सरकारी कागजात सच्याएको आरोपमा वडा अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा – Kanika Khabar
Monday, August 10Nepali News Portal

सरकारी कागजात सच्याएको आरोपमा वडा अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा

    मा प्रकाशित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशल कुमार धोवीसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार वडा अध्यक्ष धोवी, वडा सचिव वीर बहादुर थापा मगर तथा विकास कुमार चापागाईँ र रविन्द्र लामिछानेसमेतको मिलेमतोमा सरकारी कागजात सच्याएर गैरकानुनी लाभ लिने प्रयास भएको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानका क्रममा २०७९ साउन १० गते रविन्द्र लामिछाने र विकास कुमार चापागाईँबीच भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित कित्ता नम्बर ९९८ को १६४ दशमलव १४ वर्गमिटर जग्गा खरिदका लागि ७० लाख रुपैयाँ लेनदेन भएको झुट्टा तथा नक्कली करारनामा तयार गरिएको पाइएको आयोगले जनाएको छ ।

उक्त करारनामालाई नेपालगन्ज उपमहानगरपालिका–२० को वडा कार्यालयको आर्थिक वर्ष २०७९/८० को लिखत प्रमाणित दर्ता किताबमा पछि सच्याई थपघट गरी प्रमाणित गरिएको तथा सरकारी छापसमेत दुरुपयोग गरिएको आयोगको दाबी छ ।

त्यस्तै, वडा अध्यक्ष धोवी र वडा सचिव थापा मगरले पदको दुरुपयोग गरी २०८३ असार २९ गतेको चलानी नम्बर ७२४० को विवरणसमेत फेरबदल गरेर चलानी नम्बर ७२४२ मा झुट्टा विवरणसहितको गलत लिखत तयार गरी आयोगमा पठाएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।

उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुर भएको दाबी गर्दै आयोगले कानुनबमोजिम सजायको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्