लण्डन। गैरआवासीय नेपाली प्राज्ञहरुको संस्था ‘ब्रिज नेपाल‘ ले काठमाडौँ विश्वविद्यालय (केयु) को उपकुलपति छनोट प्रक्रिया अपारदर्शी र स्वार्थको द्वन्द्वबाट ग्रसित भएको भन्दै तत्काल हस्तक्षेप गर्न सरकार र प्रधानमन्त्रीसँग माग गरेको छ। बेलायतमा कार्यरत नेपाली अनुसन्धानकर्ता तथा प्राज्ञहरुको तर्फबाट एक विज्ञप्ति जारी गर्दै संस्थाले उपकुलपति चयन प्रक्रियालाई मर्यादित र पारदर्शी बनाउन अपिल गरेको हो।
उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने सरकारको प्रारम्भिक कदम आशालाग्दो भए पनि हालै विभिन्न विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा भएका नियुक्तिहरू नातावाद, कृपावाद र राजनीतिक स्वार्थबाट प्रेरित देखिएका छन्। विश्वस्तरको बौद्धिक नेतृत्व चयन गर्नुको सट्टा दलीय निष्ठाका आधारमा नियुक्ति दिइएको भन्दै प्राज्ञिक समुदायले चिन्ता व्यक्त गरेको छ।
उपकुलपति छनोट प्रक्रियालाई ‘नाटक‘ को संज्ञा दिँदै सर्टलिस्टमा परेका विदेशी विश्वविद्यालयका उम्मेदवारले अन्तर्वार्ता नै बहिष्कार गरेको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ।
गत २२ जुलाई २०२६ मा छनोट समितिका सदस्य आफैँ धुलिखेल अस्पताल पुगेर निश्चित उम्मेदवारलाई अल्पसूचीमा पार्न सहमति गरेको आरोप लगाउँदै यो कार्यले छनोट प्रक्रियाको मापदण्ड र ‘स्वार्थको द्वन्द्व‘ सम्बन्धी प्रावधानको ठाडो उल्लङ्घन गरेको दाबी गरिएको छ।
अन्तिम अन्तर्वार्ता सत्र कुनै पनि विषय विज्ञको उपस्थितिबिना सञ्चालन गरिएको र निर्णयकर्ता पदधारीहरूसँग आवश्यक उच्च शैक्षिक उपाधि (पीएचडी) तथा योग्यता जाँच्ने अनुभव समेत नरहेको विज्ञप्तिमा उल्लेख छ।
केयुको बहिर्गमित नेतृत्वले ४५० शय्याको आफ्नै शिक्षण अस्पताल बनाउन स्रोत सुनिश्चित गरेलगत्तै सो योजना तुहाउने उद्देश्यले स्वार्थ समूह सक्रिय भएको भन्दै यसको निष्पक्ष छानबिन माग गरिएको छ। प्रक्रियाको पारदर्शिता र साख जोगाउन आवेदन दिएका सबै ३५ जना उम्मेदवारहरूले पेश गरेका ‘भिजन पेपर‘ (कार्ययोजना), रणनीति पत्र र उनीहरूले प्राप्त गरेको अङ्क विवरण शिक्षा मन्त्रालयको वेबसाइटमार्फत तुरुन्त सार्वजनिक गर्न प्रधानमन्त्री तथा केयुका कुलपतिसमक्ष ब्रिज नेपालले आग्रह गरेको छ।


