सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
शुक्रबार साँझ करिब ६: ३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा १० जना घाइते भएका थिए । उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएकामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन् ।
दुर्घटनामा घाइते हुनेमा सोही गाउँपालिका–२ का २४ वर्षीय देवबहादुर विक, ५८ वर्षीया सुशीला चलाउने, १३ वर्षीया राधिका चलाउने, २२ वर्षीय दीपक रोका र १० वर्षीय युवराज परियार रहेका छन् । त्यस्तै, सिद्ध कुमाख गाउँपालिका–३ का १५ वर्षीय कमल बुढाथोकी र ७ वर्षीया रुपा बुढाथोकी पनि घाइते भएका छन् ।
घाइतेमध्ये देवबहादुर विक र कमल बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको र केही घाइतेलाई थप उपचारका लागि दाङ र नेपालगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि जिप चालक सिद्ध कुमाख गाउँपालिका–२ का ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिइएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


