आज दिनभरका प्रमुख २० समाचार बुलेटिन – Kanika Khabar
Friday, May 8Nepali News Portal

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    मा प्रकाशित

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानन्यायाधीशमा न्यायाधीश डा.मनोजकुमार शर्मालाई सिफारिश गरिएको छ । विहिबार बसेको संबैधानिक परिषदको बैठकले न्यायाधीश डा.मनोजकुमार शर्मा ३२औं प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । प्रधानन्यायाधीशका लागि यसअघि न्याय परिषदले न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेका मध्येबाट एकजनालाई प्रधानन्यायाधीशका लागि चयन गर्ने संवैधानिक व्यवस्था छ । परिषदको निर्णयपछि उक्त नाम संसदीय सुनुवाइ प्रक्रियामा जान्छ र समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ति हुने कानुनी व्यवस्था रहेको छ ।

२- नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्त गर्न बनेको सिफारिस समितिका संयोजक गुणाकर भट्टले राजीनामा दिएका हुन् । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहेका भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवन कुमार दाहाल सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति बनाएको थियो । सेबोनको अध्यक्षका प्राप्त ४७ जनाको आवेदनमा भट्टका दाइँले पनि आवेदन दिएपछि सिफारिस समितिबाट उनले राजीनामा दिएको बताइएको छ । नाताले दाइँ पर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले पनि आवेदन दिएपछि नैतिकताको आधारमा राजीनामा आएको बुझिएको छ ।  भट्टको राजीनामासँगै सेबोनको अध्यक्ष छनौटको प्रक्रिया केहि समयका लागि अवरुद्ध भएको छ । अब सरकारले सिफारिस समितिको संयोजक नियुक्त गरेपछि मात्रै सेबोनको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ ।

३- फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका ५ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दी लेकहाउस नजिकै फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका भारतीय नागरिकको सशस्त्रले विहिबार उद्धार गरेको हो । फेवातालमा काठको बोटमा सवार उनीहरु फसेको भन्ने खवर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनिहरुको सकुशल उद्धार गरेको सशत्रले जनाएको छ ।

४- नेपाल ए ले स्कटल्याण्डलाई पराजित गरेको छ । माथिल्लो मुलपानी मैदानमा विहिबार सम्पन्न खेलमा नेपाल ए ले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको हो । नेपाल ए ले दिएको २७८ रनको लक्ष्य पछाएको स्कटल्याण्डले ४८.२ ओभरमा अल आउट हुदै २३२ रन मात्र बनाएको थियो । यस अघि नेपालले पहिला ब्याटिंग गर्दै देव खनालको सर्बाधिक ६३, मयन यादवको ४५, सन्दीप जोराको ३४ र पवन सराफको ३१ रनको मद्धतले ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनाएको थियो । अब नेपाल ए ले अर्को खेल शुक्रबार अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

५- सरकारले देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूको नेतृत्व चयनमा अब पूर्ण रूपमा योग्यता (मेरिट) प्रणाली लागू गर्ने भएको छ । खुल्ला प्रतिस्पर्धा र ‘मेरिट’ का आधारमा मात्रै सक्षम नेतृत्व चयन गर्ने सरकारको स्पष्ट नीति र निर्देशन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालै जारी गरिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्थाको अध्यादेशका कारण यी स्वास्थ्य निकायहरू नेतृत्वविहीन बन्न पुगेका थिए । नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा कुनै पनि अवरोध नआओस् भन्नका लागि मात्र मन्त्रालयले तत्काललाई ’निमित्त’ प्रमुखहरूको नियुक्ति गरेको हो । मन्त्रालयका अनुसार निमित्त नियुक्ति केवल अत्यावश्यक काम नरोक्न गरिएको अल्पकालीन व्यवस्था मात्र हो । सरकार स्वास्थ्य क्षेत्रको सुधार र योग्य नेतृत्व चयनमा सम्झौता नगर्ने दिशामा अघि बढेको छ । त्यसैले, छिट्टै नै खुल्ला प्रतिस्पर्धा आह्वान गरी मेरिटका आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र पारिएको छ । पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि मन्त्रालयले निम्न पदाधिकारीहरूलाई संस्थाको कार्यवाहक जिम्मेवारी तोकेको छ । अल्पकालीन जिम्मेवारी पाउने निमित्त निर्देशक-प्रमुखहरूमा वीर अस्पतालको निमित्त निर्देशकमा प्रा. डा. प्रभा कोईराला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्र विक्रम गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. विनम्र विष्ट, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)मा सह–प्रा.डा. इन्द्र लिम्बु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ) मा सह–प्रा.डा. सुरेश रसाइली, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर) मा  डा. उमेश नेपाल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सह–प्रा.डा. रविन्द्रभक्त तिमला र  स्वास्थ्य बिमा बोर्डमा शकुन्तला प्रजापति रहेका छन् ।

