आज र भोलि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह – Kanika Khabar
Sunday, July 12Nepali News Portal

आज र भोलि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार हुन सक्ने भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असार २८ गते आइतबार र २९ गते सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले अचानक बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले अकस्मात बाढी आउन सक्ने खोला, खहरे तथा नदी आसपासको क्षेत्रमा यात्रा गर्ने, पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने र नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

बाढी तथा पहिरोको सम्भावित जोखिम व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन भनिएको छ। जोखिमयुक्त सडक तथा राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ।

विपद् व्यवस्थापनमा सहयोग गर्ने साझेदार संस्थाहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रहन प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता माग्न १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बर मोबाइलमा सुरक्षित राख्न तथा आवश्यक पर्दा सम्पर्क गर्न आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्