आज दिनभरका प्रमुख २० समाचार बुलेटिन – Kanika Khabar
Sunday, June 7Nepali News Portal

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    मा प्रकाशित

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- परराष्ट्रमन्त्री शिशिर खनालले भारतको आफ्नो औपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् । नेपाल फर्किएपछि मन्त्री खनालले भ्रमण सफल भएको बताउदै भ्रमणका क्रममा भएका छलफल र भेटवार्ता बारे जानकारी दिएका थिए  । यो भ्रमणलाई नेपाल–भारतबीचको लामो समयदेखिको साझेदारी तथा घनिष्ठ सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण भएको उनले बताए । मन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको द्विपक्षीय भेटवार्तामा तीन बुँदे सहमति समेत गरेका थिए  । जस अनुसार पहिलो, नेपाल क्लियरिङ हाउस र भारतको राष्ट्रिय भुक्तानी निगमबीच सन् २०२३ जुनमा भएको समझदारीअनुसार सीमा–पार व्यक्ति–व्यक्ति भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । दोस्रो, भारतको विकास सहयोगमा नेपालमा निर्माण गरिएका भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत स्वास्थ्य क्षेत्रका ७२ वटा र सांस्कृतिक क्षेत्रका १२ वटा परियोजनाहरू नेपाललाई हस्तान्तरण गरिएको छ । तेस्रो, काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कूलअन्तर्गतको डिजिटल सार्वजनिक पूर्वाधार तथा कृत्रिम बुद्धिमत्ता केन्द्र र भारतको डिजिटल इन्डिया भाषिनी डिभिजनबीच समझदारी पत्र आदान–प्रदान गरिएको छ। यसअनुसार ‘भ्वाइस फस्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणमा सहकार्य गरिनेछ । शुक्रबार भारत भ्रमणमा दिल्ली पुगेका मन्त्री खनालले सोही दिन भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग समेत भेटवार्ता गरेका थिए ।

२- अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल(सिभिल अस्पताल, काठमाडौँ)को सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो । काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै स्वास्थ्य सेवा पुर्‍याउन लागिएको सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको भनाई छ ।  मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाशप्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता सुरु भएको छ । पहिलो चरणमा मधेस प्रदेशका लागि नारायणी अस्पताल वीरगन्ज, पर्सा र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनबाट निजामती कर्मचारीले निजामती अस्पताल काठमाडौँबाट पाउने  छुट तथा सहुलियत सहित स्वास्थ्य सेवा पाउने छन् ।  आइतबार मन्त्रालयले दुई अस्पतालसँग सम्झौता गरेसँगै सोमबारबाटै सेवा सुरु हुने छ । सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाशप्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा हुनु पर्ने छ । मधेस र बागमती बाहेक अन्य प्रदेशमा समेत सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय भई सेवा प्रदायक अस्पतालहरूको सूचीकरण समेत भैसकेको छ । आवश्यक तयारी चलिरहेकाले कहिदिनमै सबै प्रदेशबाट निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारीहरूलाई उपलब्ध गराउँदै आएको छुट, सहुलियत सहितको स्वास्थ्य उपचार सेवा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

३- कम्बोडियामा विभिन्न उद्देश्यले गई भिसा अवधि समाप्त भइसकेपछि पनि नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकलाई लक्षित गर्दै नेपाल फर्कन तत्काल आग्रह गरिएको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दुताबासले कम्बोडिया सरकारले यसअघि भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गर्ने व्यवस्था मिलाई उनीहरूलाई नेपाल फर्कन सहजीकरण गरेको उल्लेख गर्दै ईमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा पनि हालसम्म सम्बन्धित व्यक्तिहरूले स्वदेश फर्किने तदारूकता नदेखाएको पाइएको बताएको छ । कम्बोडिया सरकारको नयाँ कानुनी व्यवस्था अनुसार तोकिएको समयमा आफ्नो देश नफर्कने विदेशी नागरिकमाथि अनुसन्धान गरी कसुरको प्रकृति अनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना तथा आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था रहेको बताउदै दुताबासले सम्बन्धित सबै नेपाली नागरिकलाई यथाशीघ्र कनेक्टिङ उडानसहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरेको छ । साथै, उनीहरूका परिवारजन तथा आफन्तलाई पनि यो सूचनालाई आधार मानी आफ्ना प्रियजनलाई चाँडोभन्दा चाँडो स्वदेश फर्काउने व्यवस्था मिलाउन आग्रह गरिएको छ । विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकीछिपी बस्ने नेपाली नागरिकहरूलाई नयाँ कानुनी व्यवस्था अनुसार तत्काल पक्राउ परी कडा कानुनी सजाय भोग्नुपर्ने अवस्था रहेको समेत दुताबासले जानकारी गराएको छ ।

