काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि हाल कायम रहेको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट असोज १४ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा, हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको निगमले जनाएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको र स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसकिएको निगमले जनाएको छ । भोटेकोशीमा आएको असाधारण बाढीपहिरोबाट सिर्जित परिस्थिति, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको असोज १४ गतेको निर्णयअनुसार असोज १५ गते बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिइएको हो ।
निगमका अनुसार काठमाडौंका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको बिक्री मूल्य प्रतिकिलो लिटर १ हजार ६९७ अमेरिकी डलर कायम छ। आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य २ हजार ६० रुपैयाँ यथावत् छ ।
हाल पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम छ। डिजेल तथा मट्टितेलको मूल्य पनि क्रमशः १९७ रुपैयाँ ५० पैसा, १९९ रुपैयाँ र २०० रुपैयाँ रहेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन् ।
निगमका डिपो तथा कार्यालयबाट १५ किलोमिटर र एलपी ग्यास उद्योगबाट ५० किलोमिटरसम्मका लागि यी मूल्य लागू हुनेछन् ।
निगमले मूल्य यथावत राख्दा पनि हालको अवस्थामा पाक्षिक करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरेको छ ।


