आज दिनभरका प्रमुख २० समाचार – Kanika Khabar
Wednesday, August 5Nepali News Portal

आज दिनभरका प्रमुख २० समाचार

    मा प्रकाशित

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका वर्षमा खरिद गरेका डिजिटल ट्रान्समिटर, अडियो–भिडियो उपकरण, ग्राफिक्स प्रणाली, प्लेआउट अटोमेसन तथा डिजिटल प्लेटफर्मसम्बन्धी खरिद प्रक्रियामा अनियमितता र कानुनी त्रुटि भएको निष्कर्षसहित गठित छानबिन समितिले आफ्नो प्रतिवेदन सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई बुझाएको छ । डा. सुदीप भट्टराईको संयोजकत्वमा गठित समितिले केही खरिद प्रक्रिया नियमविपरीत भएको र संस्थामा अनावश्यक आर्थिक दायित्व सिर्जना गरिएको जनाएको छ । प्रतिवेदनअनुसार डिजिटल प्रसारणमा रूपान्तरणका लागि तयार गरिएको मार्गचित्र व्यवहारिक नभएकाले नेपाल टेलिभिजनले अझै पूर्ण रूपमा डिजिटल प्रसारणको लक्ष्य हासिल गर्न सकेको छैन । त्यस्तै, आर्काइभ डिजिटाइजेसनका लागि विनियोजित बजेटलाई नियमविपरीत अन्य शीर्षकमा खर्च गरिएको, मन्त्रालयको पूर्वस्वीकृतिबिनै करिब चार करोड ८७ लाख रुपैयाँ बराबरको अडियो–भिडियो उपकरण खरिद गर्ने निर्णय गरिएको तथा त्यसबाट संस्थाको आन्तरिक कोषमा थप आर्थिक भार परेको उल्लेख गरिएको छ । समितिले ग्राफिक्स प्रणाली खरिदको बोलपत्र मूल्याङ्कन, सम्झौता र भुक्तानी प्रक्रियामा समेत कानुनी त्रुटि भएको औँल्याएको छ। प्राविधिक रूपमा अयोग्य प्रस्तावलाई ठेक्का दिइएको, बोलपत्रका अनिवार्य सर्त पालना नगरिएको तथा सम्झौतामा पछि छेडछाड गरी थप कम्पनीलाई पक्ष बनाइएको प्रतिवेदनमा उल्लेख छ। यस्ता कार्यमा संलग्न कर्मचारी तथा पदाधिकारीले गैरकानुनी काम गरेको निष्कर्ष समितिले निकालेको छ । छानबिन समितिले यस्ता अनियमितता भ्रष्टाचार निवारण ऐनअन्तर्गत अनुसन्धानयोग्य रहेको भन्दै आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ। साथै, भविष्यमा यस्ता समस्या दोहोरिन नदिन डिजिटल प्रसारणको मार्गचित्र पुनरावलोकन, पारदर्शी खरिद प्रक्रिया अवलम्बन, स्वदेशी आपूर्तिकर्ताबीच प्रतिस्पर्धा बढाउने तथा प्रसारण प्रणालीलाई समयानुकूल बनाउने सुझाव पनि दिएको छ ।

२- पोखरा महानगरपालिकाले अधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब आठ किलोमिटर लामो फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । खोलालाई सफा, स्वच्छ र प्राकृतिक बहावमा फर्काउँदै वातावरणमैत्री तथा व्यवस्थित कोरिडोर निर्माण गर्ने योजनाअनुसार अतिक्रमण हटाउने कार्य अघि बढाइएको महानगरले जनाएको छ । यसका लागि नगर प्रमुखको अध्यक्षतामा फिर्के खोला क्षेत्रका आठवटै वडाका वडाध्यक्षको बैठकले खोला घरभित्रको पछिल्लो अवस्थाको स्थलगत अध्ययन गरी पूर्ण विवरणसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्न प्राविधिक र नगर प्रहरीलाई जिम्मेवारी दिएको छ । महानगरले यसअघि आफ्ना संरचना आफैँ हटाउने मौखिक सहमति गरेका व्यक्ति तथा संस्थालाई भदौ १५ गतेभित्र अनिवार्य रूपमा संरचना हटाउन पुनः आग्रह गरेको छ । तोकिएको समयभित्र संरचना नहटाए महानगरले प्रचलित कानुनबमोजिम हटाई त्यसबापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुल गर्ने चेतावनी दिएको छ । महानगरले असोज १ गतेदेखि पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० (दोस्रो संशोधन–२०८२) कार्यान्वयन गर्दै फिर्के खोलाको कोरिडोर निर्माणसम्बन्धी प्राविधिक तथा अन्य आवश्यक काम सुरु गर्ने जनाएको छ । साथै फिर्के खोलाको संरक्षण, विकास र संवर्द्धनमार्फत वातावरणमैत्री पोखरा निर्माणको अभियानमा सहयोग गर्न सबै नगरवासीलाई आग्रह गरेको छ ।

