गगनले शेरबहादुरलाई भनेँ : तपाईंलाई डुबाए दाइ – Kanika Khabar
Sunday, August 23Nepali News Portal

गगनले शेरबहादुरलाई भनेँ : तपाईंलाई डुबाए दाइ

    मा प्रकाशित

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले आफूले पूर्वसभापति शेरबहादुर देउवालाई भोलि भेट्ने बताएका छन् ।

उनले संस्थापन इतर समूहले गरेको राष्ट्रिय भेलामा केही क्षेत्रीय सभापति, जिल्ला सभापति पुगेको र संस्थापनमा रहेका केही नेताहरू देउवालाई स्वागत गर्न गएको स्मरण गर्दै यसलाई अन्यथा लिन नहुने बताए ।

सभापति  कुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाले ‘सभापति’ को नेमप्लेट राखेकोप्रति चित्त दुखाएका छन् ।

आज केन्द्रीय समिति बैठक समापनका अवसरमा बोल्दै उनले देउवाप्रति लामै गुनासो गरे । देउवालाई उनकै नजिककाले डुबाएको र फेरि डुबाउने भन्दै गगनले सचेत गराएका थिए ।

गनले देउवालाई सम्बोधन गर्दै बोलेका कुराहरु

महाधिवेशनमा तपाईंलाई अतिथिका रुपमा बोलाएर तपाईंको कुरा सुन्न चाहेका छौँ
मेरो आदरणीय नेता, पूर्व सभापति, निवर्तमान सभापति शेरबहादुर देउवालाई भन्नुपर्ने केही कुराहरू छन् । दाइ, तपाईंलाई अस्ति लगेर साथीहरुले नेमप्लेट राखेर सभापति भनेर राख्दिएछन् । मलाई अलिकति नरमाइलो लाग्यो । त्यो बेलामा जसले ‘यसो नगर्नु दाइ’ भनेर भन्यो, ती सबै तपाईँलाई पराई लागे । जसले वरिपरि बसेर धुप बाले, ती आफ्ना लागे । आफ्नाले डुबाए दाइ, फेरि डुबाउँछन् ।

भाद्रको २२ गते हामी शेरबहादुर दाइकै घरमा थियौँ । भाद्रको २३ गते बेलुका पनि त्यहि थियौँ हामी । हामी त्यो दिन पनि केही कुराहरु भनिरहेका थियौँ । भाद्रको २४ गते बिहान पनि सम्भवतस् संवादमा भएको मान्छे म मात्रै हुँला । टेलिफोन संवादमा भएको मान्छे । भाद्रको २५ गते वक्तव्य निकाल्ने मान्छे विश्वप्रकाश शर्मा र म नै हौं । र, अस्पतालमा गएपछि संवाद गर्ने मान्छे ।
असोजको २७ गते बेलुका दुई महामन्त्री बसेर केही कुराहरु गरिसकेपछाडि २८ गते नै हो नि यहाँ बैठक बसेको । २८ गते बिहान

तपाईंको निवासमा आएर तपाईंको वक्तव्य, जो पार्टीको अर्को वरिष्ठ नेताले ड्राफ्ट गर्नुभएको थियो, त्यसमा केही कुराहरु थपेर परिमार्जन गर्ने मान्छे म पनि हुँ । असोज २८ गते बडो सम्मानपूर्वक तपाईंलाई हामीले यहाँबाट बिदा गरेको हो ।
त्यो दिन हामीले हाम्रो सभापतिमाथि गौरव छ भन्ने कुरा राखेको पनि हो । फेरि तपाईंलाई लिन आए । फेरि बोलाउन आए साथीहरु । दाइ सब कुरा भइसक्यो, नेपालमा आउनुपर्‍यो भनेर आए । कसैले तपाईंलाई संसद पुनस्स्थापना हुँदै छ भनेर बोलाए । कसैले होइन दाइ फेरि सब ठिक हुँदैछ भनेर बोलाए । फेरि ढाँटे दाइ । अलमलाए ।

अस्ति विशेष महाधिवेशनको जुन दिन हामीलाई कारबाही भो नि, दुईजना महामन्त्री र फर्मुलाह दाइलाई । त्यो दिन बिहान पनि विश्वप्रकाश शर्मा र म एकाबिहानै पुगेको हो नि । त्यो दिन पनि हामी तपाईंलाई केही कुराहरु भन्न चाहन्थ्यौ । तर त्यो दिन पनि तपाईंलाई सब मिलिसक्यो दाइ, यी दुइटा केटालाई ठोक्दिए हुन्छ भन्दिए । भएन, फेरि ढाँटे ।

दाइ, तपाईंलाई टिकट नदिइकन म चुनाव लड्दिन भन्न मसँग कोही पनि आएन । त्यो बेलामा मेरो दाइलाई टिकट नदिने भए म पनि लड्दिन भन्न कोही आएन । धमाधम टिकट लिएर जानुभयो । लड्नुभयो । अहिले दाइ तपाई नभएको हुनाले हारियो भन्दै छन् । दाइ, फेरि ढाँटे दाइ ।

