कोहलपुरमा कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न – Kanika Khabar
Monday, August 10Nepali News Portal

कोहलपुरमा कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

    मा प्रकाशित

कोहलपुर/ हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शनिबार स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ । दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा पूर्णिमाका सचिव कवि केशव निमेषको कविता सङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ गृह विमोचन र कृतिमाथि विमर्श गर्ने कार्यक्रम रहेको छ ।

पुस्तकको गृहविमोचन साहित्यकार डा. अमर गिरी, कवि निभा शाह, कविका मातापिता र धर्मपत्नीले संयुक्त रूपमा गरेका थिए । प्यानल छलफलका रूपमा निमेषको कृतिमाथि डा. अमर गिरी र कवि निभा शाहले आफ्ना धारणा राख्नुभएको थियो। वक्ताहरूले निमेषका केहीबाहेक धेरै कविता वैचारिक हिसाबले अब्बल रहेको बताए । अतिथिहरूको स्वागत तथा विमोचित कृति र कृतिकारको जानकारी पूर्णिमाका सल्लाहकार सागर गैरेले दिए ।

पहिलो सेसनलाई कवि हेम मञ्जिल र लक्ष्मण मानवले सहजीकरण गरेका थिए । दोस्रो चरणको औपचारिक कार्यक्रम सम्मान तथा पुरस्कार अर्पणको रह्यो। उक्त अवसरमा पूर्णिमाले प्रदान गर्ने ‘पूर्णिमा साहित्य रत्न सम्मान तथा पुरस्कार’ २०८१ साहित्यकार डा. अमर गिरीलाई प्रदान गरियो। गिरीले साहित्य सिर्जना र नेपालको संस्थागत साहित्य विकासमा दिएको योगदानको कदर स्वरूप सो सम्मान गरिएको हो ।पुरस्कारमा नगद राशि रु २५५५५, सम्मान पत्र र दोसल्ला रहेको छ । यसैगरी सोही वर्षको तुलसीराम स्मृति पुरस्कार साहित्यकार शशिराम कार्कीलाई प्रदान गरियो। उक्त पुरस्कारको राशि रु ७७७७ नगद, दोसल्ला र सम्मानपत्र रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार समसामयिक सनत रेग्मी पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजाल, तुलसीराम स्मृति पुरस्कारकी संरक्षक पवित्रा ढकाल र पूर्णिमाका सल्लाहकार महानन्द ढकालले संयुक्त रूपमा सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको थियो प्रमुख अतिथि रेग्मीले नेपाली साहित्यसम्बन्धी गहन विमर्श समेत भएको उक्त कार्यक्रलाई ओजपूर्ण रहेको भन्दै सम्मानित स्रष्टाहरू देशकै गौरव भएको बताउनुभयो । कार्यक्रममा साहित्यकार नरेन्द्रजङ्ग पिटर, महानन्द ढकाल, निभा शाह, चरित्रा शाह लगायतले शुभकामना र बधाई मन्तव्य दिनुभएको थियो ।

सम्मानित दुवै स्रष्टाले पूर्णिमा साहित्य प्रतिष्ठानजस्तो देशकै सक्रिय र आशलाग्दो साहित्यिक संस्थाबाट सम्मानित हुन पाएकोमा गौरवको अनुभव भएको भन्दै सबैलाई धन्यवाद दिए । पुरस्कार र सम्मानित स्रष्टाको परिचय र योगदानको चर्चा पूर्णिमाका सल्लाहकार दामोदर पौडेलले गरे । कार्यक्रममा डा. इन्द्र भण्डारी, जित बहादुर शाह, सुमित्रा न्यौपाने, प्रदीप भट्टराई, कपिल अन्जान, विष्णु पादुका, चरित्रा शाह, लगायत ६ दर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष डा. पुष्कर रिजालको अध्यक्षतामा भएको औपचारिक समारोहको सञ्चालन पूर्णिमाका सहसचिव प्रकाश मरासिनीले गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्