जापानको फुकुओका र गुन्मामा राहदानी तथा कन्सुलर सेवाका लागि घुम्ती शिविर सञ्चालन गरिदै – Kanika Khabar
Thursday, May 21Nepali News Portal

जापानको फुकुओका र गुन्मामा राहदानी तथा कन्सुलर सेवाका लागि घुम्ती शिविर सञ्चालन गरिदै

    मा प्रकाशित

काठमाडौँ । जापानका फुकुओका र गुन्मा क्षेत्रमा नेपाली नागरिकका लागि राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराउन घुम्ती शिविर सञ्चालन गरिने भएको छ । नेपाली राजदूतावास, टोकियोले गैरआवासीय नेपाली संघ जापान तथा क्षेत्रीय समितिहरूसँगको सहकार्यमा उक्त शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।

राजदूतावासका अनुसार क्युसु क्षेत्रको फुकुओकामा आगामी जुन ५, ६ र ७ गते तीन दिनसम्म तथा गुन्मा क्षेत्रमा जुन १४ गते घुम्ती शिविर सञ्चालन हुनेछ । विदेशमा रहेका नेपालीलाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जनाइएको छ ।

शिविरमार्फत विद्युतीय राहदानी नवीकरणका लागि प्रत्यक्ष विवरण दर्ता, बालबालिकाको नयाँ राहदानी आवेदन तथा नवीकरण, यात्रा अनुमति पत्र, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, जन्मदर्तालगायत राजदूतावासबाट प्रदान गरिने सम्पूर्ण कन्सुलर सेवा उपलब्ध गराइने राजदूतावासले जनाएको छ ।

फुकुओका शिविरबाट करिब १५ सय जना तथा गुन्मा शिविरबाट करिब ५ सय जनाले सेवा लिने अपेक्षा गरिएको छ । राजदूतावासले शिविरमार्फत प्राप्त आवेदनका आधारमा तयार भएका राहदानी तथा अन्य कागजात सम्बन्धित सेवाग्राहीकै घर ठेगानामा पठाइने जानकारी पनि दिएको छ ।

यसैबीच, नेपाल सरकार तथा नेपाली राजदूतावासले निर्धारण गरेको राजस्वबाहेक अन्य कुनै पनि रकम कसैलाई नबुझाउन र नलिन राजदूतावासले आग्रह गरेको छ । साथै राजस्व रकम तोकिएको स्थानमा मात्रै बुझाउन समेत अनुरोध गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्