यात्रुलाई दुःख दिने १० बिचौलिया पक्राउ – Kanika Khabar
Monday, June 22Nepali News Portal

यात्रुलाई दुःख दिने १० बिचौलिया पक्राउ

    मा प्रकाशित

काठमाडौँ । सार्वजनिक सवारीसाधन प्रयोग गरी उपत्यकाबाट बाहिरिने यात्रुलाई दुःख हैरानी दिने कार्यमा संलग्न १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले सार्वजनिक गुनासोका आधारमा काठमाडौँ महानगरपालिका–३२ अन्तर्गत कोटेश्वर-जडीबुटी क्षेत्रमा विशेष निगरानी गरेको थियो ।

अनुगमनका क्रममा काउन्टर सञ्चालक, सवारी चालक तथा सहचालकसँग सम्बन्धित केही व्यक्तिहरूले यात्रु तान्ने, यात्रुको झोला खोस्ने तथा अनावश्यक रूपमा दुःख हैरानी दिने गरेको फेला परेको प्रहरीले जनाएको छ ।

उक्त कार्यमा संलग्न १० जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पक्राउ पर्नेमा धनुषाका सूर्यबहादुर देवकोटा, दोलखाका प्रकाश शिवाकोटी, भक्तपुरका हरिभजन थापा, दोलखाका डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका सुरेश तामाङ, सिन्धुलीका तिलककुमार थापा, दोलखाका खड्कबहादुर तामाङ, सिन्धुलीका डोरकुमार श्रेष्ठ, ओखलढुंगाका नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका राजेश सापकोटा रहेका छन् ।

प्रहरीले यात्रुलाई अनावश्यक दुःख दिने, जबर्जस्ती सवारीमा चढाउन खोज्ने तथा सामान खोस्ने जस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्