४- इङल्याण्डले न्यूजील्याण्डविरुद्धको टेस्ट जितेको छ । खेलको चौथो दिन २५४ रनको लक्ष्य पछाएको न्यूजील्याण्ड दोस्रो इनिंगमा १३८ रनमा अलआउट भएपछि इङल्याण्डले ३ खेलको सिरिजको पहिलो टेस्ट ११५ रनले जितेको हो । यसअघि इङल्याण्डले यस टेस्टको पहिलो इनिंगमा १४० रन बनाएको थियो भने न्यूजील्याण्डले पहिलो इनिंगमा ११३ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले दोस्रो इनिंगमा २२६ रन बनाएपछि न्यूजील्याण्डलाई २५४ रनको लक्ष्य दिएको थियो । खेलका दुवै इनिंगमा ७ विकेट लिएका र ३० रन बनाएका इङल्याण्डका ओली रोबिन्सन खेलको प्लेयर अफद म्याच बनेका छन् । यो जितपछि इङल्याण्डले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल जुन १७ देखि ओभलमा हुने तालिका रहेको छ ।

५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरीमा जिल्ला अधिवेशनको दोस्रो बन्द सत्र स्थगित गरिएको छ । जिल्ला अधिवेशन निर्वाचन समितिले सूचना जारी गर्दै अधिवेशनको बन्द सत्र अन्तर्गत निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न पक्षबीच छलफल भइरहेको र सहमतिको प्रयास जारी रहेकाले हालको परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द सत्र स्थगित गरिएको उल्लेख गरिएको छ । सूचनामा जिल्ला महाधिवेशन प्रतिनिधिहरूसँग थप छलफल तथा सहमतिका आधारमा प्रक्रिया अघि बढाइने जनाइएको छ । अधिवेशनको विषयलाई लिएर पार्टीभित्र विभिन्न धारणा र आन्तरिक समन्वयको आवश्यकता देखिएकाले निर्वाचन प्रक्रिया तत्काल अघि नबढाइएको बताइएको छ । रास्वपाका केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधि तथा आयोजन समितिका पदाधिकारीहरूको हस्ताक्षर समेत रहेको छ ।

६- भारतविरुद्धको टेस्टमा अफगानिस्तान दोस्रो दिनको खेल सकिदा पहिलो इनिंगमा ४५१ रनले पछाडी रहेको छ । दोस्रो दिनको खेल सकिदा अफगानिस्तानले ५ विकेट गुमाउदै ११३ रन बनाएपछि भारतभन्दा ४५१ रनले पछि परेपछि फलोअन बचाउन संघर्ष गरिरहेको छ । अफगानिस्तानका रहमत शाहले ४३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै कप्तान हाश्मतुल्लाह शाहिदी २० रन बनाएर आउट भए भने सेडिक्वाल्लाह अटलले १७ र अब्दुल मालिकले १६ रन बनाएका थिए । त्यसैगरी भारतका बलर डेभ्यु टेस्ट खेलिरहेका भारतका बलर मानव सुथारले ३ विकेट लिएका छन् भने प्रसिद्ध कृष्णले २ विकेट लिएका छन् । यसअघि भारतले पहिलो इनिंगमा ८ विकेट गुमाउदै ५६४ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । पहिलो इनिंगमा भारतका लागि कप्तान शुभमन गिलले १२६ रन बनाएका थिए भने केएल राहुलले १०० रन बनाएका थिए । त्यस्तै ऋषव  पन्त र साई सुदर्शनले ८१-८१ रन तथा वाशिंटन सुन्दरले ५२ रन बनाएका थिए ।

