गोविन्द खड्का/घोराही ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक शिवहरि मरहट्टाद्वारा लिखित दाङमहिमा (काव्य संग्रह) आइतबार घोराहीमा विमोचन भएको छ । पुस्तकको विमोचन गर्दै प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले साहित्य मार्फत दाङको महिमा लेखेर मरहट्टाले दङालीलाई ठूलो गुन लगाउनुभएको बताउँदै लेखकको साहित्यिक उन्नयनको कामना गर्नुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयको दुर्दशाप्रति चिन्ता व्यक्त गर्दै शर्माले युरोपियन मुलुकहरुले संस्कृतको महत्व बुझे पनि यहाँ नेसंविको सदुपयोग हुन नसकेको बताउनुभयो । ‘दाङको विकासमा सबैले सोचौं, मरहट्टाजीले हामीलाई घच्घच्याउनु भएको छ । प्रेरणा दिनुभएको छ’– शर्माले भन्नुभयो ।
सद्भावको भारी बोकाउनुभएको छ भन्दै लेखक प्रा मरहट्टाले खुशी व्यक्त गर्नुभएको थियो । ‘विश्वविद्यालयमा बसेर दाङको अकल्याण हुने काम गरेको छैन’– उहाँले भन्नुभयो– ‘दुई पैसाको लोभलालच गरी भ्रष्टाचार गरेको छैन । सकेसम्म सदुपयोग हुनुपर्छ भनें ।’ उहाँले काठमाडांै बस्दा भत्ता कहिल्यै नलिएको बताउनुभयो । सबैका हात–हातमा पुग्ने सामग्री लगे हुन्थ्यो भनेर कोसेली पुस्तक लिएर आज ११ वर्षपछि दाङ आएको बताउँदै यहाँको साहित्यिक संस्थाको एकताको प्रशंसा गर्नुभयो ।
‘दाङमहिमा’ को समीक्षा गर्दै प्रा. केशव सुवेदीले लेखनको पृष्ठभूमि र विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो । पुस्तकका लेखक मरहट्टाले केही समय सहायक डीन, पहिलो पटक एक वर्ष आठ महिना उपकुलपति र दोस्रो पटक उपकुलपतिको चार वर्षे कार्यकाल पूरा गर्नुभएको थियो । यो समयमा लेखकले ‘दाङ महिमा’ लेखनको कच्चापदार्थ प्राप्त गर्नुभएको उल्लेख गर्दै समीक्षक सुवेदीले दाङमै यसको लोकार्पण हुनु खुशीको कुरा हो भन्नुभयो । दाङ खाएर जानेहरु धेरै भए तर उहाँले दाङको महिमा गाउनुभयो भन्दै समीक्षक सुवेदीले दाङलाई अन्तर्वस्तु बनाएर लेखिएको विस्तारित काव्य पाठकसामु आएको बताउनुभयो । अर्का समीक्षक उपप्राध्यापक किशोरचन्द्र गौतमले यो काव्य कवितासंग्रह भएको र दाङको महिमा सबैभन्दा लामो भएकोले दाङमहिमाको सार्थकता आंैल्याउनुभयो ।
सो अवसरमा प्राध्यापक जगत प्रसाद उपाध्याय, प्रा. माधव अधिकारी, सेवा आयोगका पूर्वअध्यक्षहरु प्राडा भागवतप्रसाद शर्मा, प्रा. लेखनाथ आचार्य, प्रा. श्रीधर मजगैयाँ, निर्देशक डा. टीकाराम उदासी, प्राडा सुदनकुमार पौडेल, परीक्षा नियन्त्रक मुरलीधर दाहाल, पूर्वप्रशासक दिलीप भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैगरी राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, पूर्वराज्यमन्त्री सुषमा शर्मा घिमिरे, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नागरिक समाजका सचिव नारायणप्रसाद श्रेष्ठ, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, नेपाली लेखक संघका अध्यक्ष डा. हिमलाल पन्थी, तुलसीपुर साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सर्वोदय पुस्तकालय तथा वाचनालयका कावा अध्यक्ष चन्द्रराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राप्ती साहित्य परिषद्का केन्द्रीय कावा अध्यक्ष दीपक शर्मा समिरले व्यक्त गर्नुभएको थियो । सर्वोदय पुस्तकालय तथा वाचनालय र राप्ती साहित्य परिषद् केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रमको सञ्चालन परिषद्का केन्द्रीय महासचिव आदिम केसी र दाङ शाखा अध्यक्ष यम रेग्मीले गर्नुभएको थियो ।


