दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो – Kanika Khabar
Thursday, October 15Nepali News Portal

दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

    मा प्रकाशित

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । गत वर्ष भदौसम्म ३ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही महिनामा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

अमेरिकी डलरमा हिसाब गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड डलर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।

यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७८ हजार ३२० रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९० हजार १९८ थियो ।

त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५२ हजार १६३ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको थियो ।

राष्ट्र बैंकको तथ्याङ्कले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विप्रेषण आप्रवाह बढेको देखाएको छ । वैदेशिक रोजगारीका लागि पहिलोपटक श्रम स्वीकृति लिनेको सङ्ख्या घटे पनि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने बढेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्