काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई राष्ट्रिय विज्ञान पदकबाट सम्मानित गरेका छन् ।
ह्वाइट हाउसमा आयोजित ‘विज्ञान : नयाँ स्वर्ण युग सम्मेलन’ मा ट्रम्पले मस्कलाई विज्ञान, प्रविधि, अन्तरिक्ष अन्वेषण र नवप्रवर्तन क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मानित गरेका हुन् ।
सम्मान प्रदान गर्दै ट्रम्पले मस्कलाई ‘आधुनिक युगका थोमस एडिसन’ र ‘राष्ट्रिय सम्पदा’ को संज्ञा दिएका थिए । उनले मस्कको प्रतिभा र दृढ संकल्पले विज्ञानमा कल्पना गरिएका विषयलाई वास्तविकतामा परिणत गरेको बताएका थिए ।
ट्रम्पले मस्कलाई उद्योग क्षेत्रका प्रभावशाली व्यक्तित्व, उत्कृष्ट इन्जिनियर र प्रविधि क्षेत्रमा अहिलेसम्मकै महान् संस्थापकहरूमध्ये एकका रूपमा चित्रण गरेका थिए । उनले अन्तरिक्ष अन्वेषणदेखि नयाँ प्रविधिको विकाससम्म मस्कले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
ट्रम्पले विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाको विकासमा मस्कले खेलेको भूमिकाको पनि प्रशंसा गरेका थिए । उनले टेस्लालाई ७५ वर्षभन्दा बढी समयपछि सफल हुन सकेको नयाँ गाडी निर्माता कम्पनीका रूपमा उल्लेख गर्दै विद्युतीय गाडी र आफैँ चल्न सक्ने प्रविधिलाई व्यावसायिक रूपमा सफल बनाउन कम्पनीले महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
उनले आफ्ना काका डा. जोन ट्रम्पको प्रसङ्गसमेत उल्लेख गरेका थिए । अमेरिकी सरकारले आविष्कारक निकोला टेस्लाको कामको मूल्याङ्कन गर्न उनलाई जिम्मेवारी दिएको ट्रम्पले बताएका थिए ।
त्यस्तै, ट्रम्पले मस्कको न्युरालिङ्क र कृत्रिम बुद्धिमत्तासम्बन्धी कामको पनि प्रशंसा गरेका थिए । न्युरालिङ्कमार्फत दृष्टि, बोली र हिँडडुल गर्ने क्षमता गुमाएका मानिसलाई ती क्षमता पुनः प्राप्त गर्न सहयोग पुर्याउने प्रयास भइरहेको उनले बताएका थिए ।
राष्ट्रिय विज्ञान पदकबाट गुगलका सहसंस्थापक सर्गेई ब्रिन, एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ र एएमडीकी प्रमुख कार्यकारी अधिकृत लिसा सु पनि सम्मानित भएका छन् । त्यस्तै, डेल टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत माइकल डेल र माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलालाई राष्ट्रिय प्रविधि तथा नवप्रवर्तन पदक प्रदान गरिएको थियो ।
सन् १९५९ मा स्थापना गरिएको राष्ट्रिय विज्ञान पदक अमेरिकामा विज्ञान क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिने प्रमुख सम्मानमध्ये एक हो । ट्रम्पका दुवै कार्यकालमा पहिलोपटक राष्ट्रिय विज्ञान पदक र राष्ट्रिय प्रविधि तथा नवप्रवर्तन पदक प्रदान गरिएको जनाइएको छ ।


