कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित २२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको टाउको, छाती, कम्मर, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घाइते सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको छ ।
दुर्घटनाका बेला बसमा चालकसहित ४६ जना सवार थिए । घाइते नभएका २४ यात्रुलाई अर्को सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि क्रेनको सहायताले बस हटाएर सडक दुवैतर्फ सञ्चालनमा ल्याइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।


