गणेश नेपालीका परिवारलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा – Kanika Khabar
Saturday, July 11Nepali News Portal

गणेश नेपालीका परिवारलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था गर्ने महानगरको घोषणा

    मा प्रकाशित

काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनमा पूर्ण सहयोग गर्ने जनाएको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विज्ञप्ति जारी गर्दै दिवंगत नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारीको व्यवस्था तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा गर्ने पनि घोषणा गरेको छ ।

असार २५ गते राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।

विज्ञप्तिमा नेपाल सरकारको गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको जानकारी सञ्चारमाध्यमबाट प्राप्त भएको उल्लेख गर्दै उक्त समितिलाई तथ्यगत अनुसन्धानमा काठमाडौं महानगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवार कदम चालिने पनि महानगरले स्पष्ट पारेको छ ।

महानगरपालिकाले नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक समाधानका उपाय पहिचान गर्ने, असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ । साथै, यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न सबैमा अपिल गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्