३.- मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक पोस्ट हटाइएको घटनाप्रति भारत सरकारसँग माफी मागेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मेटाले आफ्ना प्लेटफर्ममा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री, कृत्रिम रूपमा तयार गरिएका भ्रामक दृश्य सामग्री र सामग्री व्यवस्थापनमा कमजोरी भएको स्वीकार गरेको छ । मेटाको विश्वव्यापी टोलीले कम्पनीका विश्वव्यापी मामिला प्रमुख जोएल क्याप्लानको नेतृत्वमा भारतका सूचना प्रविधिमन्त्री अश्विनी वैष्णव र सूचना प्रविधि सचिव एस. कृष्णनसँग भेटवार्ता गरेको थियो । प्रधानमन्त्री मोदीको फेसबुक पोस्ट हटाइएपछि भारत सरकारले स्पष्टीकरणका लागि मेटालाई बोलाएको थियो । प्रधानमन्त्री मोदीले जुलाई २३ मा फेसबुकमा सार्वजनिक गरेको भिडियोमा प्रश्नपत्र चुहावटलाई गम्भीर समस्या भन्दै यस्ता मुद्दाको छिटो सुनुवाइका लागि विशेष अदालत गठन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उक्त भिडियो केही समय फेसबुकबाट हटाइए पनि पछि मेटाले पुनः सार्वजनिक गरेको थियो । भेटका क्रममा मेटाले केही प्रकारका सामग्रीलाई प्रवर्द्धन गर्न ठूलो रकम खर्च गरिएको र त्यसका कारण अवैध सामग्रीसमेत प्रवर्द्धन भएको स्वीकार गरेको बताइएको छ। यद्यपि, कुन प्रकारका सामग्रीको विषयमा यस्तो स्वीकारोक्ति गरिएको हो भन्ने खुलाइएको छैन । भारत सरकारले मेटालाई सूचना प्रविधि ऐनअन्तर्गत आफूलाई केवल मध्यस्थकर्ता कम्पनीका रूपमा प्रस्तुत गरेर जिम्मेवारीबाट पन्छिन नमिल्ने स्पष्ट पारेको छ । सरकारले मेटाले कुन सामग्री कुन प्रयोगकर्तासम्म पुग्ने भन्ने निर्णय गर्ने भएकाले कानुनले प्रदान गर्ने विशेष कानुनी संरक्षणको सुविधा नपाउने पनि जनाएको छ । बैठकमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री, कृत्रिम रूपमा सिर्जना गरिएका भ्रामक दृश्य सामग्री, प्रमाणीकरण गरिएका खाताको सुरक्षा, सामग्री छनोट गर्ने प्रणालीमा देखिएको पक्षपात तथा भारतीय कानुनको पालना सम्बन्धमा पनि सरकारले मेटासँग जवाफ मागेको छ । यी विषयमा थप छलफलका लागि मेटाका अधिकारीलाई पुनः बोलाइने जनाइएको छ ।

४- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन गर्ने भएको छ । प्रतियोगिताको मिति तय भए पनि आयोजना हुने स्थान भने अझै टुङ्गो लागेको छैन । आईसीसीले यस वर्ष सार्वजनिक गरेको नयाँ विश्वकप संरचनाअनुसार १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेताले १४ टोली सहभागी हुने विश्वकपको मुख्य चरणमा सिधै स्थान बनाउनेछ । दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले ‘सुपर सिरिज’ खेल्नेछन्, जहाँ शीर्ष स्थान हासिल गर्ने टोलीले मुख्य १२ टोलीको चरणमा प्रवेश गर्नेछ । विश्वकप भने अक्टोबर ४ देखि नोभेम्बर २१ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका १२ मैदानमा आयोजना हुनेछ। छनोट प्रतियोगितामा सेप्टेम्बर ३०, २०२६ सम्मको एकदिवसीय वरीयताअनुसार आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेबाहेक सबैभन्दा पुछारमा रहेका दुई पूर्ण सदस्य राष्ट्र, विश्वकप लिग–२ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट छनोट हुने चार टोलीले सहभागिता जनाउनेछन् । प्लेअफमा लिग-२ का पुछारका चार टोलीसँगै च्यालेन्ज लिगका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। च्यालेन्ज लिगमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहका शीर्ष दुई टोली प्लेअफमा पुग्नेछन् । प्लेअफको ढाँचा भने अझै सार्वजनिक गरिएको छैन । यसबीच दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज पुनः छनोट खेल्नुपर्ने जोखिममा परेको छ । हाल एकदिवसीय वरीयताको १०औँ स्थानमा रहेको वेस्ट इन्डिजले कटअफअघि भारतसँग दुई एकदिवसीय खेल मात्रै खेल्नेछ । अफगानिस्तान र आयरल्यान्डबीच हुने शृंखलाको नतिजाले पनि उसको वरीयतामा प्रभाव पार्नेछ । आयरल्यान्डले अफगानिस्तानलाई ४-१ वा ५-० ले पराजित गरे र वेस्ट इन्डिजले भारतविरुद्ध दुवै खेल जिते शीर्ष आठमा पुग्ने सम्भावना रहनेछ । तर अफगानिस्तानले सिरिज जिते वेस्ट इन्डिजले विश्वकपमा स्थान बनाउन फेरि छनोट प्रतियोगिता खेल्नुपर्ने लगभग निश्चित हुनेछ । वेस्ट इन्डिजले यसअघि पनि सन् २०२३ को एकदिवसीय विश्वकप गुमाएको थियो । हरारेमा भएको छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससँग ‘सुपर ओभर’मा पराजित भएपछि वेस्ट इन्डिज विश्वकपमा स्थान बनाउन असफल भएको थियो । हाल विश्वकप लिग- २ खेलिरहेको नेपाल भने शिर्ष चारमा परेर विश्वकपको छनौट खेल्ने अवसर गुमाएको छ भने अब प्लेअफ खेल्दै छनौटको अवसर भने बाँकी रहेको छ । लिग- २ मा नेपालले अब चार खेल खेल्न बाँकी रहेको अवस्थामा ३२ खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

५- स्पेसएक्सको फाल्कन–९ रकेटको माथिल्लो भाग बुधबार चन्द्रमाको आइन्स्टाइन विवर नजिक ठोक्किएको छ । करिब ४ हजार ५ सय किलोग्राम तौल र १२ मिटर लम्बाइ रहेको यो भाग नेपाली समयअनुसार दिउँसो करिब १२:२५ बजे चन्द्रमामा ठोक्किएको हो । यद्यपि, वैज्ञानिकहरूले यसको विस्तृत विवरण सार्बजनिक हुन समय लाग्ने बताएका छन् । यो रकेटको भाग सन् २०२५ जनवरी १५ मा प्रक्षेपण गरिएको थियो । त्यसबेला यसले फायरफ्लाई एयरोस्पेसको ‘ब्लु घोस्ट–१’ र आइस्पेसको ‘हाकुटो–आर मिसन–२’ चन्द्र अवतरण यानलाई चन्द्रमातर्फ पठाएको थियो । आफ्नो मुख्य काम पूरा गरेपछि रकेटको माथिल्लो भाग करिब १९ महिनादेखि अन्तरिक्षमा पृथ्वी र चन्द्रमाबीच घुमिरहेको थियो । वैज्ञानिकहरूका अनुसार पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण तथा सूर्यको विकिरणको हल्का दबाबका कारण यसको मार्ग बिस्तारै परिवर्तन हुँदै गएको थियो । अन्ततः यही परिवर्तनले रकेटको भागलाई चन्द्रमासँग ठोक्किने मार्गमा पुर्‍याएको हो । स्पेसएक्सले रकेटको इन्धन पहिले नै निकालेर सुरक्षित बनाइएको भए पनि यस्तो उच्च गतिमा रहेको वस्तुलाई नियन्त्रित रूपमा नष्ट गर्न सम्भव नभएको जनाएको छ । हाल विभिन्न अन्तरिक्ष निकायहरूले यस घटनाको निगरानी गरिरहेका छन् । आगामी केही दिनमा चन्द्रमाको परिक्रमा गरिरहेका अनुसन्धान यानहरूले ठक्करबाट बनेको नयाँ विवरको अध्ययन गर्ने अपेक्षा गरिएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले भने यस घटनाबाट पृथ्वीलाई कुनै खतरा नरहेको स्पष्ट पारेको छ ।