६- भारतले लिपुलेक बारे आफ्नो अडान दोहोराएको छ । विहिबार साप्ताहिक प्रेस ब्रिफिङका क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेकको विषय नयाँ नभएको बताउदै यस क्षेत्रबाट सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको र यस मार्गबाट यात्रा दशकौँदेखि निरन्तर सञ्चालनमा रहेको दोहोराएका हुन् । लिपुलेकको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले आइतबार नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको विषयमा भारत र चीनलाई विरोध पत्र पठाएपछि यसअघि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति मार्फत एकतर्फी रूपमा सीमाक्षेत्र विस्तार गर्ने प्रयास स्वीकार्य नहुने बताउदै नेपालसँग द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक संवाद गर्न तयार रहेको जनाएको थियो ।

७- नारायणगढ- मुग्लिङ सडक खण्डको तुईन खोला नजिक गुडिरहेको कारमा आगलागी भएको छ । आगलागीपछि प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । सिमसिम पानी परिरहेको अवस्थामा गुडिरहेको कारमा भएको आगलागी बारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

८- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिई ठूलो आर्थिक अनियमितता र भ्रष्टाचार भएको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित १३ जना र ठेकेदार कम्पनविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनीबीच भएको खरिद सम्झौतामा कर, महसुल तथा अन्य शुल्कहरू ठेकेदार कम्पनीले नै नेपाल कानुनअनुसार तिर्नुपर्ने स्पष्ट प्रावधान रहेकोमा सो प्रावधान विपरीत कर छुट दिने व्यवस्था राखी अलग्गै कार्यान्वयन सम्झौता गरिएको पाइएको अख्तियारको ठहर छ। सोही सम्झौताका आधारमा करसहितको रकम ठेकेदार कम्पनीलाई भुक्तानी दिइए पनि सो रकममा समावेश कर तथा महसुल राज्य कोषमा दाखिला नगरिएको र ठेकेदार कम्पनीलाई दोहोरो फाइदा पुगेको अनुसन्धानले देखाएको छ। यसरी कर छुटको नाममा ठेकेदार कम्पनीलाई अतिरिक्त सुविधा दिई नेपाल सरकारले ऋणमार्फत प्राप्त गरेको सार्वजनिक सम्पत्तिबाट करिब ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरिएको दाबी गरिएको छ । अनुसन्धानपछि सोही कार्यमा संलग्न रहेको भन्दै तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवहरू सुरेश आचार्य र डण्डुराज घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम पनि प्रतिवादी बनेका छन् । त्यस्तै राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, मन्त्रालयका इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका उपसचिव युगराज पाण्डे र शाखा अधिकृत उर्मिला भण्डारी समेत आरोपपत्रमा समावेश छन् ।

९- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेर रोकिएको छ । आज ३३४ कम्पनिका ६६ लाख ८४ हजार ७ कित्ता शेयर २ अर्ब ९३ करोड १९ लाख ६८   हजार ८७७ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, उत्पादन, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी स्वाभलम्बन लघुवित्तको शेयरमा १२.१९ प्रतिशतले बढेको छ भने आज सबै भन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयर १३.२४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्राको १७ करोड ६८ लाखको कारोबार भएको छ भने नेशनल हाइड्रोको १४ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