७- इजरायलको पेट्रोल पम्पमा भएको गोली प्रहारमा एक इजरायली नागरिकको मृत्यु भएको छ । इजरायलको कोचाव याइरस्थित पेट्रोल पम्पआमा भएको गोलीबारीको घटनामा चार जना घाइते भएका छन् । स्वास्थ्य अधिकारीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पुलिसले आक्रमणमा संलग्न एक सशस्त्र संदिग्धलाई नियन्त्रणमा लिएर निष्क्रिय पारिएको जनाएको छ भने अन्य सम्भावित आक्रमणकारीको खोजी जारी रहेको बताएको छ । यो गोलीकाण्डपछि इजरायली सेनाप्रमुख एयाल जमीरले वरिष्ठ अधिकारीसँग फोनमार्फत सुरक्षा अवस्थाको समीक्षा गरेका थिए । उनले कब्जामा रहेको पश्चिमी किनारामा सैन्य कारबाही जारी राख्न निर्देशन पनि दिएका छन् । सेनाका अनुसार एयाल जमीर त्यतिबेला गाजाको भ्रमणमा थिए । त्यहीँबाट उनलाई घटनाबारे प्रारम्भिक जानकारी दिइएको थियो, त्यसपछि उनले सुरक्षा अधिकारीसँग बैठक गरेका थिए । उता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि सुरक्षा निकायसँग घटनाबारे समीक्षा गर्दै आफू निरन्तर परिस्थितिमा नजर राखिरहेको बताएका छन् । यसैबीच, हमासले घटनाबारे प्रतिक्रिया दिँदै यसलाई गाजा र पश्चिमी किनारामा चलिरहेको इजरायली सैन्य कारबाहीसँग जोडिएको बताएको छ । उसले गाजा, पश्चिमी किनारा र यरुशलेममा जारी सैन्य छापा र कारबाहीका कारण तनाव थप बढेको दाबी गरेको छ । हमासले अन्तर्राष्ट्रिय समुदायलाई क्षेत्रमा हिंसा कम गर्न र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गरेको छ ।

८- सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताको फाइनलमा नेपाल र हङकङ भिड्ने भएका छन् । आज भएका सेमिफाइनलमा विजयी भएसँगै नेपाल र हङकङ फाइनलमा भिड्ने भएका हुन् । नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ भने हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ । अब नेपाल र हङकङ सोमबार फाइनल खेल्ने छन् । त्यस्तै सेमिफाइनलमा पराजित भएका ओमान र मलेसिया तेस्रो स्थानका लागि भोली नै खेल्ने छन् । सोमबार हुने फाइनल खेल अपराहन्न सवा १२ बजे हुने छ भने तेस्रो स्थानको खेल विहान सवा ७ बजे हुने छ ।

९- पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले आफुले सफाई पाउनेमा विस्वस्त रहेको बताएका छन् । गोरखामा आयोजित पार्टीको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको छानबिन सहज बनाउन आफूले पदबाट राजीनामा दिएको बताउदै आफुले सफाई पाउने विश्वास वयक्त गरेका हुन् । उनले भने- ‘सार्वजनिक पदमा बसेर काम गर्दा उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भन्ने सोचका साथ छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा केही प्रश्न निकै कडा थिए, तर मैले सबैको सहज र स्पष्ट जवाफ दिएको छु ।’ उनले सम्भावित रूपमा फेरि गृह मन्त्रालयको जिम्मेवारी पाउने आशा पनि व्यक्त गरेका थिए ।

१०- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबारको संसद बैठकमा नेपालले भारतको सीमा मिचेको विवरण लिएर आउन आग्रह गरेका छन् ।  सामाजिक सञ्जालमा लेख्दै साम्पाङले नेपालले भारतको सीमा कहाँ कहाँ मिचेकोछ भोलिको बैठकमा लिएर आउन आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘प्रिय बालेन… भोलिको वैठकमा नेपालले भारतको सिमाना कहाँकहाँ मिचेको रैछ सोको प्रामण लिएर आऊ है !’ प्रधानमन्त्री शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले संसदमा विरोध गर्दै आएका छन् ।

