काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामा राख्नुको कारण सोधेको छ ।
बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले खड्कालाई थुनामा राख्नुको कारणसहित लिखित जवाफ समेत पेश गर्न भोलीसम्मको समय दिएको हो । सर्वोच्चले खड्कालाई राजश्व अनुसन्धान विभागको अनुरोधमा ललितपुर जिल्ला अदालतले म्याद थप गरेको भन्ने कागज अप्रमाणित देखिएको र अदालतमा महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गरिएको उक्त पत्र आधिकारिक पुष्टि नभएकोले सो सम्बन्धी सम्पू्र्ण कागज विहिबार पेश गर्न आदेश दिएको हो ।
राजश्व अनुसन्धान विभागको अनुरोधमा ललितपुर जिल्ला अदालतले थुनामा राख्न म्याद थप गरेको हो भने त्यससम्बन्धी सबै मिसिल म्याद थप गर्दा तयार गरिएको पर्चासहितका कागजात पेश गर्न आदेश दिएको छ ।
खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।


