पत्रकारले माहिला सांसदलाई सोध्ने प्रश्नप्रति क्रान्ति शिखाको आपत्ति – Kanika Khabar
Sunday, April 19Nepali News Portal

पत्रकारले माहिला सांसदलाई सोध्ने प्रश्नप्रति क्रान्ति शिखाको आपत्ति

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धितालले पत्रकारितामा महिलामाथि गरिने टिप्पणीप्रति असन्तुष्टि जनाउँदै जिम्मेवार अभ्यासको आवश्यकता औंल्याएकी छन् ।

उनले आफू पत्रकारिता पृष्ठभूमिबाट आएले सञ्चार क्षेत्रप्रति सधैं सम्मान रहेको बताउँदै वर्तमान लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण चरणमा केही प्रवृत्तिबारे खुलेर बोल्नुपर्ने अवस्था आएको उल्लेख गरेकी छन् ।

धितालले विशेषगरी युवा महिलासँग प्रश्न गर्दा ‘राम्री हुनुहुन्छ, चिटिक्क भएर आउनु भएको छ’ जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास बढ्दो देखिएको बताइन् । उनले यस्तो शैलीले महिलालाई विषयवस्तुभन्दा बाह्य रूपमै सीमित गर्ने संरचनागत प्रवृत्ति बलियो बनाउने धारणा राखिन् ।

उनका अनुसार समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि भइरहेको संघर्षका बीच बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले मुद्दालाई ओझेलमा पार्ने र सार्वजनिक बहसको स्तर घटाउने काम गर्छ ।

उनले महिलाहरू आफैं पनि आफ्नो प्रस्तुति र व्यवहारप्रति सचेत हुनुपर्ने उल्लेख गर्दै अरूले बनाएको सौन्दर्य मापदण्डमै सीमित नहुन आग्रह गरिन् ।

धितालले सञ्चारकर्मीलाई माइक विचार व्यक्त गर्ने माध्यम भएको स्मरण गराउँदै सौन्दर्यको मूल्यांकन गर्ने ठाउँ नभएको बताइन् । उनले कुन सन्दर्भमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार बन्न आग्रह गरिन् ।

उनले पत्रकारितामा अझ गहिरो र बौद्धिक प्रश्न उठ्नुपर्ने आवश्यकता औंल्याउँदै मुख्यधार र वैकल्पिक माध्यमबीचको दूरी पनि प्रश्नको स्तरले निर्धारण हुने बताइन् । आवश्यक परे नयाँ माध्यमबाट सिकेर पनि प्रश्न गर्ने स्तर उकास्नुपर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता अभ्यासले गलत संस्कारलाई अझ बलियो बनाउने धारणा राखेकी छन् ।

उनले सञ्चार माध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजको चेतना निर्माण गर्ने शक्ति भएको उल्लेख गर्दै त्यसलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउनुपर्नेमा जोड दिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्