११- इरान र इजरायलबीच तनाव जारी रहेकै बेला इरानी राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले अमेरिका प्रवेशका लागि भिसा प्राप्त गरेका छन् । तर टोलीका केही सहयोगी कर्मचारी र अधिकारीहरूले भने अझै अमेरिकी भिसा नपाएको भन्दै इरानले अमेरिकामाथि विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार फुटबल महासंघका महासचिव हेदायत मोम्बेनी, उपाध्यक्ष मेहदी मोहम्मद नबीसहित १४ जना अधिकारी तथा सहयोगी कर्मचारी अझै भिसाको प्रतीक्षामा छन् । इरानी फुटबल महासंघले यस अवस्थाले टोलीलाई समान अवसर नदिएको दाबी गर्दै यो विषय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष उठाउने जनाएको छ । यता अमेरिकी अधिकारीहरूले भने सबै खेलाडी, प्रशिक्षक, प्रशिक्षण टोलीका सदस्य तथा केही सहयोगी कर्मचारीलाई भिसा जारी गरिएको बताएका छन् । तर केही आवेदनहरू भने स्वीकृत नभएको उनीहरूको भनाइ छ । इरानी टोली हाल टर्कीको अन्ताल्या क्षेत्रमा प्रशिक्षण गरिरहेको छ । त्यहाँबाट टोली मेक्सिको जाने तयारीमा रहेको बताइएको छ । फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ। पहिलो पटक तीन देशको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा ४८ टोली सहभागी हुनेछन् । इरान समुह जी मा बेल्जियम, इजिप्ट र न्यूजील्याण्डसँग रहेको छ । इरानले विश्वकपमा पहिलो खेल जुन १५ मा न्यूजील्याण्डसँग खेल्दैछ भने दोस्रो खेल जुन २१ मा बेल्जियमसँग र तेस्रो खेल इजिप्टसँग जुन २६ मा खेल्ने तालिका छन् ।

१२- अन्तर व्यवस्थापिका एघारौं सम्मेलन नौ बुँदे टीकापुर सन्देश पत्र जारी गर्दै सकिएको छ ।  संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र सात वटै प्रदेशका सभामुख, उपसभामुख, महासचिव र सचिवहरुको सहभागितामा सम्पन्न सम्मेलनपछि जारी टीकापुर सन्देशमा संघ, प्रदेश र स्थानीय तहबाट हुने कानून निर्माण र संसदीय काम कारवाहीलाई छिटो, छरितो र पारदर्शी तुल्याउन, संसदीय गतिविधिहरुमा सूचना प्रविधिमार्फत नागरिक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।  सन्देश पत्रमा तहगत संसद-सभाहरुवीच प्रभावकारी सहकार्य र अन्तरआवद्धताका लागि सङ्घीय संसदसँग समन्वय गर्न सबै प्रदेश सभाले संघ–प्रदेश समन्वय शाखा-इकाई स्थापना गर्ने, साथै अन्तर व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालयको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले गर्ने भनिएको छ ।  सन्देश पत्रमा अन्तर व्यवस्थापिका मञ्चको बाहौ सम्मेलन कर्णाली प्रदेशमा आयोजना गर्ने उल्लेख छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुबीकुमारी, राष्ट्रिय सभा उपाध्यक्ष डा. लिला कुमारी भण्डारी, कर्णाली प्रदेश सभा सभामुख नन्दा गुरुङ्ग, कोशी प्रदेश सभा सभामुख अम्बरबहादुर विष्टले हस्ताक्षर गरेका छन् ।  त्यस्तै गण्डकी प्रदेश सभा सभामुख कृष्णप्रसाद धिताल, मधेश प्रदेश सभा सभामुख राम आशिष यादव, लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्तीमगर, सुदूरपश्चिम प्रदेश सभा सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभा उपसभामुख, यसोदा न्यौपाने, कोशी प्रदेश सभा उपसभामुख, सिर्जना दनुवार, गण्डकी प्रदेश सभा उपसभामुख विना कुमारी थापा, बागमती प्रदेश सभा उपसभामुख अप्सरा चापागाईं, मधेश प्रदेश सभा उपसभामुख, वबिताकुमारी राउत ईसर, लुम्बिनी प्रदेश सभा उपसभामुख, मेनुका खाँड के.सी.,सुदूरपश्चिम प्रदेश सभा उपसभामुख कोइलीदेवी चौधरीले सन्देश पत्रमा हस्ताक्षर गरेका छन् ।

