दाङ । पछिल्लो समयमा पर्यटकीय क्षेत्र बन्दै गएको दाङको बङ्गलाचुली गाउँपालिकाको वडा नम्बर २ मर्पेसमा पाठशाला एजुकेसन सेन्टर घोराही दाङका प्रशिक्षार्थीहरूले सरसफाइ गरेका छन् । आज शनिबार पाठशालाका प्रशिक्षार्थीहरूले पर्यटकीय क्षेत्र मर्पेसमा सरसफाइ गरेका हुन् ।
पाठशाला एजुकेसन घोराही दाङमा नेपाल प्रहरी, नेपाल आर्मी, वन रक्षकको तयारी गरिरहेका प्रशिक्षार्थीहरूले मर्पेसमा सरसफाइ गरेको प्रबन्ध निर्देशक दिपक न्यौपानेले बताए । ‘ नेपाल प्रहरी, नेपाल आर्मी, वन रक्षकको तयारी गरिरहेका प्रशिक्षार्थीहरूले सामाजिक उत्तरदायित्वको काममा समेत आफूलाई सक्रिय राख्दै आउनु भएको छ । पढाइका साथसाथै अहिलेका पुस्तालाई सामाजिक उत्तरदायित्वको काममा सहभागी गराउने उद्देश्यले सरसफाइ कार्यक्रममा जोडेका हौँ ।’ न्यौपानेले थपे, ‘धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र सफा राख्नु हामी सबैको दासयत्व हो । शिक्षा भनेको केवल कक्षाकोठाभित्र सीमित हुने विषय होइन, समाजप्रति जिम्मेवार नागरिक निर्माण गर्ने माध्यम पनि हो। मर्पेसजस्तो पर्यटकीय क्षेत्रमा प्रशिक्षार्थीहरूको सक्रिय सहभागितामा गरिएको सरसफाइ अभियानले वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्वप्रतिको सकारात्मक सन्देश दिएको छ। आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै समुदायसँग सहकार्य गर्ने हाम्रो प्रतिबद्धता रहनेछ।’

सरसफाइ अभियानमा सहभागी प्रशिक्षार्थीहरूले पर्यटकीय क्षेत्र सबैको साझा सम्पत्ति भएकाले यहाँ जथाभावी फोहोर फाल्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्। उनीहरूले पर्यटक तथा स्थानीय बासिन्दाले वातावरण संरक्षणप्रति सचेत भएर फोहोरलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।
सरसफाइ अभियानमा सहभागी प्रशिक्षार्थीहरूले भने, “पर्यटकीय क्षेत्र हाम्रो साझा सम्पत्ति हो। यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो। जथाभावी फोहोर फाल्ने प्रवृत्तिले प्राकृतिक सौन्दर्य मात्रै होइन, पर्यटन क्षेत्रको छवि पनि बिगार्छ। त्यसैले पर्यटक र स्थानीय सबैले सरसफाइप्रति जिम्मेवार बन्नुपर्छ। साथै, पर्यटकीय क्षेत्रमा पर्याप्त डस्टबिनको व्यवस्था, नियमित सरसफाइ, जनचेतनामूलक कार्यक्रम र आवश्यक पूर्वाधार निर्माणमा सम्बन्धित निकायको विशेष ध्यान जान जरुरी छ। यस्ता अभियानले नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरेका छौँ।”






