कनिका खबर
साउन ३२, दाङ ।
दाङको राप्ती नदीमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गएराति एक जनाको ज्यान गएको हो ।
लु५७प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गएराति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित मोटर साइकलमा सवार दुबै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।
घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन् ।
बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ ।