बङ्गलाचुली अस्पतालमा सेवा विस्तार गर्ने विषयमा राप्ती प्रतिष्ठान र गाउँपालिकाबीच छलफल – Kanika Khabar
Tuesday, October 13Nepali News Portal

बङ्गलाचुली अस्पतालमा सेवा विस्तार गर्ने विषयमा राप्ती प्रतिष्ठान र गाउँपालिकाबीच छलफल

    मा प्रकाशित

 

दाङ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताको निर्देशनअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङको बङ्गलाचुली गाउँपालिकाबीच बङ्गलाचुली अस्पतालमा स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा छलफल भएको छ।

प्रतिष्ठानका पदाधिकारी र गाउँपालिका अध्यक्षबीच आज भएको छलफलमा बङ्गलाचुली अस्पताललाई प्रतिष्ठानको स्याटेलाइट अस्पतालका रूपमा विकास गर्दै स्थानीय नागरिकलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा छलफल भएको हो।

छलफलमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, रजिस्ट्रार प्रा. श्याम लम्साल, अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइली तथा बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन (सुबास) सहभागी हुनुहुन्थ्यो।

छलफलका क्रममा प्रतिष्ठान र गाउँपालिकाबीच सहकार्य गरी बङ्गलाचुली अस्पतालमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, आवश्यक जनशक्ति तथा स्वास्थ्य सेवाको व्यवस्थापन गर्ने र स्थानीय नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने विषयमा छलफल भएको जनाइएको छ।

प्रतिष्ठानको स्याटेलाइट अस्पतालका रूपमा सेवा विस्तार गर्न सके बङ्गलाचुली क्षेत्रका नागरिकले आफ्नै क्षेत्रमा थप स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसबाट ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ।
छलफलमा बोल्दै प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रले प्रतिष्ठानको स्वास्थ्य सेवालाई समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले गाउँपालिकासँग सहकार्य अघि बढाइएको बताउनु भयो । उहाँले सेवा बिस्तारको बारेमा छलफल सुरु भएको र आगामि योजनासहित गाउँपालिका र प्रतिष्ठान बिच सम्झौता हुने जानकारी दिनुभयो ।

त्यस्तै, प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले सेवा विस्तारका लागि आवश्यक समन्वय, व्यवस्थापन तथा संस्थागत सहकार्य महत्त्वपूर्ण रहेको बताउनु भयो ।

प्रतिष्ठानका अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले बङ्गलाचुली अस्पताललाई स्याटेलाइट अस्पतालका रूपमा विकास गर्दा स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताउनु भयो ।

बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन (सुबास) ले गाउँपालिकाका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानसँगको सहकार्य महत्त्वपूर्ण हुने बताउनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्