प्यारामाउन्ट र वार्नर ब्रदर्स गाभिने ११० अर्ब डलरको सम्झौता अदालतको आदेशपछि स्थगित – Kanika Khabar
Sunday, July 26Nepali News Portal

प्यारामाउन्ट र वार्नर ब्रदर्स गाभिने ११० अर्ब डलरको सम्झौता अदालतको आदेशपछि स्थगित

    मा प्रकाशित

काठमाडौँ । अमेरिकी मनोरञ्जन कम्पनी प्यारामाउन्ट स्काइडान्स र वार्नर ब्रदर्स डिस्कभरीबीच प्रस्तावित ११० अर्ब अमेरिकी डलरको मर्जर सम्झौता अदालतमा परेको कानुनी चुनौतीका कारण सन् २०२७ को जुनसम्म स्थगित गरिएको छ ।

अमेरिकाका १२ राज्य र राइटर्स गिल्ड अफ अमेरिकाले यो सम्झौताविरुद्ध मुद्दा दायर गर्दै दुई ठूला कम्पनी गाभिए प्रतिस्पर्धा घट्ने, उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने र मनोरञ्जन उद्योगमा एकाधिकार बढ्ने दाबी गरेका छन् । यसअघि युरोपेली नियामक निकायले भने केही सर्तसहित सम्झौतालाई स्वीकृति दिएको थियो ।

सम्झौता स्थगित भएसँगै अमेरिकामा हुने भनिएका आकस्मिक अदालत सुनुवाइ पनि रद्द भएका छन् । अब दुवै पक्षले जुलाई ३१ भित्र मुख्य सुनुवाइको कार्यतालिका अदालतमा पेश गर्नुपर्नेछ ।

प्यारामाउन्ट र वार्नर ब्रदर्सले भने डिजिटल चलचित्र प्रसारण सेवा र प्रविधि कम्पनीसँग प्रतिस्पर्धा गर्न दुवै कम्पनीको एकीकरण आवश्यक रहेको बताएका छन् । प्यारामाउन्टले अदालतमा प्रमाणका आधारमा आफ्नो पक्ष पुष्टि गर्ने अवसर पाएको भन्दै यसलाई सकारात्मक कदमको रूपमा लिएको छ ।

यता राज्य सरकारहरू र हलिउडका श्रमिक संगठनहरूले भने गाभिएपछि एउटै कम्पनीको अत्यधिक प्रभाव बढ्ने, लेखक तथा प्राविधिकको सौदाबाजी क्षमता कमजोर हुने, नयाँ सिर्जनाका अवसर घट्ने र दर्शकको छनोट सीमित हुने तर्क गरेका छन् । अदालतबाट अन्तिम निर्णय नआएसम्म वा सन् २०२७ जुन १ सम्म दुवै कम्पनी छुट्टाछुट्टै सञ्चालनमा रहनेछन् ।

प्यारामाउन्ट स्काइडान्स र वार्नर ब्रदर्स डिस्कभरीबीच २०२६ को फेब्रुअरी २७ मा मर्जर सहमति भएको थियो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्