१३- भारत भ्रमण सकेर नेपाल फर्किनु अघि परराष्ट्रमन्त्री शिशिर खनालले दिल्लीस्थित नेपाली दूतावासमा पत्रकार सम्मेलन गरेका छन् । सो अवसरमा मन्त्री खनालले पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदै नेपाल-भारत सीमा विवादमा इङल्यान्डको मध्यस्थता नखोजेको स्पष्ट गरेका छन् । उनले नेपाल भारतको सीमा विवाद ऐतिहासिक रुपमा जोडिएकोले बेलायतमा रहेका प्रमाण आवश्यक पर्नसक्ने आशयमा प्रधानमन्त्रीले इङल्याण्डको उल्लेख गरेको बताउदै आफुहरुले मध्यस्थताको कुरा नगरेको बताएका छन् । पत्रकारसँगको कुराकानीमा उनले आफुहरुले दुई पक्षीय हितको विषय अगाडी बढाउन चाहेको बताउदै सीमा विवाद वार्ता र कुटनीतिक माध्यमबाट नै समाधान गर्न चाहेको स्पष्ट गरेका छन् ।

१४-  इरानको विदेश मन्त्रालयले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । मन्त्रालयले तनाव कम गर्ने प्रयास गर्नुको सट्टा अमेरिकाले आफ्नो सैन्य कारबाहीमार्फत सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारेको जनाएको छ । विदेश मन्त्रालयले अमेरिकाले सिरिक क्षेत्र र केश्म द्वीपस्थित इरानका तटीय राडार तथा निगरानी केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको छ । इरानले उक्त कारबाहीलाई युद्धविरामको स्पष्ट उल्लंघन भनेको छ । इरानले यी आक्रमणपछि उत्पन्न हुने कुनै पनि परिस्थिति र त्यसका परिणामको पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने चेतावनी समेत दिएको छ । यता अमेरिकाले भने होर्मुज जलडमरूमध्य क्षेत्रमा आफ्ना सेनाले इरानका दुई आक्रमणकारी ड्रोन खसालेको दाबी गरेको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार ती ड्रोन अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि खतरा बन्दै गएका थिए । केन्द्रीय कमान्डले जारी गरेको वक्तव्यमा अमेरिकी सेनाले दुई वटा ‘एकतर्फी आक्रमणका लागि प्रयोग गरिने ड्रोन’ लाई अवरोध गरी नष्ट गरेको जनाएको छ । अमेरिकी सेनाका अनुसार ती ड्रोन होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने अन्तर्राष्ट्रिय जहाजहरूको सुरक्षाका लागि जोखिमपूर्ण थिए । यद्यपि अमेरिकी सेनाले ती ड्रोन कहाँबाट उडाइएको थियो र कुन हतियार प्रणाली प्रयोग गरेर खसालिएको थियो भन्नेबारे जानकारी दिएको छैन । केन्द्रीय कमान्डले क्षेत्रभर तैनाथ अमेरिकी सेना इरानबाट हुन सक्ने कुनै पनि आक्रामक गतिविधिको जवाफ दिन पूर्ण रूपमा तयार रहेको जनाएको छ।

१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ८ हजार २ सयले घटेर तोलाको ३ लाख ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३३५ रुपैयाँले घटेर तोलाको ४८९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५२३० मा कारोबार भएको थियो ।

