मकवानपुर । लगातारको वर्षाका कारण कुलेखानी ड्यामको पानीको सतह केही बढ्न सक्ने भन्दै इन्द्रसरोवर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण कुलेखानी केन्द्रले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।
असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमानअनुसार विगत केही दिनदेखि लगातार वर्षा भइरहेको गाउँपालिकाले जनाएको छ ।
आज अपराह्न ४ बजेसम्मको तथ्यांकअनुसार कुलेखानी ड्यामको पानीको सतह १ हजार ५२३ दशमलव ३४ रहेको र सुरक्षाका दृष्टिले यो उपयुक्त तहमा रहेको गाउँपालिकाले स्पष्ट पारेको छ । गाउँपालिकाका अनुसार वडा नम्बर २ र ३ का खोलाकिनारमा रहेका घर, टहरा तथा व्यापार–व्यवसायलाई सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा सार्न सूचना जारी गरिएको छ ।
यसैबीच केही व्यक्ति तथा अनलाइन समाचार र सामाजिक सञ्जालमार्फत ड्याम फुट्न सक्ने, पानीको सतह खतराको तहमा पुगेको तथा ड्याम फुटिसकेको जस्ता भ्रामक र तथ्यहीन सूचना फैलाइएको गाउँपालिकाले जनाएको छ ।
यस्ता सूचनाले समुदायमा भय र त्रास सिर्जना गर्ने भएकाले भ्रामक तथा आधारहीन सूचनाको पछि नलागी सम्बन्धित निकायबाट जारी हुने आधिकारिक र तथ्यपूर्ण सूचनालाई मात्र आधार मान्न गाउँपालिकाले सर्वसाधारणमा आग्रह गरेको छ।