१०- पूर्वमन्त्री एवम रास्वपा सांसद जगदीश खरेलले आफूमाथि मिडिया ट्रयाल भएको बताएका छन् । सामाजिक सञ्जाल र मिडियामा स्मार्ट टेलिकममा ३० अर्ब ठगि प्रकरणमा उनको नाम जोडेर  समाचार आएपछि उनले लेख्दै आफूमाथि मिडिया ट्रयाल भएको बताएका हुन् । उनले आफ्नो विरुद्ध नियोजित रुपमा फेक न्यूज फैलाइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । उनले भनेका छन्- ‘अहिले ममाथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला । अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ ।’ उनले आफ्नो इमान नै गन्तब्यको लागि प्रयाप्त रहेको भन्दै यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोच्न आग्रह गर्दै कानुनी उपचार खोज्ने बताएका छन् ।

११-  इरानले आफ्नो आणविक कार्यक्रमका विषयमा कुनै पनि वार्ता नगर्ने स्पष्ट संकेत दिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका पूर्व कमान्डर मोहसिन रेजाईले इरानले आफ्नो परमाणु कार्यक्रमबारे कसैसँग पनि वार्ता नगर्ने बताएका हुन् । उनले होर्मुज जलडमरूमध्यको नियन्त्रण इरानकै हातमा रहनुपर्नेमा जोड दिएका छन् । इरानी सरकारी समाचार एजेन्सीका अनुसार रेजाईले होर्मुज जलडमरूमध्यको नियन्त्रण इरानको हातबाट बाहिर गएमा शत्रुहरूले फेरि त्यसलाई इरान र इरानी जनताविरुद्ध हतियारका रूपमा प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । उनले क्षेत्रीय सुरक्षाको जिम्मा क्षेत्रकै देशहरूले लिनुपर्ने इरानको नीति रहेको उल्लेख गर्दै अमेरिका वा युरोपेली शक्तिहरूजस्ता बाह्य शक्तिहरूले यो क्षेत्र छाड्नुपर्ने बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध रोक्ने र परमाणु कार्यक्रमसँग सम्बन्धित सम्झौतामा पुग्ने अवस्था निकै नजिक पुगेको दाबी गरेका छन् । उनले वार्ता असफल भए फेरि बमबारी सुरु हुन सक्ने चेतावनीसमेत दिएका छन् । यसअघि इरानले ४८ घण्टाभित्र युद्धविरामका विषयमा सहमति जनाउन सक्ने रिपोर्ट सार्वजनिक गरिएको थियो । तर इरानले यसबारे कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले सम्झौता नजिक पुगेको भन्ने समाचारलाई बढाइचढाइ गरिएको बताएका छन् । उनले प्रस्तावबारे इरानले अझै औपचारिक जवाफ नदिएको तर पाकिस्तान मार्फत संवाद जारी रहेको जानकारी दिएका छन् । इरानी सञ्चारमाध्यमहरूले अमेरिकी प्रस्तावमा स्वीकार गर्न नसकिने केही सर्तहरू रहेको बताएका छन् । तर ती सर्तहरू के हुन् भन्ने खुलाइएको छैन । इरानी संसदको विदेश मामिला समितिका प्रवक्ता इब्राहिम रेजईले उक्त प्रस्तावलाई ‘अमेरिकाको इच्छासूची’ को संज्ञा दिएका छन् ।

१२- यस बर्षको एसइईको नतिजा बैशाख २९ गते भित्र सार्बजनिक गर्ने तयारी गरेको छ । गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन अनुसार अहिले अन्तिम चरणको काम भइरहेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन् । उनले हाल ३०-३५ कर्मचारीबाट टेबुलेसनको काम भइरहेको जानकारी दिदै सरकारले दिएको डेडलाइन बैशाख २९ भित्रनै नतिजा प्रकाशित हुने बताएका छन् । यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।

