
दाङ । नवयुवा बिम्ब पन्थीको तेस्रो उपन्यास ‘वन वे टिकट’ शनिबार दाङको घोराहीमा विमोचन गरिएको छ ।
अध्ययन मञ्च दाङको आयोजनामा सर्बाेदय पुस्तकालय तथा वाचनालयमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. धरनीकुमार शर्मा, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा, थम्मन बस्नेत, लेखक बिम्ब पन्थी र उनका माता पिता डा. नारायण पन्थी र कल्पना सुवेदीले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका थिए ।
युवाहरुको चेतना लोभलाग्दो र संभावनायुक्त रहेको भन्दै प्रमुख अतिथि शर्माले नयाँ पुस्तालाई सुन्न र पढ्न जरुरी रहेको बताए । ‘किताब पढ्ने संस्कृति थप मजबुत बनाउन यसखाले कार्यक्रम निकै महत्वपूर्ण हुन्छ । र प्राज्ञिक व्यत्तित्वहरुले यस्ता कार्यक्रमा निरन्तर अगुवाई गर्न जरुरी पनि छ ।’ शर्माको भनाई थियो ।
उपन्यासमाथि समिक्षा गर्दै थम्मन बस्नेतले भने, ‘बीस वर्षे नवयुवाले यति गहिरो विषयबस्तुमा कलम चलाउनु चानचुने कुरा होइन । उपन्यासले नेपाली समाजको यथार्थ चित्रण गरेको छ ।’
‘वन वे टिकटले केही आसा, केही सपना, केही पैसा र केही खुसी प्राप्त गर्न विदेसिने नेपाली युवाहरुको व्यथालाई गहिरो गरी छोएको छ ।’ बस्नेतले थपे ।
डा. टीकाराम उदासीको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा लेखक बिम्ब पन्थी, डा. नारायण पन्थी, सुरेश कुमार पाण्डे लगायतले मन्तव्य राखेका थिए भने अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले कार्यक्रमको सहजीकरण गरेका थिए ।
उपन्यासकार बिम्बको यो अङ्ग्रेजी भाषामा प्रकाशित तेस्रो उपन्यास हो । यसअधि उनका पर्ल र लुङ्ग्री गरि दुई उपन्यास प्रकाशित छन् । किताबको बजार मूल्य ३९९ रुपैँया रहेको छ ।