६-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  वर्तमान अवस्थामा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रदेश सरकार कांग्रेस, एमाले र नेकपाले नै गठन गर्नुपर्ने धारणा दोहोर्‍याउँदै भविष्यमा कुनै निर्णय लिनुपर्ने अवस्था आए पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । साथै पार्टीको निर्देशनबिना सत्ता केन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेश संसदीय दल र सांसदलाई निर्देशन दिएको छ । बैठकले मंसिर २६, २७ र २८ गते हुने पार्टीको महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन विभिन्न समिति पनि गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा तथा जुलुस व्यवस्थापन समिति, ध्रुवबहादुर प्रधानको नेतृत्वमा अतिथि सत्कार समिति, हेमजङ गुरुङको नेतृत्वमा भोजन व्यवस्थापन समिति, महामन्त्री भुवन पाठकको नेतृत्वमा समारोह व्यवस्थापन समिति र महामन्त्री राजेन्द्र गुरुङको नेतृत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति गठन गरिएको छ । त्यसैगरी कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति, गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङको नेतृत्वमा सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति, डा. विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति, प्रवक्ता मोहनकुमार श्रेष्ठको नेतृत्वमा प्रचारप्रसार समिति, दीपक रञ्जितको संयोजकत्वमा शान्ति सुरक्षा तथा व्यवस्थापन समिति, इन्जिनियर सजिना कार्कीको नेतृत्वमा स्वास्थ्य समिति तथा ध्रुवविक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिलाई स्वागतद्वार व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

७- विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव पाकिस्तानस्थित ब्रेड पिक हिमालबाट सफलतापूर्वक उद्धार गरी आधार शिविरमा ल्याइएको छ । अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिमा सञ्चालन गरिएको उद्धार अभियान सफल भएको सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड) ले जानकारी दिएका हुन् । मिङ्माले यस अभियानलाई सफल बनाउन पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, पाकिस्तान अल्पाइन क्लब तथा सहयोग गर्ने सबै संस्था र व्यक्तिप्रति पनि कृतज्ञता व्यक्त गरेका छन् । निम्स पुर्जाको शव फिर्ता ल्याउनु केवल एक पर्वतारोहीको उद्धार मात्र नभई एक श्रीमान्, पिता, छोरा, दाजुभाइ, साथी तथा एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, निम्सदाइ स्टोर र स्काइडाइभ निम्सदाइ परिवारको अभिन्न सदस्यलाई घर फर्काउने प्रयास भएको उल्लेख गरेका छन् । अब निम्स पुर्जासहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाले आफ्ना परिवारसँग अन्तिम बिदाइको यात्रा सुरु गर्न पाउने उनले उल्लेख गरेका छन् । अझै बेपत्ता रहेका अन्य तीन पर्वतारोहीका परिवारप्रति पनि समवेदना व्यक्त गर्दै सुरक्षित अवस्था बनेपछि उनीहरूको खोजी र उद्धारका लागि सम्भव सबै प्रयास जारी राखिने उनले बताएका छन् । अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार पहिलो चरणको उद्धारमा एक नेपालीसहित २ आरोहीको शव र एक आरोहीको अवशेष संकलन गरिएको थियो ।  नेपाली आरोही ग्यालु शेर्पाको शव संकलन शनिबार गरिएको थियो । आइतबार थप ४ आरोहीको शव पहिचान गरिएको थियो । तीमध्ये निम्स दाइ, वाङ झोङ, निमा शेर्पा र किलु पेम्बा रहेका थिए । पाकिस्तानी आरोही सोहेल साकी र अमेरिकी आरोही म्यालोरी गाइसको खुट्टाबाहेकको शरीर अझै फेला नपरेको क्लबले उल्लेख गरेको छ ।