१६- रूसकी १९ वर्षीया मिरा एन्ड्रीभाले पहिलो पटक फ्रेन्च ओपन महिला एकलतर्फको उपाधि जितेकी छन् । शनिबार सम्पन्न फाइनलमा उनले पोल्यान्डकी माया ख्भालिन्स्कालाई सोझो सेटमा ६–३ र ६–२ ले पराजित गरिन् । १ घण्टा २२ मिनेटसम्म चलेको खेलमा एन्ड्रीभाले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वीमाथि दबाब बनाएकी थिइन् । यो उनको करिअरकै पहिलो ग्रान्ड स्लाम उपाधि हो । एन्ड्रीभा फ्रेन्च ओपन जित्ने इतिहासकै दोस्रो सबैभन्दा कम उमेरकी खेलाडी बनेकी छन् । यसअघि सन् १९९२ मा १८ वर्षको उमेरमा मोनिका सेलेसले यो उपाधि जितेकी थिइन् । पहिलो सेटमा दुवै खेलाडी ३–३ को बराबरीमा रहे पनि त्यसपछि एन्ड्रीभाले लगातार तीन खेल जित्दै सेट ६–३ ले आफ्नो पक्षमा पारिन् । दोस्रो सेटमा पनि उनले सुरुआती अग्रता कायम राख्दै लगातार खेल जितिन् र ६–२ को नतिजासहित उपाधि कब्जा गरिन् । उपाधि जितेपछि एन्ड्रीभा भावुक देखिएकी थिइन् । उनले आफ्नो टोली र परिवारलाई धन्यवाद दिँदै रोलाँ गारोमा उपाधि जित्नु बाल्यकालदेखिको सपना पूरा भएको बताइन् । यस सफलतासँगै एन्ड्रीभा सन् २०२० मा इगा स्वियातेकपछि फ्रेन्च ओपन महिला एकल जित्ने किशोर उमेरकी खेलाडी बनेकी छन् । साथै, उनी मोनिका सेलेसपछि फ्रेन्च ओपन जित्ने सबैभन्दा कम उमेरकी महिला च्याम्पियन पनि बनेकी छन् । उपविजेता ख्भालिन्स्काको यात्रा पनि स्मरणीय रह्यो । विश्व वरीयतामा ११४औँ स्थानमा रहेकी उनी छनोट चरण पार गर्दै मुख्य प्रतियोगितामा प्रवेश गरेकी थिइन् । लगातार नौ खेल जित्दै फाइनल पुगेकी उनले प्रतियोगिताका क्रममा विश्व नम्बर एक आर्यना साबालेन्कालाई समेत पराजित गरेकी थिइन् । खेलपछि ख्भालिन्स्काले एन्ड्रीभाको प्रशंसा गर्दै उनी आफूभन्दा उत्कृष्ट खेलाडी साबित भएको प्रतिक्रिया दिइन् ।

१७- राप्रपाकी सांसद खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनलाई सहज बनाउन संसद् बैठक स्थगित गरिएको भन्दै आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सदनको गतिरोध अन्त्य गर्ने, राजनीतिक सहमति खोज्ने र संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्य नै नभएको भए लामो समयसम्म बैठक स्थगित गर्नुको औचित्य के थियो भन्ने प्रश्न उठाएकी हुन् । उनले संसद् स्थगित भएको पाँच दिन बितिसक्दा पनि संवादका लागि कुनै पहल नभएको र समाधानको प्रयाससमेत नदेखिएको बताएकी छन् । भोलि संसद् बैठक बस्न लागे पनि कुनै उपलब्धिविना पुनः उही गतिरोधको अवस्थाबाट सदन सञ्चालन हुने देखिएको उनको भनाइ छ । प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा प्रतिपक्षी दलका मात्र होइन, सत्तारुढ दलका सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरूलाई समेत बेवास्ता गरिएको आरोप लगाउँदै उनले त्यसकै कारण सदन अवरुद्ध भएको उल्लेख गरेकी छन् । साथै प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले थप गम्भीर प्रश्नहरू खडा गरेको उनको दाबी छ । उनका अनुसार प्रतिपक्षी दलहरूले राष्ट्रिय हित, संसदीय सार्वभौमिकता र जनप्रतिनिधिको उत्तरदायित्व सुनिश्चित गर्न निरन्तर संवाद र जवाफदेहिताको माग गर्दै आएको तर पछिल्ला पाँच दिनमा संवादका लागि कुनै औपचारिक आह्वान वा सहमति खोज्ने प्रयास नभएको उनले बताएकी छन् । ओलीले संसद्को लामो स्थगनले राष्ट्रिय मुद्दाभन्दा दलगत आवश्यकतालाई प्राथमिकता दिइएको आशंका उत्पन्न गरेको उल्लेख गर्दै यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशनका लागि सहज वातावरण बनाइएको आरोप लगाएकी छन् । नेपालको सार्वभौम संसद् कुनै दल वा व्यक्तिको सुविधाका लागि नभई जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाको संरक्षणका लागि यस्ता विषयमा संघीय संसद् सचिवालयले गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् ।

