दाङ,२९ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनको नाममा देशलाई प्रतिगमनतर्फ फर्काउने खेल भइरहेको बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले मंगलवार घोराहीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र संविधान संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले संविधान संशोधनको नाममा नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको गणतन्त्र मासेर देशलाई निरंकुश राजतन्त्रतर्फ फर्काउने खेल भइरहेको बताएका हुन ।
‘लोकतान्त्रिक व्यवस्थालाई खत्तम पारेर फेरि देशलाई प्रतिगमनको बाटोमा लैजान रास्वपा लागेको छ। त्यो बुझेर वा नबुझेर ठूला पार्टीहरू बोल्न सकेका छैनन्’, उनले भने,‘लोकतान्त्रिक संसदीय व्यवस्थामा मन नपरेको कुरामा बोल्न र लेख्न पाएका छौँ। तर अहिले बहुमत जितेर संसद पुगेकाहरू नागरिकलाई विरोध गर्नै नदिने गरी अघि बढ्दैछन्।’ उनले संविधानमा लिपिबद्ध जनआन्दोलनका उपलब्धि सिध्याउने खेल भइरहेको आरोप लगाएका थिए ।
‘गणतन्त्र सिध्याउने र धर्मनिरपेक्षता सिध्याउने षड्यन्त्र भइरहेको छ। त्यसबारे ठूला पार्टीहरूले मुख खोल्नुपथ्र्यो। सरकारले बनाएको कथित संविधान संशोधन समितिमा गएर भण्डाफोर गर्नुपर्दथ्यो’, उनले भने,‘जनताका बिचमा गएर ६० वर्षसम्म जनताले लडेर ल्याएको संविधानलाई ध्वस्त पार्न लागिरहेका छन् प्रतिगामीहरूले। जनता सजग र सतर्क हुनुपर्छ भन्नुपथ्र्यो। खोलामा पस्ने, खुट्टा कमाउने?’ अहिले कुन दलले कति सिट जित्यो भन्ने विषयभन्दा लोकतन्त्रको रक्षा महत्त्वपूर्ण भएको उनको दाबी थियो । जेनजी आन्दोलनको सन्दर्भ जोड्दै उनले पछिल्लो समयमा विदेशी शक्तिकेन्द्रले देशको राजनीति प्रभावित पारिरहेको बताए ।
‘विदेशीलाई चाहिएर संसद भत्काउनुपर्ने, नेपाली जनतालाई चाहिएर भन्दा पनि। एनजिओलाई चाहिएर संसदको चुनाव गराउनुपर्ने’, उनले भने,‘यो देश त हजारौँ विदेशी एनजिओले चलाएका रहेछन् भन्ने अहिले जूनघामझैँ छर्लंग भयो। यही स्थिति रह्यो भने नेपाल ढिलोचाँडो सिक्किम हुन बेर लाग्दैन।’ उनले ट्रेड युनियन, विद्यार्थी संगठन विघटन गर्ने तर विदेशीलाई युथ काउन्सिल खोल्न दिने सरकारी निर्णय गलत भएको बताएका थिए । ‘विदेशीलाई यहाँ संगठन खोल्न अनुमति दिने, त्यसमा आपत्ति नहुने, अनि नेपाली जनताले ल्याएको संगठन खोल्न पाउने अधिकारमाथि प्रतिबन्ध लगाउने — यो कस्तो काम हो?’ उनको प्रश्न थियो ।
संविधानसभामा रहेर संविधान निर्माणमा सहभागी भएको बताउँदै उनले अहिलेजति राष्ट्रियतामाथि गम्भीर खतरा कहिल्यै नदेखिएको बताए। ‘अहिलेजति नेपाल साम्राज्यवादको कोपभाजन भएको र राष्ट्रमाथि खतरा आएको मैले यो उमेरसम्म महसुस गरेको थिइनँ,’ उनले भने। उनले ठूला दलले एमसिसी पास गरेको तर एसपिपी पारित नगरेकाले देशमा अमेरिकी चलखेल बढेको र सोही क्रममा रास्वपाजस्तो पार्टी जन्मिएको बताए ।
‘ठूला पार्टीहरूले एमसिसी पास गरेजस्तै एसपिपी पनि पास गर्न मानेको भए यहाँ अमेरिकाले घण्टीपार्टी खोल्नुपर्ने कुनै आवश्यकता थिएन। कांग्रेस, एमाले र माओवादीले त्यो पास नगरेकै कारण घण्टीपार्टी खुलेको र यति छिट्टै ठूलो पार्टी बनेको हो,’ उनले भने। राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा एमालेका विकास गौतम, नेकपाका विश्वराज आचार्य,नेकपा क्रान्तिकारी पार्टीका जिल्ला संयोजक इश्वरी गैरे, नेकपा माओवादीका सविन पोख्रेल, नेकपा बहुमतका प्रेम बोहरा, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, अधिवक्ता गोविन्द गौतमले संविधानमा भएका त्रुटिीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताएका थिए । त्यसक्रममा उनीहरुले सासकिय स्वरुप, संघीयलगायतका विषयमा संशोधन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।


