सरकारले कालो चस्मा खोल्ने बेला आयो- बासना थापा – Kanika Khabar
Friday, July 10Nepali News Portal

सरकारले कालो चस्मा खोल्ने बेला आयो- बासना थापा

    मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कालो चस्मा खोल्ने बेला आएको टिप्पणी गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरमा बिहीबार आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको घटनामा राज्य मूकदर्शक बनेको आरोप लगाउदै अब सरकारले कालो चश्मा खोल्ने समय आएको बताएकी हुन् ।

उनले भनिन्-‘केही समयअघि सुकुमवासीलाई उठीबास लगाएर १७ वर्षीय रविन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेका थिए । हिजो पनि धोबीखोलामा हाम फालेर मृत्युवरण गरेको समाचार आएको अझै पहिचान हुन बाँकी छ । प्रधानमन्त्रीज्यू, राज्य साँच्चै यति निरीह र असफल भइसकेको हो ? अब कालोचस्मा खोल्ने बेला आएको छ । साझा यातायातको हरियो रङलाई पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन ।’

सांसद थापाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै विगतमा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज किन टाढा हुनुहुन्छ ? भन्दै प्रश्न गरेकी छन् । उनले राज्य आतंकका कारण एक युवाले आगो सल्काउँदा समेत राज्य मूकदर्शक बनेको उल्लेख गर्दै शरीर आगोमा दन्किरहेको समयमा राज्यले एम्बुलेन्स नपठाएको र उल्टै प्रहरी प्रशासन लगाएर अपराधिकझैं घिसारेर लागेको आरोप लगाईन् ।

उनले अरूले आफैंलाई जलाउने हिम्मत गर्न नसकेको र बहादुर युवाले विद्रोह गरेको बताउदै सरकार जनताको ज्यान जोगाउने भन्दा पनि मानवीय संवेदनशीलतालाई कुल्चिएर लाइक बढाउने ध्याउन्नमा रहेको आरोप लगाएकी छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्