दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लमही र प्याब्सन गढवाको संयुक्त आयोजनामा दसैँ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, विभिन्न स्थानीय तहका प्रतिनिधि र शिक्षाकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले दसैँ, तिहारलगायतका चाडपर्वले आपसी सद्भाव, भाइचारा, एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका निवर्तमान केन्द्रीय सचिव तथा प्राज्ञिक परिषद् सदस्य यादव गिरीले चाडपर्वले आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै शैक्षिक क्षेत्रमा सहकार्य र एकताको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षाको विकासमा पुर्याउँदै आएको योगदानलाई थप प्रभावकारी बनाउन संस्थागत एकता, अनुभव आदानप्रदान र शैक्षिक सुधारमा जोड दिनुपर्ने धारणा राखे ।
कार्यक्रमका विशिष्ट अतिथि प्याब्सनका केन्द्रीय सदस्य महेन्द्र अधिकारीले दसैँ, तिहारजस्ता चाडपर्वले आपसी सद्भाव, आत्मीयता र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने बताए । उनले निजी विद्यालयहरूबीच अनुभव आदानप्रदान, आपसी सहयोग र सहकार्यको संस्कृति विकास गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । निजी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत विकासका लागि सबै विद्यालय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
त्यसैगरी, प्याब्सनका केन्द्रीय सदस्य रेशमबहादुर बुढाले निजी विद्यालयहरूले बदलिँदो समय र शैक्षिक आवश्यकताअनुसार आफूलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए । उनले विद्यार्थीलाई गुणस्तरीय, व्यावहारिक र प्रतिस्पर्धी शिक्षा प्रदान गर्न विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धासँगै सहकार्य पनि आवश्यक रहेको उल्लेख गरे । चाडपर्वले नयाँ ऊर्जा र उत्साह प्रदान गर्ने भएकाले आपसी सम्बन्ध सुदृढ गर्दै शैक्षिक उन्नयनमा एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले निजी विद्यालयहरूबीचको एकता र सहकार्यलाई थप सुदृढ गर्दै गुणस्तरीय शिक्षाको विकासमा सबै विद्यालय एकजुट भएर लाग्नुपर्ने बताए ।
प्याब्सन लुम्बिनी प्रदेशका सदस्य तेज विष्टले पनि चाडपर्वले सामाजिक सद्भाव र संस्थागत सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै शैक्षिक क्षेत्रको विकासका लागि साझा प्रयास आवश्यक रहेको धारणा राखे ।
प्याब्सन दाङका सचिव आदिम केसीले दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका पर्वहरूको अवसरमा सम्पूर्ण विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
प्याब्सन लमही र प्याब्सन गढवाको संयुक्त आयोजनामा सम्पन्न दसैँ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै केसीले चाडपर्वहरू नेपाली संस्कार र संस्कृतिका धरोहर भएको बताए । उनले चाडपर्वले परिवार, समाज र समुदायबीच एकता, सद्भाव, आत्मीयता तथा भाइचाराको भावना कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
यसैबीच, केसीले प्याब्सन दाङको आयोजनामा आगामी मङ्सिर १८, १९ र २० गते आयोजना हुने ‘जर्नी टु जिनिअस एक्स्पो २०८३’ मा जिल्लाका सम्पूर्ण विद्यालयहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरे । ‘प्रतिभादेखि उत्कृष्टतातर्फको यात्रा’ भन्ने मूल भावनाका साथ आयोजना हुन लागेको एक्स्पो विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा सिकाइलाई व्यावहारिक जीवनसँग जोड्ने महत्त्वपूर्ण अवसर भएको उनले बताए ।
उनले एक्स्पोमा विद्यार्थीका खोजमूलक परियोजना, वैज्ञानिक प्रयोग, प्रविधि, सिर्जनात्मक कला तथा नवीन सोचलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिने भएकाले सबै विद्यालयले आफ्ना विद्यार्थीको प्रतिभा पहिचान गरी तयारीका साथ सहभागिता जनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओली र प्याब्सन राप्तीका अध्यक्ष रामप्रसाद शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वक्ताहरूले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै निजी विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सहकार्यमा जोड दिएका थिए ।
कार्यक्रमले प्याब्सनका विभिन्न तहका नेतृत्व तथा सदस्य विद्यालयहरूबीच आपसी आत्मीयता, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
प्याब्सन लमहीका अध्यक्ष नारायण भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन गढवाका अध्यक्ष विकास रजौरेले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण प्याब्सन लमहीका सचिव लोकमान रिजालले गरेका थिए ।


