट प्रभावित नागरिकलाई आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने योजना बनाइदै गरेको जानकारी दिएका छन् ।

खामेनीले देश कठिन परिस्थितिमा रहेको भन्दै सबै इरानीलाई मतभेद भुली एकजुट भएर सामना गर्न आग्रह गरेका छन् ।

गत आइतबार सर्वोच्च नेतामा नियुक्त भएपछि उनले पहिलोपटक यस्तो सन्देश दिएका हुन् । नियुक्तिपछि उनी सार्वजनिक रूपमा भने देखिएका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलको हवाई आक्रमण सुरु भएको पहिलो दिन खामेनीको खुट्टामा भाँचिएको र सामान्य चोट लागेको दाबि गरिएको छ ।

साइप्रसका लागि इरानी राजदूत अलीरेजा सालारियनले पनि सोही आक्रमणमा खामेनी घाइते भएको बताएका छन् । उक्त आक्रमणमा उनका पिता तथा पूर्व सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको थियो भने परिवारका अन्य पाँच सदस्य पनि मारिएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्