८-  नेपाली कांग्रेसका उपसभापति तथा नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको प्रतिष्ठानको छैटौँ बैठकले थप ६ वटा उपसमिति गठन गरेको छ । बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा ‘समीर’, उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिमा कैलाश केसी, यौनिक तथा लैंगिक अल्पसंख्यकसम्बन्धी नीति तथा कार्ययोजना उपसमितिमा प्रतीक्षा चापागाई, ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिमा अनुपा श्रेष्ठ, सीमान्तीकृत वर्ग तथा समुदाय संवाद र सशक्तीकरण उपसमितिमा नरेन्द्र पासवान तथा स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिमा डोलराज भुसाललाई संयोजकको जिम्मेवारी दिएको छ। बैठकले पार्टी सभापतिसँगको परामर्शमा हालसम्म गठन भएका उपसमितिहरूलाई आवश्यक सहजीकरण गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ। यी नयाँ उपसमितिसँगै नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत हालसम्म गठन भएका उपसमितिको संख्या ३१ पुगेको छ ।

९- नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बालेन्द्र शाह नेतृत्वको सरकार पाँच महिनामै गलत बाटोमा हिडेको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलनमा बोल्दै विप्लवले विद्रोहपछि जनादेश प्राप्त सरकारले जनताको भावना, आकांक्षा र विशेषगरी जेनजीका अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् । विप्लवले भने- ‘पाँच महिनाको अभ्यासमा सरकारको चालढाल हेर्दा जनतामा पश्चाताप सुरु हुन थालेको छ । बेचैनी बढेको छ । असन्तुष्टि, आक्रोश र एक प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेकोप्रति गम्भीर प्रश्न उठ्न थालेका छन् । बालेन सरकारप्रति मानिसका धारणाहरू पनि उल्टिन थालेका छन् ।’ विप्लवले नयाँ पुस्तामा असन्तुष्टि बढ्दै गएको दाबी गर्दै जेनजी विद्रोहीहरूले पुनः सडकबाट आफ्ना आवाज उठाउन थालेको दाबि गर्दै देशमा फेरि आन्दोलन, संघर्ष र विद्रोहको वातावरण बन्दै गएको बताए । सुरुमा सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने छनक दिएको बताउदै विप्लवले एक सातामै राज्य भ्रष्टाचारीविरुद्ध होइन, जनताविरुद्ध दमनमा उत्रिएको बताए ।

१०- नेप्सेमा आज सामान्य बढेको छ । आज बुधबार नेप्से ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड ६७ हजार ७३२ कित्ता शेयर ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ मा कारोबार भएको थियो । आज  बैंकिंग, विकास बैंकम फाइनान्स, लगानी, जीवन बीमा, माइक्रो फाइनान्स म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी सोलु हाइड्रोको शेयरमा १४.९९ प्रतिशतले बढेको छ भने शिखर पावरको शेयर ५.७९  प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ९.०३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ५८ करोड १० लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३४ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।

११- नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा ‘टप इन्ड टी-२० सिरिज खेल्ने भएको छ । अस्ट्रेलियाको नर्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त २० देखि ३० सम्म अस्ट्रेलियाको डर्विनमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । यस प्रतियोगितामा नेपालले खेल्ने खेल तालिका सार्बजनिक भएको छ नेपालले अगस्त २१ मा नर्थर्न टेरोटोरी स्ट्राइकसँग खेल्ने छ भने अगस्त २२ मा बंगलादेशसँग, अगस्त २४ मा हुरिक्यान्ससँग, २६ अगस्तमा एसिटी कोमेटससँग, अगस्त २७ मा किंग्सम्यानसँग र अगस्त २९ मा भिक्टोरियासँग खेल्ने तालिका छ ।

१२- मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न सात महत्त्वपूर्ण निर्णय गरेको छ ।  बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नुका साथै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङकी उक्यावलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । बैठकले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिएको छ। साथै पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि गरेको छ। यस्तै, बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको राहत र उपचारको व्यवस्था गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

