शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन – Kanika Khabar
Saturday, July 18Nepali News Portal

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन

    मा प्रकाशित

चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले  चितवनस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन् । त्यसक्रममा मन्त्री पोखरेलले दुवै संस्थाबीच विगत १५ वर्षदेखि कायम रहेको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रामपुर कृषि क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो भने कृषि तथा वन विज्ञान विश्वविद्यालय छुट्टै विश्वविद्यालय हो । मन्त्री पोखरेलले दुवै संस्थाको शैक्षिक, अनुसन्धान तथा प्रशासनिक गतिविधि, पूर्वाधार र प्रयोगशालाको अवलोकन गरी क्याम्पस तथा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र सरोकारवालासँग छलफल गरेका थिए ।

छलफलका क्रममा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच लामो समयदेखि कायम रहेको जग्गा विवादका कारण दुवै संस्थाको शैक्षिक विकास, पूर्वाधार विस्तार तथा दीर्घकालीन योजना प्रभावित भएको विषय उठाइएको थियो । शिक्षा मन्त्री पोखरेलले सरकारले समन्वयात्मक र कानुनी प्रक्रियामार्फत विवाद समाधानको पहल गर्ने बताउँदै रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवैको शैक्षिक हित सुरक्षित हुने गरी समाधान खोजिने स्पष्ट पारे ।

उनले  यी शैक्षिक सस्थाहरु नेपालको कृषि शिक्षा, अनुसन्धान, प्रविधि विकास तथा दक्ष जनशक्ति उत्पादनका महत्वपूर्ण आधार भएकाले कुनै पनि संस्थालाई कमजोर बनाउने नभई दुवैलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले आवश्यक पहल गर्ने बताए ।

सरोकारवालाहरूले सरकारको सक्रिय पहलबाट १५ वर्षदेखि कायम विवाद अन्त्य भई दुवै संस्थाको शैक्षिक तथा अनुसन्धान गतिविधिले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्।

अनुगमनमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य प्रभा ढकाल तथा शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकारद्वय शैलेन्द्र झा र सरोज गौतम सहभागी थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्