१८- अछामको कमलबजार नगरपालिका–७ क्वालेखस्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार कमलबजार नगरपालिका–७ निवासी ३४ वर्षीय कर्ण भाट गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मिनबहादुर भाट र बद्री भाटलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटनाग्रस्त जिप तथा चालक पुष्प बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१९- भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा भएको फाइनलमा भारतले साविक विजेता बंगलादेशलाई ३-१ ले गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । सन् २०१०, २०१२, २०१४, २०१६ र २०१९ मा लगातार पाँच पटक उपाधि जितेको भारतले त्यसपछि भने उपाधि जित्न सकेको थिएन । भारतले ७ वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । भारतको जितमा पियारी छाछाले, सानफिदा नोङरुम र लिन्डा कोमले एक एक गोल गरेका थिए भने बंगलादेशका लागि रितु पूर्ना चक्माले एक गोल फर्काएकी थिइन् ।  भारतसँग फाइनलमा पराजित भएको बंगलादेशले सन् २०२२ र सन् २०२४ मा लगातार दुईपटक उपाधि जितेको थियो । नेपाल भने सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

२०- अमेरिका र इरानबीचको तनावपूर्ण अवस्थाबीच अमेरिकी सेनाले इरानका तटीय निगरानी राडार केन्द्रहरूमा आक्रमण गरेको जनाएको छ । साथै, होर्मुज जलडमरूमध्यतर्फ प्रक्षेपण गरिएका इरानका चार एकतर्फी आक्रमणकारी ड्रोन पनि खसालिएको अमेरिकी सेनाले दाबी गरेको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानले रातभर कुवेत र बहराइनलाई लक्षित गरी प्रहार गरेको क्षेप्यास्त्र तथा अन्य आक्रमणहरूलाई पनि अमेरिकी सेनाले अवरोध गरेको थियो । उक्त घटनामा कुनै पनि अमेरिकी सैनिक हताहत नभएको बताइएको छ । यता, इरानको सरकारी सञ्चारमाध्यमले इस्लामिक क्रान्तिकारी गार्ड कोर्प्सले अमेरिकी सैन्य कारबाहीको जवाफस्वरूप रातभर अमेरिकी हवाई अड्डा र अन्य अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । इरानले आफ्ना राडार केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणलाई युद्धविराम सम्झौताको स्पष्ट उल्लंघन भएको आरोप लगाएको छ । इरानी विदेश मन्त्रालयले आफ्नो सेनाले सतर्क, निर्णायक र समानुपातिक ढंगले प्रतिकार गरेको जनाएको छ । क्षेत्रीय प्रतिक्रिया स्वरूप कुवेतको रक्षा मन्त्रालयले शनिबार बिहान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका सातवटा ब्यालिस्टिक क्षेप्यास्त्र पत्ता लगाई नियन्त्रणमा लिएको जनाएको छ । बहराइनले पनि इरानबाट प्रक्षेपण गरिएका तीनवटा क्षेप्यास्त्र र केही ड्रोन नष्ट गरिएको जानकारी दिएको छ। दुवै देशले घटनामा कुनै मानवीय क्षति नभएको बताएका छन् र पछिल्ला आक्रमणहरूको निन्दा गरेका छन् । यसैबीच, संयुक्त अरब इमिरेट्स, इजिप्ट र साउदी अरेबियासहित खाडी क्षेत्रका अन्य मुलुकहरूले पनि आफ्ना छिमेकी राष्ट्रहरूलाई लक्षित गर्दै इरानले गरेको आक्रमणको आलोचना गरेका छन् । उनीहरूले यस्ता गतिविधिले खाडी क्षेत्रको सुरक्षा र स्थायित्वमा गम्भीर खतरा उत्पन्न गर्ने चेतावनी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्