१३- नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन गरेको छ । टिमले आजदेखि नै आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ । ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाइएको हो । क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मङ्गल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी,  ग्यास उधोगबाट  आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन् । टिमको मुख्य उद्देश्य देशका जुनसुकै स्थानमा एलपीजी ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु रहेको छ । निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढेपछि समस्या तत्काल सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको हो। टिमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै सकेसम्म तत्काल समाधान गर्ने गरी काम गर्नेछ । उपभोक्ताले ग्यास आपूर्ति सम्बन्धी कुनै समस्या वा गुनासो भए कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। उक्त नम्बरमा प्राप्त हुने गुनासोमाथि क्विक रेस्पोन्स टिमले तत्काल आवश्यक पहल गरी समाधान प्रक्रिया अगाडि बढाउने निगमले जनाएको छ।

१४- रुसले युक्रेनमाथि ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनमार्फत भीषण आक्रमण गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । यस वर्ष राजधानी किभमा भएका सबैभन्दा घातक आक्रमणमध्ये यो एक भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमण सुरु भएपछि एक घण्टाभन्दा बढी समयसम्म किभ र आसपासका क्षेत्रमा हवाई आक्रमणको चेतावनी साइरन बजाइएको थियो । युक्रेनको किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले रुसले फेरि एकपटक किभ क्षेत्रमा व्यापक आक्रमण गरेको बताएका छन्। उनका अनुसार बोरिस्पिल जिल्लामा नौ, बुचा जिल्लामा चार र फास्टिभ जिल्लामा एक जनाको मृत्यु भएको छ । किभ सैन्य प्रशासनका अनुसार आक्रमणबाट आवासीय भवन र गोदाममा क्षति पुगेको छ। रुसको निरन्तर ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको सामना गर्न युक्रेनले आफ्ना सहयोगी राष्ट्रहरूसँग अमेरिकी ‘प्याट्रियट’ वायु रक्षा प्रणालीका थप क्षेप्यास्त्र अवरोधक उपलब्ध गराउन आग्रह गरेको छ। यता रुसको रक्षा मन्त्रालयले भने किभ र आसपासका क्षेत्रमा रहेका हतियार भण्डारण, सैन्य सामग्री आपूर्ति केन्द्र तथा मानवरहित हवाई उपकरण उत्पादन र वितरण केन्द्रलाई लक्षित गरेर आक्रमण गरिएको जनाएको छ। साथै कालो सागरस्थित ओडेसा बन्दरगाह नजिक हतियार र सैन्य सामग्री बोकेका तीन मालवाहक जहाजलाई पनि निशाना बनाइएको दाबी गरेको छ।

१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४२ सयले बढेर तोलाको २ लाख ८८ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४४७५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४३८० मा कारोबार भएको थियो ।

१६- इजिप्टका स्टार फरवार्ड मोहम्मद सलाह टर्कीको प्रतिष्ठित फुटबल क्लब ट्राब्जोन्स्पोरमा अनुबन्ध हुने भएका छन् । लिभरपुलबाट बाहिरिएपछि अहिले स्वतन्त्र खेलाडीका रूपमा ३४ बर्षिय सलाह ट्राब्जोन्स्पोरमा दुई बर्षका लागि अनुबन्ध भएका हुन् । क्लबले सलाह बुधबार इस्तानबुल पुग्ने बताएको छ । त्यसपछि उनी सोही दिन साँझ ट्राब्जोन जानेछन्। क्लबले स्वागत कार्यक्रमको समय र अन्य विवरण आधिकारिक सञ्चार माध्यममार्फत सार्वजनिक गर्ने जनाएको छ । ‘ब्ल्याक सी स्टर्म’ उपनामले चिनिने ट्राब्जोन्स्पोर टर्कीको सफल क्लबमध्ये एक हो । क्लबले हालसम्म सात पटक लिग उपाधि जितेको छ, जसमध्ये छ उपाधि सन् १९७६ देखि १९८४ बीचमा जितेको थियो । सन् २०२२ मा ३८ वर्षपछि पुनः लिग उपाधि जित्दै क्लबले ऐतिहासिक सफलता हासिल गरेको थियो । उत्तरपूर्वी टर्कीको ट्राब्जोन सहरमा रहेको यो क्लब टर्कीको शीर्ष लिग जित्ने केवल छ क्लबमध्ये एक हो । सलाह सन् २०१७ को जुनमा रोमा क्लबबाट लिभरपुल पुगेका थिए । नौ वर्षको बसाइमा उनले लिभरपुललाई दुई पटक इङ्ग्लिस प्रिमियर लिग, एक पटक युरोपेली च्याम्पियन्स लिग, क्लब विश्वकप, युरोपेली सुपर कप, एक पटक एफए कप, दुई पटक इङ्ग्लिस लिग कप र कम्युनिटी शिल्ड जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । लिभरपुलका लागि उनले ४४२ खेलमा २५७ गोल गरेका थिए भने १२० गोलमा अवसर सिर्जना गरेका थिए । साथै उनले चार पटक प्रिमियर लिगको सर्वाधिक गोलकर्ता पुरस्कार जितेका थिए भने सन् २०१८, २०२२ र २०२५ मा व्यावसायिक फुटबल खेलाडी सङ्घको वर्ष उत्कृष्ट खेलाडी घोषित भएका थिए । सलाह सन् २०२६ को विश्वकपमा इजिप्टको टोलीबाट खेलेका थिए । इजिप्ट अन्तिम १६ सम्म पुगे पनि त्यस चरणमा उपविजेता बनेको अर्जेन्टिनासँग ३-२ गोलले पराजित भएको थियो ।

