प्याब्सनद्वारा १२ करोड सहयोग हस्तान्तरण – Kanika Khabar
Saturday, September 12Nepali News Portal

प्याब्सनद्वारा १२ करोड सहयोग हस्तान्तरण

    मा प्रकाशित

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले विपद्का कारण प्रभावित परिवार, समुदाय तथा विद्यालयको पुनर्स्थापना र राहतका लागि १२ करोड प्रधानमन्त्री विपद् राहत कोषमा हस्तान्तरण गरेको छ।

प्याब्सन केन्द्रीय कार्यसमितिले आज अर्थ मन्त्रालयमनर्फत देशका विभिन्न स्थानमा हालै आएको विपदबाट प्रभावित विद्यालय तथा समुदायको पुनर्स्थापनामा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग रकम संकलन तथा हस्तान्तरणको अभियान सञ्चालन गरी देशभर प्याब्सनमा आवद्ध संस्थागत विद्यालयबाट सङकलित रकम सरकारलाई हस्तान्तरण गरेको हो ।
प्याब्सनले रसुवा र नुवाकोट जिल्लाका विपद्बाट गम्भीर रूपमा प्रभावित पाँच सदस्य विद्यालयको पुनर्स्थापनाका लागि २ करोड छुट्टै कोषमा राख्ने निर्णय गरेको छ। उक्त रकम सम्बन्धित विद्यालयले पेस गर्ने वास्तविक बिल, भरपाई तथा आवश्यक प्रमाणका आधारमा स्वीकृत प्रक्रिया पूरा गरी भुक्तानी गरिने प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै, जिल्ला–जिल्लाबाट प्राप्त हुने सहयोग रकम २०८३ भदौ ३१ गते बुधबार राति १२ बजेसम्म मात्र सङ्कलन गरी केन्द्रीय कार्यालयमा पठाउन प्याब्सनले आग्रह गरेको छ। तोकिएको समयपछि संकलन वा प्राप्त हुने रकम केन्द्रीय कार्यालयले स्वीकार नगर्ने भएकाले सम्बन्धित प्रदेश, जिल्ला तथा पालिका कार्यसमितिलाई तोकिएको समयभित्र सहयोग रकम संकलन तथा हस्तान्तरणको कार्य सम्पन्न गर्न अनुरोध गरिएको छ।

विद्यालय पुनर्स्थापना कोषका लागि छुट्याइएको २ करोडबाहेक संकलन भएको बाँकी सहयोग रकम प्रधानमन्त्री विपद् राहत कोषमा हस्तान्तरण गरिने प्याब्सनले जनाएको छ। साथै, सहयोग गर्ने सदस्य विद्यालयको नाम, सहयोग रकम तथा सम्बन्धित विवरण व्यवस्थित रूपमा अभिलेख राखी सम्बन्धित मन्त्रालयमा समेत उपलब्ध गराइने महासचिव आरबी कटवालले जानकारी दिए ।

प्याब्सनले विपद्को संवेदनशील अवस्थामा सहयोग, एकता, संवेदनशीलता र सामाजिक उत्तरदायित्व प्रदर्शन गरेकोमा प्रदेश, जिल्ला, पालिका कार्यसमिति तथा सदस्य विद्यालयहरूप्रति आभार व्यक्त गर्दै प्रभावित विद्यालय तथा परिवारको पुनर्स्थापनामा यस सामूहिक सहयोगले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्