कनिका खबर
साउन २८, नुवाकोट ।
नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको तथा हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका हुँदै चीनको केरुङबाट आएका खाद्य सामग्रीको नमूना परीक्षण कार्य यस वर्ष कम भएको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६÷०७७ मा चीनको केरुङबाट आयात भएका २ सय ५६ प्रकारका खाद्य सामग्रीको नमुना परीक्षण गरेको थियो ।
खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले एक आर्थिक वर्षको अवधिमा कुल २ सय ५६ प्रकारका खाद्य सामग्रीको परीक्षण गरेको हो । पहिरोले सडकमार्ग बन्द हुनुका साथै गत माघ १५ गतेदेखि कोरोनाका कारण रसुवागढी नाका बन्द भएका कारण धेरै नमुना परीक्षण हुन नसेकको कार्यालयले जनाएको छ । गत आवको माघ ७ गतेसम्म सो कार्यालयले नमूना परीक्षण गरेको थियो । त्यसपछि भने कार्यालयले नमुना परीक्षण गरेको छैन ।
विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण नाका बन्द भएपछि त्यसयता नमुना नआएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख अतिस घिमिरेका अनुसार खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि नमुना परीक्षण केही महिना हुन सकेको थिएन । गत कार्तिकपछि मात्र नमुना आउने क्रम बढेको थियो । चीनबाट आउने प्रमुख सामग्रीहरूमा चकलेट, पिठो, बिस्कुट, सोया सस, भिनेगर, अचार, जुस पाउडर, कुखुरा पाउडर, कफी, थुप्पा, चियापति, एमएसजी, ओखर, चामल, टिमुर, चिकेन ब्रोथ क्युब, मसरुम सुप, धुलो खुर्सानी, मसला, छयाङ्ग, क्वाचीलगायत रहेका छन् ।
मा प्रकाशित