१७- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ । मंगलबार इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा साउन २० गते बिहान ३:३० बजे उपचारकै क्रममा मृत्यु छ । मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

१८- सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको वर्षौँदेखिको रोयल्टी, दूरसञ्चार सेवा शुल्क र ग्रामीण दूरसञ्चार विकास कोषको बक्यौता विवाद टुंग्याउने प्रक्रिया अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालसँगको छलफलमा कानुनअनुसार तिर्नुपर्ने कर तथा शुल्क अनिवार्य रूपमा असुल गरिने, तर अन्यायपूर्ण व्यवस्था भए पुनरावलोकन गर्न सकिने बताए । उनले जायज माग मात्रै सम्बोधन हुने स्पष्ट पार्दै सेवा प्रदायकलाई लिखित सुझाव दिन आग्रह गरे । मन्त्री तिमिल्सिनाले बक्यौता नतिरी लाइसेन्स नवीकरणको अपेक्षा गर्न नमिल्ने बताउँदै सेवा प्रदायक कम्पनीहरूको संख्या धेरै भएकाले प्रभावकारी नियमनका लागि मर्जर वा प्राप्तिको विकल्प पनि खुला रहेको उल्लेख गरे । आइस्पानले भने अधिकांश कम्पनी आर्थिक दबाबमा रहेकाले पाँच वर्षसम्मको बक्यौता एकैपटक तिर्न नसक्ने भन्दै रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम किस्ताबन्दीमा बुझाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। लाइसेन्स नवीकरण रोकिँदा सेवा विस्तार, बैंकिङ कारोबार र व्यवसाय सञ्चालन प्रभावित भएको तथा दूरसञ्चार सेवा शुल्क र कर निर्धारणको पुनरावलोकन आवश्यक रहेको सङ्घले जनाएको छ। हाल अधिकांश सेवा प्रदायकले रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र अन्य शुल्कको बक्यौता अझै तिर्न बाँकी छ ।

