चितवन । निरन्तर खोजी तथा अनुगमनपछि चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्ती फेला परेको छ । निकुञ्जभित्र सुखीभार पोस्ट नजिक ध्रुवे हात्ती फेला परेपछि गएराती विशेषज्ञ टोलीले ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो । यस्ले नियमित निगरानी गरिने,बस्ती आउनु अगावै जानकारी गराउने छ ।
रेडियो कलरमार्फत हात्तीको अवस्थिति र गतिविधिको जानकारी छोटो–छोटो अन्तरालमा प्राप्त हुने भएकाले नियमित अनुगमन गर्न सहज हुने विश्वास गरिएको छ। यस प्रविधिले हात्तीको जीपीएस लोकेसन तत्काल प्राप्त हुने, जोखिमपूर्ण क्षेत्रको पूर्वानुमान गर्न सकिने तथा मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने छ।
चितवन राष्ट्रिय निकुञ्जले रेडियो कलरमार्फत ध्रुवे हात्तीको नियमित निगरानी गर्दै आवश्यक व्यवस्थापनका कार्यलाई निरन्तरता दिने जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनलाई प्रभावकारी बनाउन समस्या सिर्जना गर्दै आएको ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको छ।
असार २० गते राति भरतपुर महानगरपालिका–२३ बेलहटा निवासी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ध्रुवे हात्तीको आक्रमणबाट मृत्यु भएपछि थप मानवीय क्षति हुन नदिन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, स्थानीय तह तथा अन्य सरोकारवालासँगको समन्वयमा हात्तीको खोजी र निगरानी तीव्र बनाइएको थियो ।


