कनिका खबर
भदौ ३, काभ्रे
काभ्रेको धुलिखेल अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मंगलवार बिहान धुलिखेल नगरपालिका वडा न ६ का ९८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २६ गते धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रश्वास, छाती तथा घाँटीको समस्या रहेको थियो । वृद्धावस्था रहेकाले रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेपछि अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पर्ने डाक्टरको सुझाव थियो । तर समय मै ‘ए’ प्लस पोजिटिभ रगत नपाएको परिवारले जनाएको छ । यसअघि पाँचखाल नगरपालिका वडा नं. १ घर भएका ५० वर्षीया महिलाको कोरोनाकै कारण साउन २६ गते किस्ट अस्पताल काठमाडौँमा मृत्यु भएको थियो ।
धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु भएका ९८ वर्षीय ज्येष्ठ नागरिकको परिवारका थप सात जनामा कोरोना पुष्टि भएको छ । यससँगै मृतक परिवारको दश जनामा कोरोना पुष्टि भएको छ । मृतक परिवारको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा साउन ३१ गते छोरा, बुहारीमा कोरोना पोजिटिभ देखिएको थियो । बाँकी थप सात जनाको हिजो पोजिटिभ अर्थात् कोरोना भएको रिपोर्ट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृतकको सम्पर्कमा रहेका उनका छोरा, बुहारीलगायत नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार मात्र १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा धुलिखेल अस्पतालमा कार्यरत ६ कर्मचारी र बनेपा १३ भैँसेपाटी घर भई स्पाईनल इन्जुरीमा कार्यरत एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । जिल्लामा सङ्क्रमितको संख्या ९४ जना पुगेको छ । जसमा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।