१३- अटलान्टिक महासागरमा सञ्चालनमा रहेको एक क्रुज जहाजमा मुसाबाट सर्ने हन्ताभाइरस संक्रमण फैलिएको आशंकापछि तीन जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना बिरामी परेका छन् । विश्व स्वास्थ्य संगठन र दक्षिण अफ्रिका स्वास्थ्य विभागले यस घटनाको पुष्टि गरेपछि हान्ता भाइरस बारे नयाँ चर्चा शुरु भएको छ । संक्रमण देखिएको एमभी होन्डियस नामक जहाजलाई हाल प्रायामा रोकिएको छ । संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै यात्रुहरूलाई जहाजबाट ओर्लिन अनुमति दिइएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार जहाजमा रहेका ६ जनामा संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । तीमध्ये एक जनामा प्रयोगशाला परीक्षणमार्फत संक्रमण पुष्टि भइसकेको छ । एक बिरामी दक्षिण अफ्रिकाको अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन् भने अन्य दुई जनालाई जहाजबाट बाहिर निकाल्ने तयारी भइरहेको बताइएको छ । हालसम्म सबै बिरामी वास्तवमै हन्ता भाइरसबाट संक्रमित हुन् वा होइनन् भन्ने स्पष्ट भइसकेको छैन । संक्रमण कहाँबाट र कसरी फैलियो भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ । नेदरल्यान्ड्सको झण्डा बोकेको उक्त जहाज मार्च २० मा उशुआइयाबाट यात्रा सुरु गरेको थियो । त्यसपछि जहाज दक्षिणी ध्रुव आसपासका क्षेत्रमा पुगेको र अटलान्टिक महासागर पार गर्दै युरोपतर्फ अघि बढिरहेको थियो । यसको अन्तिम गन्तव्य क्यानरी द्वीप तय गरिएको थियो । जहाजमा १७० यात्रु र ७१ चालकदल सदस्य रहेका छन् । जहाजमै रहेका ७० वर्षीय एक पुरुषको पहिलो मृत्यु भएको थियो । उनी आफ्नी श्रीमतीसँग यात्रामा थिए । पछि उनको शव दक्षिण अटलान्टिकस्थित सेन्ट हेलेनामा झारिएको थियो । उनकी श्रीमती दक्षिण अफ्रिका पुगेपछि आफ्नो देश नेदरल्यान्ड्स फर्किने तयारीमा थिइन् । तर विमानस्थलमै उनको स्वास्थ्य अचानक बिग्रिएको र बेहोस भएपछि अस्पतालमा मृत्यु भएको बताइएको छ । क्रुज सञ्चालन गर्ने ओशनवाइड एक्सपेडिसन्सले तेस्रो मृतकको शव अझै जहाजमै रहेको जनाएको छ । विशेषज्ञहरूका अनुसार संक्रमणको स्रोत अझै स्पष्ट छैन । जहाज यात्रा सुरु भएको अर्जेन्टिनाको क्षेत्रमा हन्ताभाइरसको कुनै घटना दर्ता नभएको र जहाज भाइरस धेरै फैलिने क्षेत्रमा पनि नगएको बताइएको छ । त्यसैले संक्रमण जहाजभित्रै फैलिएको हुनसक्ने अनुमान गरिएको छ । हन्ताभाइरस मुसा वा गिलहरीजस्ता