काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित बालकलाई व्यक्तिगत रूपमा ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत साम्पाङले वर्तमान सरकारले उनीहरूलाई बेघर बनाएको बताउदै सहयोगको घोषणा गरेका हुन् ।
उनले भनेका छन्- ‘यो बालकलाई मैले मेरो व्यक्तिगत तर्फबाट ५० हजार सहयोग गर्ने भएँ ! तिम्लाई यो सरकारले दिएको चोटमा मेरो तर्फबाट सानो मलमपट्टी ! तिमी रुँदा तिमी सङ्गै रुन सकिंन भनें ! के अर्थ भो र दु:खमा तिम्रो हुन सकिंन भनें !’
कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी शनिबार बिहान बाढी पसेपछि डुबानमा परेका थिए ।
उनले अहिलेको नेतृत्वले सुकुम्बासीलाई बेघर बनाएको आरोप लगाउँदै नागरिकलाई सही नेतृत्व चिन्न आग्रह गरेका छन् । साथै, बालबालिकाको भविष्य जोगाउन सके मात्र देशको भविष्य सुरक्षित हुने भन्दै सुकुम्बासीको पीडाप्रति संवेदनशील बन्न सबैसँग अपिल गरेका छन् ।


