दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी भर्चुअल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार आइएनजी कलेज (आइएनजी इम्प्याक्ट) को प्राविधिक सहकार्यमा आयोजित भर्चुअल अभिमुखीकरणमा दाङका संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्याब्सन दाङले आगामी मङ्सिर १८, १९ र २० गते आयोजना गर्न लागेको ‘जर्नी टु जिनिअस एक्स्पो २०८३’ लाई लक्षित गरी अभिमुखीकरण सञ्चालन गरेको हो । एक्स्पोमा विद्यार्थीले एआईको प्रयोग गरी तयार पार्ने प्रोजेक्टलाई समेत प्राथमिकताका साथ समावेश गर्ने तयारी गरिएको छ ।
कार्यक्रममा आइएनजी कलेज (आइएनजी इम्प्याक्ट) का लुम्बिनी प्रदेश प्रमुख विवेक श्रेष्ठ र एआई प्रशिक्षक पुजन मगरले एआईसम्बन्धी प्रशिक्षण दिएका थिए । उनीहरूले एआईको आधारभूत अवधारणा, यसको प्रयोगका क्षेत्र तथा विद्यालय तहमा एआईको प्रयोगबाट गर्न सकिने विभिन्न सिर्जनात्मक कामका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।
अभिमुखीकरणमा विशेषगरी ‘एआईलाई शिक्षासँग कसरी जोड्ने ?’, ‘एआईको प्रयोगबाट विद्यार्थीले कस्ता प्रोजेक्ट निर्माण गर्न सक्छन् ?’ र ‘विद्यार्थीको सिकाइ तथा सिर्जनशीलतामा एआईको उपयोग कसरी गर्ने ?’ भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षकहरूले एआईलाई विद्यार्थीको सिर्जनशीलता विस्थापित गर्ने प्रविधिका रूपमा नभई विद्यार्थीको सोच, अनुसन्धान र समस्या समाधान गर्ने क्षमतालाई थप प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
विद्यालय तहबाटै एआईको व्यावहारिक प्रयोगबारे विद्यार्थीलाई जानकारी गराउन सके उनीहरूले प्रविधिको उपभोक्ता मात्र नभई नयाँ प्रविधि र समाधान सिर्जना गर्ने क्षमता विकास गर्न सक्ने अभिमुखीकरणका क्रममा बताइएको थियो ।
प्याब्सन दाङले आयोजना गर्न लागेको ‘जर्नी टु जिनिअस एक्स्पो २०८३’ लाई पनि यही उद्देश्यसँग जोडिएको जनाएको छ । एक्स्पोमा विद्यार्थीका विज्ञान तथा प्रविधि, एआई, रोबोटिक्स, अनुसन्धान, नवप्रवर्तन तथा सिर्जनात्मक प्रोजेक्टहरू प्रदर्शन गर्ने तयारी भइरहेको छ ।
प्याब्सन दाङका अनुसार पछिल्लो समय एआई विश्वभर शिक्षा, स्वास्थ्य, उद्योग, सञ्चार, व्यवसायलगायतका क्षेत्रमा तीव्र रूपमा प्रयोग भइरहेको अवस्थामा विद्यालय शिक्षालाई पनि बदलिँदो प्रविधिसँग जोड्न आवश्यक छ । विद्यार्थीलाई परम्परागत सिकाइमा मात्र सीमित नराखी सोच्ने, खोज्ने, प्रश्न गर्ने, सिर्जना गर्ने र समस्या समाधान गर्ने क्षमताको विकास गराउनु अहिलेको शिक्षाको महत्वपूर्ण आवश्यकता भएको प्याब्सनको भनाइ छ ।
अभिमुखीकरणमा सहभागी विद्यालयका शिक्षक तथा प्रतिनिधिहरूले एआईसम्बन्धी आधारभूत ज्ञानसँगै एक्स्पोका लागि विद्यार्थीलाई प्रोजेक्ट निर्माणमा सहजीकरण गर्न उपयोगी जानकारी प्राप्त भएको बताएका थिए ।
प्याब्सन दाङले एक्स्पोअघि विद्यालयहरूलाई आवश्यक अभिमुखीकरण तथा प्राविधिक सहजीकरणका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
‘जर्नी टु जिनिअस एक्स्पो २०८३’ मार्फत विद्यार्थीका प्रतिभा र नवीन सोचलाई मञ्च प्रदान गर्दै उनीहरूलाई प्रविधिको प्रयोगमार्फत नयाँ कुरा सिर्जना गर्न प्रेरित गर्ने प्याब्सन दाङको लक्ष्य रहेको छ ।
कार्यक्रममा प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरीले विषय प्रवेश गराएका थिए । कार्यक्रममा नेपाल शिक्षक संघ घोराहीका अध्यक्ष निशान्त आचार्य, प्याब्सन दाङका सल्लाहकार डा. जिवराज आचार्य लगायतले आफ्ना विचार राखेका थिए ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।