केही नेताहरु एकदम सिन्सियरली मिलाउन लाग्नुभएको छ । निवर्तमान कार्यवाहक सभापति शेखर कोइराला, म उहाँहरुप्रति सम्मान राख्छु, अरु पनि नेताहरु हुनुहुन्छ । तर केही नेताहरुले मसँग कुराकानी गर्दै गर्दा अहिले जसले तपाईंको नेमप्लेट टालेछन् नि दाइ, ती कसैले पनि फेरि शेरबहादुर देउवाको बारेमा केही कुरा गर्नु पर्छ भनेनन् दाइ मलाई । हामीलाई मिलाए पुग्छ भने दाइ । अहिले तपाईं सभापति नभइकन तपाईंलाई नमानीकन हुँदैन भनेर आएछन्, फेरि ढाँटे दाइ ।

एउटा दुइटा कुरा अहिले तपाईंले बोल्दिनु भयो भने दाइ, देशमा झ्याप्पै एकैचोटी सबै कुरा मिल्छ, अदालत पनि मिलाइसक्या छौँ, त्यसै गरिकन एउटा दुईटा विषय छन्, त्यो विषय तपाईंले बोल्दिएपछि, त्यो पनि एकचोटी होइन तीनचोटी बोल्दिए पछि ठ्याक्कै हुन्छ भनेर तपाईंलाई भन्दिए । दाइ, ढाँटे दाइ ।

त्यसैले मेरो तपाईंप्रति ठूलो सम्मान छ । मेरो पार्टीको निवर्तमान सभापति हुनुहुन्छ । श्रद्धेय पूर्वसभापतिजी हुनुहुन्छ। तपाईंलाई हामीले पार्टीको तर्फबाट निर्णय गरेर भनेका छौँ । हाम्रा तपाईंका कतिपय कुराहरुमा असहमति थिए, छन्, रहन्छन्, भोलि पनि छन् । प्रश्नहरु थिए, रहन्छन् । मसँग पनि छ नि । मसँग यही राख्नुभएको छ पार्टीका नेताहरुले । भोलि म काम गर्दै जाँदैगर्दा कति छन् कति छन् । हुन्छ नि । यो हुने नै यही हो ।

यसले तपाईंले पुर्‍याउनु भएको योगदान, तपाईंले नेपालको डेमोक्रेसीमा गर्नुभएको, सुदूरपश्चिमको त्यो ठाउँबाट आएर गरेको लडाईं यी कुराहरुका सन्दर्भमा त्यसको महत्वलाई कम गर्दैन । त्यो त नेपाली कांग्रेस पार्टीले सधैँ यसलाई सम्झिराख्छ । हामीले तपाईंसँग गर्ने अपेक्षा भनेको असोज १६ गते १५ औँ महाधिवेशन छ ।

हामी १५ औँ महाधिवेशनमा तपाईंलाई बकाइदा सम्मानका साथ निवर्तमान सभापतिको रुपमा अतिथिको रुपमा बोलाउन चाहन्छौँ । तपाईंका कुरा सुन्न चाहन्छौँ । तपाईंको शुभेच्छा लिन चाहन्छौँ । तपाईको मार्गदर्शन लिन चाहन्छौँ । यो नै आजको सत्य हो ।

म आदरणीय सभापतिज्युलाई भन्छु, तपाईंको घरमा त्यो दिन जे भयो, त्यो सम्पूर्ण रुपमा गलत भयो । हामीले त्यही दिन भन्या छौँ, आफ्नो वक्तव्यमा । मेरो घरमा जे भयो त्यो पनि गलत भयो । त्यसैले हामीले पार्टीको निर्णयमा भनेका छौँ । तपाई हुँदै गर्दा पनि भनेका छौँ । अस्ति तपाईं गएपछि पनि भनेका छौँ ।

भाद्र २३ का बारेमा पनि न्यायिक छानबिन भन्यौँ, २४ का बारेमा पनि भनेका छौँ । जुन कुरा दण्डनीय हुनुपर्छ त्यो कुरा दण्डनीय हुनुपर्छ । तर यो भनिरहँदा एउटा कुरा बिर्सनु हुन्न । युवाहरुमा भएको आक्रोश, नागरिकहरुले व्यक्त गरेको असन्तुष्टि हामीहरु प्रतिको हाम्रो शासन शैलीप्रतिको । तिमीहरु बदलिनु पर्छ भनेर गरेको माग, त्यो आह्वान, फेरि केही पनि होइन, ती सबै प्रायोजित हुन्, त्यो जेन्जी आन्दोलन नै केही पनि थिएन भन्ने ढङ्गबाट जुन छलफल गरिराखिएको छ, त्यो मुभमेन्ट प्रतिको पनि हाम्रो अनादर हुन्छ । त्यो सोसाइटीलाई बुझ्ने कुरामा पनि हामी नराम्रोसँग चुक्छौँ ।

हामी दिनरात खाली कांग्रेसको घर झगडा, यो नेताले यो भन्यो, यो नेताले यो भन्यो, यी कुराहरुमा अल्मलिएर बस्न चाहँदैनौँ । यसबाट बाहिर निस्कन चाहन्छौँ। यो कुरामा हामी तपाईको मद्दत चाहन्छौँ । यो कुरामा तपाईले हामीलाई मद्दत गर्नुपर्छ । जसरी असोज २८ मा तपाईं अब मैले छोडेँ साथीहरुले गर्नुस् भनेर जानुभएको थियो, तपाईंलाई फर्काएर ल्याउने जुन दृष्टता साथीहरुले गर्नुभयो र जसको कारणले गर्दा झन् समस्याहरु बल्झिए, फेरि तपाईंलाई आफ्ना कमजोरीहरु वा आफ्ना अप्ठ्याराहरु लुकाउनका निम्ति तपाईलाई ढाल बनाउने कुरा तपाईले बन्न दिनुहुन्न ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्