१९- औद्योगिक क्षेत्रभित्र सम्झौता कार्यान्वयनमा कडाइ थालिएको छ। यसैक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शाखा कार्यालय बालाजु ले सम्झौता विपरीत गतिविधि गरेको भनिएको कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रा.लि. लाई छलफलका लागि उपस्थित हुन पत्राचार गरेको छ । शाखा कार्यालय बालाजुले उद्योगलाई पठाएको पत्रमा उद्योग र कार्यालयबीच भएको सम्झौताका विभिन्न सर्त पालना नभएको विषय उठाइएको छ। सम्झौताको उद्देश्यअनुसार उद्योग सञ्चालन गर्न आग्रह गर्दै कार्यालयले यसअघि पनि पटक–पटक मौखिक तथा लिखित रूपमा जानकारी गराउँदै आएको जनाएको छ। तर, उद्योगका प्रतिनिधिले कार्यालयको पत्र बुझ्न नमानेपछि उक्त पत्र उद्योगको गेटमा टाँस गरी मुचुल्कासमेत गरिएको जनाइएको छ । कार्यालयका अनुसार सम्झौतामा गाडी मर्मत तथा सर्भिसिङसम्बन्धी उद्योग सञ्चालन गर्न जग्गा उपलब्ध गराइएको भए पनि सम्झौताको उद्देश्यविपरीत गतिविधि भएको पाइएको छ। उद्योगको दर्ता प्रमाणपत्रमा समेत सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्ने उद्देश्य उल्लेख भए पनि सोहीअनुसार कार्य नभएको कार्यालयको पत्रमा उल्लेख छ । यसअघि कार्यालयले सम्झौताको सर्तअनुसार काम गर्न समयसीमासहित निर्देशन दिएको थियो। तोकिएको समयभित्र सम्झौताअनुसार काम नभए सम्झौता रद्द गर्ने चेतावनीसमेत दिइएको पत्रमा उल्लेख छ । त्यसपछि कार्यालयले उद्योगलाई उपलब्ध गराउँदै आएको विद्युत् तथा पानीको सेवा विच्छेद गरेको थियो। सेवा विच्छेदका कारण उत्पादन बन्द भएको भन्दै उद्योगले असहमति जनाए पनि सम्झौतामा क्षेत्र र उद्योगबीच विवाद उत्पन्न भए आपसी छलफलबाट समाधान गर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ । औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरूले सम्झौतामा उल्लेखित उद्देश्यअनुसार नै व्यवसाय सञ्चालन गर्नुपर्ने र सम्झौताका सर्त उल्लंघन भएमा व्यवस्थापनले आवश्यक कदम चाल्ने प्रक्रिया अघि बढाएको हो । शाखा कार्यालय बालाजुले पछिल्लो पत्रमार्फत ७ दिनभित्र छलफलमा उपस्थित भई सम्झौताका सर्तअनुसार अघि बढ्न उद्योगलाई आग्रह गरेको छ। पत्र बुझ्न नमानेपछि उद्योगको गेटमै पत्र टाँस गरी मुचुल्का गरिएको घटनाले भने अब औद्योगिक क्षेत्र व्यवस्थापन सम्झौता कार्यान्वयनमा थप कडाइका साथ अघि बढ्ने संकेत गरेको छ ।

२०- अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा वार्ता सकारात्मक दिशातर्फ अघि बढेको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको छ । विश्व बजारको प्रमुख मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेर प्रतिव्यारेल ८० अमेरिकी डलरभन्दा तल पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेल पनि पाँच प्रतिशतभन्दा बढी घटेर करिब ७६ अमेरिकी डलरमा कारोबार भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले होर्मुज  जलडमरूमध्यमार्फत जहाज आवागमन पुनः सुरु गर्ने विषयमा भएको छलफलमा प्रगति भएको बताएका छन् । उनीहरूका अनुसार आवश्यक सहमति भएमा यसै साताभित्र जलमार्ग खुल्न सक्ने सम्भावना रहेको छ । यद्यपि सम्भावित सम्झौताबारे औपचारिक विवरण सार्वजनिक गरिएको छैन । उता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानमार्फत छलफल भइरहेको जनाएको छ । विश्वको दैनिक कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौं भाग ओसारपसार हुने होर्मुज जलडमरूमध्य द्वन्द्व सुरु भएपछि अधिकांश समय अवरुद्ध रहँदै आएको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा दबाब सिर्जना गर्दै तेलको मूल्यमा तीव्र उतारचढाव ल्याएको थियो । पछिल्ला महिनाहरूमा वार्ताको सम्भावना देखिँदा मूल्य घट्ने र तनाव बढ्दा प्रतिव्यारेल १२० अमेरिकी डलरभन्दा माथिसम्म पुग्ने अवस्था देखिएको थियो । विश्लेषकहरूले स्थायी सहमति हुनेमा अझै अनिश्चितता रहेको बताएका छन् । मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल बोक्ने जहाजको सुरक्षा जोखिम अझै उच्च रहेको र यमन नजिकै हालै भारतीय झण्डावाहक जहाज डुबेको घटनाले अवस्था थप संवेदनशील बनेको उनीहरूको भनाइ छ । यसबीच तेलको मूल्यमा आएको वृद्धिले विश्वका धेरै देशमा पेट्रोल र डिजेल महँगिएको छ भने ठूला तेल कम्पनीहरूले उच्च नाफा कमाइरहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्