काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ । शुक्रबार श्रेष्ठसँग आयोगको मुख्यालय टंगालमा बयान लिएको आयोग स्रोतले जानकारी दिएको हो ।
पुष्कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका श्रेष्ठसहित अख्तियारले परराष्ट्र सचिव अमृतबहादुर राई र पूर्व सचिव एवम् नेपालका लागी बेल्जियमका राजदूत सेवा लम्सालसँग पनि बयान लिएको छ । श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा लम्साल पररारष्ट्र सचिव थिइन् भने विद्युत्तिय राहदानीको टेण्डर प्रक्रिया हुँदा अहिलेका सचिव राई परराष्ट्रमै सह सचिव थिए ।
राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई तीन दिनको समय दिएर बयानका लागि बोलाएको थियो । अख्तियारले असार २ मा देउवाको बुढानिलकण्ठ स्थित घर ठेगानामा म्याद टाँस गरेको भए पनि उनी हाल विदेश रहेकाले उपस्थित भएकी छैनन् ।
राहदानी छपाई प्रकरणमा अख्तियारले हाल राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनील केसी र ठेक्का पाएको कम्पनीका नेपाल प्रतिनिधिमाथि पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।