जनावरको सम्पर्कबाट मानिसमा सर्ने गर्छ । सेन्टर फर डिजिज कन्ट्रोल का अनुसार संक्रमित मुसाको पिसाब, दिसा वा र्‍यालको सम्पर्कमा आएपछि मानिस संक्रमित हुन्छन् । यसले पल्मोनरी सिन्ड्रोम नामक गम्भीर श्वासप्रश्वाससम्बन्धी रोग गराउन सक्छ । सन् १९९३ मा पहिलोपटक अमेरिकामा हन्ताभाइरस पहिचान गरिएको थियो । त्यसबेला एक दम्पतीको संक्रमणका कारण मृत्यु भएको थियो । त्यसपछि केही महिनामै ६ सयभन्दा बढी मानिसको ज्यान गएको थियो । विशेषज्ञहरूका अनुसार हन्ता भाइरस तीन तरिकाबाट फैलिन सक्छ । संक्रमित मुसाले टोकेमा, मुसाको पिसाब वा दिसा लागेको वस्तु छोएर नाक वा मुखमा हात लगाएमा तथा मुसाको र्‍याल वा दिसा लागेको खाना खाएमा संक्रमण हुन सक्छ । वैज्ञानिकहरूका अनुसार यो भाइरस हावाबाट नफैलिने भए पनि मृत्यु जोखिमका हिसाबले कोरोना भाइरसभन्दा बढी खतरनाक मानिन्छ । यसको कुनै निश्चित औषधि वा खोप उपलब्ध छैन । बिरामीको लक्षणअनुसार मात्रै उपचार गरिन्छ । गम्भीर बिरामीलाई अक्सिजन वा भेन्टिलेटरको सहारा दिनुपर्ने अवस्था आउन सक्छ । यस रोगबाट संक्रमितमध्ये करिब ३८ प्रतिशतको मृत्यु हुने गरेको बताइएको छ । वृद्ध वा कमजोर स्वास्थ्य भएका व्यक्तिमा जोखिम अझ बढी हुन्छ । वैज्ञानिकहरूले हालसम्म हन्ताभाइरसका पाँच प्रकार फेला पारेका छन् । तीमध्ये अराराक्वारा भाइरस सबैभन्दा घातक मानिन्छ, जसको मृत्यु दर ५४ प्रतिशतसम्म रहेको छ । त्यस्तै सिन नोम्ब्रे भाइरसमा ४० प्रतिशत र हन्तान भाइरसमा ५ देखि १० प्रतिशतसम्म मृत्यु दर रहेको बताइएको छ । रोग गम्भीर बनेमा ७ देखि १० दिनभित्र बिरामीको मृत्यु हुन सक्ने चिकित्सकहरूले बताएका छन् । गत वर्ष अमेरिकी अभिनेता जिन ह्याकम्यानकी पत्नी बेट्सी अराकावाको पनि यही संक्रमणका कारण मृत्यु भएको चर्चा भएको थियो । दुवै जना फेब्रुअरी २६ मा अमेरिकाको सान्टा फे स्थित आफ्नै घरमा मृत भेटिएका थिए । घर वरपर मुसाका चिन्हसमेत फेला परेको थियो । पछि ९५ वर्षीय ह्याकम्यानको मृत्यु मुटुरोगका कारण भएको पुष्टि भएको थियो भने अराकावाको शव बाथरूममा भेटिएको थियो । मृत्यु हुनुअघि उनले फ्लूजस्ता लक्षण, श्वासप्रश्वास समस्या र कोभिडजस्ता रोगबारे इन्टरनेटमा जानकारी खोजिरहेको विवरण सार्वजनिक भएको थियो । अमेरिकामा सन् १९९३ देखि २०२३ सम्म हन्ताभाइरसका केवल ८९० वटा घटना मात्रै दर्ता भएका छन् । तीमध्ये धेरैजसो घटना न्यु मेक्सिको मा भेटिएका थिए ।

१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १८ सयले बढेर तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९६ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ५१५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५०५५ मा कारोबार भएको थियो ।

१५- नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले पहिले राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयता खारेजको विषय उठाउने गरेको उल्लेख गर्दै अब संविधान संशोधन गर्ने कि नगर्ने भन्ने विषयमा स्पष्ट निर्णय आवश्यक रहेको बताएका हुन् । उनले संविधान संशोधन गर्ने हो भने केन्द्र र पालिका मात्रै रहने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ । बास्कोटाले राष्ट्रिय सभालाई १०५ सिटको बनाउनुपर्ने तथा पूर्ण समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै महिला र पुरुषको सहभागिता ५०-५० प्रतिशत हुनुपर्ने प्रस्तव गरेका छन् । त्यस्तै उनले उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । त्यस्तै, प्रतिनिधिसभातर्फ समानुपातिक सिट खारेज गर्नुपर्ने र प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला–पुरुषको प्रतिनिधित्व ४०–६० प्रतिशत कायम गर्नुपर्ने प्रस्ताव राख्दै उनले जिल्ला समन्वय समिति आवश्यक नरहेको भन्दै त्यसलाई हटाउनुपर्ने उनले प्रस्ताव गरेका छन् ।

१६- अमेरिका र इरान युद्ध अन्त्य तथा आणविक वार्ताको नयाँ बाटो तय गर्ने सहमति हुने सम्भावना बढेको छ । रिपोर्टका अनुसार दुवै देशबीच १४ बुँदे समझदारीपत्र तयार गरिएको छ । यद्यपि यो अझै अन्तिम रूपमै पुगिसकेको छैन । तर पछिल्ला चरणमा वार्ता पहिलेभन्दा धेरै अगाडि बढेको दाबी गरिएको छ । जस अनुसार सबैभन्दा पहिले युद्ध अन्त्यको घोषणा गरिनेछ । त्यसपछि ३० दिनसम्म विस्तृत वार्ता सञ्चालन हुनेछ । वार्तामा होर्मुज जलडमरूमध्य, इरानको आणविक कार्यक्रम तथा अमेरिकाले लगाएका प्रतिबन्ध खुकुलो बनाउने विषय मुख्य एजेन्डा रहनेछन् । दुवै देशबीच प्रत्यक्ष वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबाद वा स्विट्जरल्यान्डको जेनेभाजस्ता शहरबारे छलफल भइरहेको जनाइएको छ । मस्यौदाअनुसार इरानले केही समयका लागि आफ्नो आणविक कार्यक्रम स्थगित गर्ने र त्यसको बदलामा अमेरिकाले चरणबद्ध रूपमा प्रतिबन्ध हटाउने तथा रोक्का गरिएका इरानी अर्बौँ डलर फुकुवा गर्न सक्ने उल्लेख छ । साथै होर्मुज क्षेत्रमा दुवै पक्षले लगाएका केही प्रतिबन्धमा पनि सहजीकरण गरिने बताइएको छ । तर सम्झौतामा सबैभन्दा ठूलो विवाद आणविक कार्यक्रम रोक्ने अवधिलाई लिएर देखिएको छ । इरानले ५ वर्षको प्रस्ताव अघि सारेको छ भने अमेरिकाले सुरुमा २० वर्षको माग गरेको छ । अहिले दुवै पक्षबीच १२ देखि १५ वर्षसम्मको अवधिमा सहमति खोज्ने प्रयास भइरहेको जनाइएको छ । इरान र अमेरिकालाई आ-आफ्नै देशमा युद्ध रोक्न र सहमतिमा आउने दबाब बढेको अवस्थामा सहमतिको प्रयास भइरहेको छ । अमेरिकी राष्ट्रपति आफ्नै देशमा युद्ध रोक्ने दबाबको सामना गरिरहेका छन् भने इरान पनि युद्धके ठुलो क्षति भएका कारण अब युद्ध भन्दा पुनर्निर्माणमा लाग्नुपर्ने दबाबमा छ ।

१७- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ ।  समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ । साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथासिग्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ । समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी , गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठुला ऋणीको नाममा सार्वजनिक गरेको हो ।

