कनिका संवाददाता
बैशाख २१, दाङ ।
नेपालगञ्जमा तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ । बैशाख १९ गते मस्जिद र मदरसा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने ६० वर्षिय व्यक्तिलाई संक्रमण भएको पुष्टि भएको थियो । नेपालगञ्जको वडा नम्बर ७ डीएसपी रोडनिवासि उनि हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिद पुग्थे । समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे ।
आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
आइतबार कोभिड–संक्रमण पुष्टि भएका मध्ये ८ पुरुष र ७ महिला छन् र, उनीहरु ७ देखि ६० वर्षसम्मका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।
अहिले डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ । साथै संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको प्रशासनले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । तीमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।