काठमाडौँ । विश्व आत्महत्या रोकथाम दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०२४ देखि २०२६ सम्मका लागि तय गरिएको मूल नारा ‘आत्महत्याबारे सोच बदलौँ’ रहेको छ ।
आत्महत्याका विषयमा समाजमा रहेको मौनता र नकारात्मक धारणालाई हटाउँदै मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे खुला रूपमा संवाद, सहानुभूति र सहयोगको वातावरण बनाउन यस वर्ष जोड दिइएको छ ।
विज्ञहरूले एक दिन मात्र दिवस मनाएर आत्महत्या रोकथाम सम्भव नहुने भन्दै वर्षभरि नै समुदायस्तरमा सचेतना र सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।
नेपालमा आत्महत्याका घटना पछिल्ला वर्षहरूमा बढ्दै गएका छन् । पछिल्लो १० वर्षमा ५६ हजारभन्दा बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ, जुन त्यसअघिको १० वर्षको तुलनामा बढी हो ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा ६ हजार ८६६ जनाले आत्महत्या गरेका थिए । यो औसतमा दैनिक करिब १८ जनाको मृत्यु बराबर हो ।
मनोविद् तथा मनोचिकित्सकहरूले आत्महत्या रोकथाममा परिवार, समुदाय, स्वास्थ्य क्षेत्र, शैक्षिक संस्था र राज्यका सबै निकायको समान भूमिका आवश्यक रहेको बताएका छन् । समयमै समस्या पहिचान गरी सुन्ने, साथ दिने र आवश्यक सहयोग उपलब्ध गराउन सके आत्महत्याका घटना न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ ।