१८- बलिवुड अभिनेता संजय दत्त र अभिनेत्री नोरा फतेहीलाई भारतको महिला आयोगले स्पष्टीकरण सोधेको छ । केहि साता अघि रिलिज भएको फिल्म केडी द डेभिलको ‘सरके चुनर’ गीतको विवादका कारण दुवैलाई महिला आयोगले स्पष्टीकरण लिएको हो । संजय दत्तपछि विवादित गीतका विषयमा स्पष्टीकरण दिन नोरा फतेही राष्ट्रिय महिला आयोगसमक्ष उपस्थित भएकी छन् ।  चलचित्र केडी: द डेभिल को गीत ‘सरके चुनर’ सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो । त्यसपछि राष्ट्रिय महिला आयोगले नोरा फतेहीलाई उपस्थित हुन निर्देशन दिएको थियो । आयोगसमक्ष आफ्नो भनाइ राख्दै नोरा फतेहीले आफू कसैको भावनामा चोट पुर्‍याउने उद्देश्यमा नरहेको बताएकी छन् । उनले कलाकारको हैसियतले आफ्नो जिम्मेवारी स्वीकार गर्दै माफी मागेकी छन् । उनले समाजबाट पाएको माया फर्काउनु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै केही अनाथ बालिकाको शिक्षाको खर्च व्यहोर्ने निर्णय गरिएको जानकारी पनि दिएकी छन् । यसअघि राष्ट्रिय महिला आयोगले सञ्जय दत्तलाई पनि उपस्थित हुन निर्देशन दिएको थियो । अप्रिल २७ मा भएको उपस्थितिका क्रममा उनले गीतलाई लिएर माफी मागेका थिए । साथै सामाजिक कल्याण र महिला सशक्तीकरणका लागि ५० जना आदिवासी बालिकाको शिक्षाको खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि आयोगले उनलाई राहत दिएको थियो । गीत सार्वजनिक भएलगत्तै यसको आलोचना सुरु भएको थियो । त्यसपछि सूचना तथा प्रसारण मन्त्रालय ले उक्त गीतमाथि प्रतिबन्ध लगाएको थियो । गीतमा देखाइएको भल्गर सिन, विवादित शब्दको चौतर्फी विरोध र भारतका विभिन्न स्थानमा एफआइआर हुन थालेपछि गीतलाई हटाइएको थियो ।

१९- सनराइजर्स हैदरावादले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई ३३ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २३६ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन बनाएपछि खेल ३३ रनले हारेको थियो । पञ्जावका लागि कूपर कोन्नोलीले १०७ रनको शतकीय पारी खेलेका थिए भने मार्कस स्टोइनिसले २८ रन बनाएका थिए ।त्यस्तै सनराइजर्सका बलर पाट कमिन्स र शिभांग कुमारले २-२ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ४ विकेट गुमाउदै २३५ रन बनाएको थियो । सनराइजर्सका लागि हेइनरिच क्लासेनले सर्बाधिक ६९ रन बनाए भने इशान किशनले ५५, ट्राभिस हेडले ३८, अभिषेक शर्माले ३५ र नितिश कुमार रेड्डीले २९ रन बनाएका थिए । यो जितपछि सनराइजर्स हैदरावाद ११ खेलमा १४ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जावको १० खेलमा १३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । जारी आइपिएलमा आज लखनउ सुपर जाइन्ट र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ ।

२०- पिएसजी यस सीजनको च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा ६-५ गोलको नतिजा सहित पिएसजी फाइनलमा पुगेको हो । यस खेलमा खेलको तेस्रो मिनेटमा नै ओसमान डेम्बेलेले गोल गर्दै पिएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए भने ह्यारी केनले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेपनि बायर्नका लागि त्यो पर्याप्त भएन । पहिलो लिगमा पिएसजीले पाएको ५-४ को अग्रताका आधारमा समग्रमा ६-५ ले विजयी भयो र लगातार दोस्रो पटक पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको पिएसजी अब उपाधिका लागि मे ३० मा आर्सनलसँग भिड्ने छ । फाइनल खेल हंगेरीको बुडापेस्टमा हुने तालिका रहेको छ । पिएसजी समग्रमा तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । यसअघि २०२० मा फाइनलमा पराजित भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्